जिएम कप राष्ट्रिय भलिबल : सेमिफाइनल समीकरण पूरा, पुलिस र आर्मी भिड्ने
नवलपुर : नवलपुरमा जारी ‘दोस्रो जिएम कप राष्ट्रिय भलिबल प्रतियोगिता’को सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार सम्पन्न निकै प्रतिस्पर्धात्मक क्वाटरफाइनल खेलहरूसँगै अन्तिम चारमा पुग्ने टोलीहरूको टुङ्गो लागेको हो। आइतबारको नतिजाअनुसार तीन विभागीय टोली र गण्डकी प्रदेशले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्।
आइतबार भएको पहिलो क्वाटरफाइनलमा साबिक विजेता नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। त्यस्तै, दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशबीच निकै रोमाञ्चक भिडन्त भयो, जसमा सुदूरपश्चिमलाई ३–२ को कठिन सेटमा पाखा लगाउँदै आर्मी सेमिफाइनलमा प्रवेश गर्यो।
तेस्रो खेलमा गण्डकी प्रदेशले कोशी प्रदेशमाथि ३–१ को सेटमा जित निकाल्यो भने अन्तिम क्वाटरफाइनल खेलमा एपीएफ क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनलको टिकट काट्यो।
प्रतियोगिताअन्तर्गत सोमबार दुईवटा सेमिफाइनल खेलहरू हुने आयोजकले जनाएको छ। पहिलो सेमिफाइनलमा बिहान ११ बजे नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै, दोस्रो सेमिफाइनलमा गण्डकी प्रदेश र एपीएफ क्लब आमनेसामने हुनेछन्।
जिएम समाज नवलपुर र जिल्ला खेलकुद विकास समिति नवलपुरको संयुक्त आयोजनामा सञ्चालित यस प्रतियोगितामा ३ विभागीय र ७ वटा प्रदेश गरी कुल १० टोलीको सहभागिता रहेको छ।
प्रतिक्रिया दिनुहोस !