विद्रोहको बहुरूपी विस्फोटन
यो चुनावको नतिजामात्र नभएर विद्रोहको बहुरूपी विस्फोटनसमेत हो ।
नभुतो, न भविष्यः प्रतिनिधिसभा निर्वाचन २०८२ को नतिजामाथि सबैभन्दा सटिक विश्लेषण यहीमात्र हुन सक्छ। निरन्तर प्रयोग गरिएको ‘क्लिन स्विप’ चाहिँ राजनीतिक हिसाबले बढी प्राविधिक शब्द हो। सुनामी भनेर केही सञ्चारमाध्यमले समाचारसमेत बनाएका छन्। ऐतिहासिक र अप्रत्याशित नतिजा आएको छ। नवोदित दल रास्वपाले दुईतिहाइ आसपास मत प्राप्त मात्र गरेन कि पुराना दलहरूलाई इतिहासका पुस्तकको फुटनोटमा नै सीमित हुनुपर्ने अवस्थामा पुर्याएको छ। कम्तीमा आधा दर्जन दलहरू राजनीतिक पर्यावरणबाट हराएका छन्।
टिठलाग्दो सानो संख्यामा खुम्चिएका मुख्य दलहरू कुनैमा सेनामात्र छन् कमान्डर छैनन्, कुनैमा कमान्डर छन् सेना छैनन्। यस्तो उभार आउँछ भन्ने न त अनुमान न त आकलन कसैलाई थियो। स्वयं रास्वपा र यसका नेता पनि बेखुसी त किञ्चित छैनन् तर अचम्मित अवश्य छन्। २०१५ सालमा पनि यस्तै नतिजा आएको भनिन्छ। यद्यपि त्यो समय र अहिलेमा अनगिन्ती भिन्नताहरू छन्। त्यतिखेर दुई वटामात्र दल थिए। हामी फागुन २१ मा पनि निर्वाचन गर्न मौसमका कारण केही ठाउँमा असहज हुन सक्छ भन्ने बहसमा थियौं। आजभन्दा झन्डै ७० वर्ष पहिले फागुन ७ गते उक्त निर्वाचन भएको थियो। पहिलो निर्वाचन भएका कारण उत्साह यति थियो होला कि सायद मौसम कसैको सोचाइमा नै आएन। अहिलेको नतिजालाई अहिलेकै समय र सन्दर्भमा मात्र विश्लेषण गर्नु जायज हुन्छ। यस प्रकारको सुनामी नतिजा विरलै सम्भव छ, नेपालले यसलाई साक्षात्कार गरेको छ। यद्यपि यो खाली चुनावको नतिजामात्र नभएर विद्रोहको बहुरूपी विस्फोटनसमेत हो।
लामो समय नेपालको राजनीति र सत्ता केवल केही वृद्घहरूको ‘म्युजिकल चेयर’ भएको थियो। जनताका गुनासा र असन्तुष्टि उनीहरूका लागि सरोकारका विषय बनेनन्। देश बनाउने सपना बाडेर आफू र परिवार बनाउने कौशल यति बिध्न लगाए कि जनतालाई उनीहरूका सन्ततिमाथि समेत वितृष्णा अनि रिस बढ्यो। नेपो बेबी र नेपो किड्सजस्ता अभियानसमेत चले। अन्ततः निर्वाचनले नागरिक निराशाको आयातन कति रहेछ भन्ने बतायो। कति अधैर्य र बेचैन भएका रहेछन्। परिवर्तनप्रतिको लगाव कति बलियो र अदम्य रहेछ। यी सबै पक्षलाई एकै पटक उजागर गरिदियो।
मतदाता स्वयंलाई पनि यत्तिको उभार आउने आशा भने थिएन। अरूलाई नभनी, नभनी आफूले चाहिँ खुसुक्क घण्टीमा भोट दिएका रहेछन्। आखिर रास्वपाले बनाएको एउटा गीत ‘चुपचाप, घण्टी छाप’जस्तै पाराले। सबैले भोट दिए, कसैले अरूलाई भन्ने अथवा अरूसँग खुल्ने आँट गर्न सकेका थिएनन्। अहिले सबै उमंगमा छन्, आखिर मेरो भोट काम लाग्यो भनेर। नबोलेरै, सल्लाह नगरेरै पनि कुन आयतनको भावनात्मक एकता आफैं निर्माण हुँदोरहेछ भन्ने पनि जगजाहेर भएको छ।
उम्मेदवार को छ, कस्तो छ केही अध्ययन पनि नगरी केवल पार्टी र चुनाव चिह्नमा मात्र मतदाताको ध्यान गएको देखियो। उम्मेदवार नभएको निर्वाचन क्षेत्रमा समेत चुनाव चिह्नमा फराकिलो अन्तरसहित पहिलो मत प्राप्त भएको अवस्थाले यही प्रतिविम्बित गर्दछ।
बहुमतको अंकगणितले मात्र सरकारको दीर्घजीवन निश्चित हुँदैन भनेर त जेन—जी आन्दोलनले बताएकै थियो। संसद्मा सुविधाजनक बहुमत भएको सरकार अत्यन्तै लज्जास्पद हिसाबले अपदस्थ भयो, मैदान छाडेर भाग्यो, आत्मसमर्पण गर्यो। अहिले रास्वपाले यस प्रकारको छलांग निर्माण गर्नुमा देउवा र ओलीमा भएको संसदीय अंकगणितमा बहुमतको दम्भ पनि केही हदसम्म जिम्मेवार छ। तर यो नतिजाले अन्य थुप्रै भाष्यहरू चिरिएका छन्, मानक बुझाइहरू भत्किएका छन्।
विद्वान र विश्लेषक भन्नेहरू समाजको गति अनि आम मनोविज्ञानभन्दा पर रहेर केवल कोरा कल्पना तथा सपनामा रमाउँदा रहेछन् भन्ने देखियो। उनीहरू विश्लेषण हैन कुण्ठा पोख्छन्, अध्ययनबाट हैन आत्मरितका आधारमा बोल्छन् भन्ने स्पष्ट भयो। कुनै पनि विश्लेषणले यो प्रकारको नतिजा ठम्याउन सकेको थिएन। अरूलाई आफ्नै दुनियाँमा रमाउने मनमौजी र निःसन्देह भन्ने आशय दिने विश्लेषकहरू आफै चाहिँ त्यो वर्गमा रहेको सत्य लुक्न सकेन। सोफोकल्सको प्रसिद्घ नाटक ‘इडिपस रेक्स’मा चर्चा हुने ‘ड्रामाटिक आइरोनी’ जस्तो। यो नतिजाले जेन–जी आन्दोलन स्वाभाविक र स्वतःस्फूर्त थियो भन्ने देखायो। घुसपैठ वा प्रायोजनसहित थिएन। जुन आयतनमा विद्रोह भयो, मतपत्रमार्फत आएको विस्फोट त्योभन्दा शक्तिशाली रह्यो। देश जलाउनेहरू भनेर अपमान तथा अपव्याख्या गर्न खेज्नेहरूको राजनीतिक जीवन नै खरानी हुनेगरी नागरिकले प्रत्युत्तर दिएका छन्।
यो निर्वाचन प्रणालीमा बहुमत आउँदैन। सदैव अस्थिरता उन्मुख संसद् बन्छ भनेर संविधानको भावनामाथि औंला उठाउनेहरूलाई पनि मुख बन्द गराइदिएको छ। बहुमतमात्र होइन, दुई तिहाइसमेत आउँदो रहेछ भन्ने देखिएको छ।अहंकारको अशोभनीय र लज्जास्पद पराजय यस नतिजाको अर्को बलियो सन्देश हो। तपाईं जति चर्को र अहंकारी बन्नुहुन्छ, त्यति नै झुट ठहरिनु हुन्छ। सांख्य दर्शनमा पनि भनिएको छः सत्य सदैव सरल र नरम तथा झुट चर्को स्वरमा व्यक्त हुन्छन्। आफूबाहेक अरूको अस्तित्व नस्विकार्ने र बाँकी सबैलाई विदेशी दलाल देख्नेहरूको आँखाको ज्योति धमिल्याउने गरी निर्वाचनले नतिजाको बिगुल बजाएको छ।
पैसा हुनेहरूले मात्र निर्वाचन जित्न सक्छन् भन्नेहरूलाई विनोद चौधरीको हालत थाहा हुनुपर्छ। संगठन भएमात्र निर्वाचन जितिन्छ भन्नेहरू एमालेको अवस्थाबाट दीक्षित बन्न ढिला गर्नु हुँदैन। व्यक्ति राम्रा भएमात्र निर्वाचन जितिन्छ भन्नेहरूले चुनावमा पाँच सय पनि भोट नल्याएका मूर्धन्य विद्वान र तार्किक भनिएका व्यक्तिहरूको वियोगान्त अवतरणलाई नजरअन्दाज गर्नु हुँदैन। कुनै क्षेत्र कसैको पकड–क्षेत्र अथवा गढ हुन्छ भन्ने भ्रम त स्थानीय निर्वाचनमा कोर क्षेत्र खोजिरहेका स्थापित दयनीय तरिकाले विस्थापित भएपछि नै भत्किएको थियो। अहिले नयाँ अध्यायसमेत बनेको छ। चर्चित हुँदैमा निर्वाचन जितिन्छ भन्ने मान्यता पनि कामयावी भएन। चुनावी मैदानमा भएका वरिष्ठ पत्रकारले समेत यसलाई स्वीकारेका छन्।
नतिजाले धेरैलाई धेरै खाले हिसाबमा रोमाञ्चक बनाउँला। पार्टीलाई सरकार बन्ने भयो, शक्ति हात पर्ने भयो भन्ने होला। संसद्लाई प्रधानमन्त्री तथा मन्त्री बन्ने हुटहुटी होला। कसैलाई नयाँ पार्टी प्रवेश गर्ने हतारो पनि रहला। तर यस पंक्तिकारजस्ता राजनीतिशास्त्रको विद्यार्थीले यसरी पनि बुझ्नुपर्छ कि नागरिकमा निर्वाचन सचेतना बढेछ। पार्टीलाई भोट दिनुपर्छ भन्ने ज्ञानको बढोत्तरी भएछ। ठाउँ विशेष वा क्षेत्र विशेष राम्रा मानिस हेर्ने भनेको स्थानीय निर्वाचनमा हो।
संघमा बलियो दल बनाउनुपर्छ भन्ने चेतना गहिरो गरी विकास भएछ। उम्मेदवार को छ, कस्तो छ केही अध्ययन पनि नगरी केवल पार्टी र चुनाव चिह्नमा मात्र मतदाताको ध्यान गएको देखियो। उम्मेदवार नभएको निर्वाचन क्षेत्रमा समेत चुनाव चिह्नमा फराकिलो अन्तरसहित पहिलो मत प्राप्त भएको अवस्थाले यही प्रतिविम्बित गर्दछ। व्यक्तिगत अब्बलता र क्षमतामा आधारमा कयौं गुणा सबल अन्य उम्मेदवार भए पनि चुनावचिह्न अनि दल केन्द्रित मतदानको अभ्यास देखियो। बहुदलीय राजनीतिको अपेक्षित अभ्यास यही नै हो। बलिया दल बन्ने आधार यहीमात्र हो।
यो निर्वाचनका नतिजा अंकगणितमा अर्थ लगाउँदा केवल दुईतिहाइ अथवा बलियो सरकारको आधार बन्ला। अंकगणितबाट अलिक परसम्म हेर्ने हो भने कम्तीमा पनि एक दर्जन बढी भावनाको सामूहिक र सशक्त प्रतिध्वनि हो। विकास र समृद्घिको लागि नागरिक सहयोगको अनुपम तथा अविशिष्ट सहजीकरण हो। जत्रो सपना नयाँ दलले सार्यो , त्यत्रै शक्ति दिने सचेत नागरिक संकल्प पनि हो। केवल निराशाको तोडमात्र होइन्।
विकास, सुशासन र आत्मनिर्भर आर्थिक वृद्घि अहिलेका मुख्य खोजी हुन्। सँगसँगै, सरल होऊ, नागरिक सरहकै सहज जीवन बाँच, पारदर्शी बन भन्ने सन्देश पनि सम्प्रेषण भएको छ। पृथ्वीनारायण शाह जनताभन्दा गरिब थिए, नागरिकबाट सहयोग उठाएर हतियार किन्नु पर्थ्याे। जनक राजा किसानको खेत जोत्थे। महिन्द्र मल्ल जनताले खाना खाए, नखाएको निक्र्योल गरेरमात्र खाना खान्थे। ठूला खुसी र सपना बाँडेका थिएनन्।
नागरिक सदैव ठूलाठूला नतिजाका पछिमात्र हैन, नियत र लगावको पछि चाहिँ हुन्छन्। लगाव राख्दाराख्दै र प्रयास गर्दागर्दै पनि नभएका कुरामा नागरिक सहिष्णुमात्र हैन, क्षमा दिन पनि तयार हुन्छन्। तसर्थ विजयी दलले मुद्दा नछोडोस्, नियमित प्रयास लगाउन नथाकोस्। प्रयासमा कञ्जुस्याईं गरियो भने चाहिँ यही विस्फोट अन्तिम हुन्छ भन्ने छैन।
अगणित शुभकामना।
प्रतिक्रिया दिनुहोस !