दोस्रो जीएम कप राष्ट्रिय भलिबल : आर्मी, एपीएफ र कोशीको सहज जित
नवलपुर : नवलपुरमा जारी ‘दोस्रो जीएम कप राष्ट्रिय भलिबल प्रतियोगिता’ अन्तर्गत शुक्रबार सम्पन्न खेलहरूमा विभागीय टोलीहरू त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब र कोशी प्रदेशले सहज जित दर्ता गरेका छन् । जीएम समाज नवलपुर र जिल्ला खेलकुद विकास समिति नवलपुरको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगितामा शुक्रवार भएका तीनै खेल ३–० को सोझो सेटमा टुङ्गिएका हुन् ।
पहिलो खेलमा कोशी प्रदेशले बागमती प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्यो । सो खेलमा कोशीका निरु बस्नेत ‘म्यान अफ द म्याच’ घोषित भए । त्यस्तै, दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । आर्मीका बिपस थापा खेलको ‘म्यान अफ द म्याच’ घोषित भए ।

शुक्रबार नै भएको तेस्रो खेलमा विभागीय टोली एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशमाथि ३–० को सहज जित निकाल्यो । एपीएफका सरोज बर्देवा तेस्रो खेलको ‘म्यान अफ द म्याच’ बन्न सफल भए । फागुन २८ गतेदेखि सुरु भएको प्रतियोगिता चैत्र ३ गतेसम्म चल्ने आयोजक संस्था जीएम समाज नवलपुरका कोषाध्यक्ष प्रकाश थापाले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा ३ विभागीय र ७ प्रदेश गरी कुल १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ भने प्रत्येक समूहका विजेता र उपविजेता टोली नकआउट चरणमा प्रवेश गर्ने प्रावधान रहेको आयोजक समितिका सल्लाहकार सहज रानामगरले बताए ।
प्रतियोगिता अन्तर्गत समूह चरणका खेलहरू सकिएसँगै चैत्र १ गतेदेखि नकआउट चरणका खेलहरू सुरु हुनेछन् । यस प्रतियोगिताको पहिलो सिजनको उपाधि नेपाल पुलिस क्लब ले जितेको थियो । सशस्त्र प्रहरीको एपीएफ क्लब उपबिजेता बनेको थियो । प्रतियोगिता अन्तर्गत शनिबार तीन वटा खेलहरू हुनेछन् ।
पहिलो खेलमा नेपाल पुलिस क्लब र बागमती प्रदेश भिड्ने छन् भने दोस्रो खेलमा त्रिभुवन आर्मी र कर्णाली प्रदेशबीच प्रतिष्पर्धा हुनेछ । त्यस्तै, तेस्रो खेलमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेश आमने–सामने हुनेछन् । प्रतियोगितामा प्रथम हुनेले रु ३ लाख , द्वितीय हुनेले रु २ लाख , तृतीय हुनेले रु १ लाख र सान्त्वना स्थान प्राप्त गर्नेले रु ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस !