तेहरानमा शक्तिशाली विष्फोटको आवाज, इजरायली आक्रमणको शङ्का
तेहरान : इरानको राजधानी तेरहानमा शक्तिशाली विष्फोटका आवाजहरू सुनिएका खबरहरु सार्वजनिक भएका छन्। इरानको अर्ध-सरकारी समाचार एजेन्सी 'मेहर' ले उल्लेख गरे अनुसार राजधानी तेहरानमा शक्तिशाली विष्फोटका आवाजहरू सुनिएका हुन्।
इरानी रक्षा स्रोतहरूले देशको 'एयर डिफेन्स सिस्टम' सक्रिय रहेको र 'शत्रुको हमलालाई निस्तेज पार्ने प्रयास भइरहेको'दाबी गरेका छन्।
इजरायलले औपचारिक रूपमा नयाँ आक्रमणको घोषणा नगरे पनि इजरायली सेनाका प्रवक्ता अविचाई अद्राईले सामाजिक सञ्जाल (एक्स)मा एक सुचना पोस्ट गरेका छन्। उनले लेखेका छन्, 'इजरायलले इरानी शासनका हतियार निर्माण उद्योगहरू विरुद्ध आफ्नो आक्रमणलाई तीव्र बनाउँदै एक हजारभन्दा बढी उत्पादन केन्द्रहरूलाई निशाना बनाइरहेको छ।'
यसअघि बिहीबार राति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'ट्रुथ सोसल' मार्फत इरानको ऊर्जा केन्द्रहरूमा हुने आक्रमणलाई १० दिनका लागि रोकिने जानकारी दिएका थिए। राष्ट्रपति ट्रम्पले इरान सम्झौताका लागि इच्छुक रहेको पुनः दोहोर्याएका छन्। यद्यपि, इरानी अधिकारीहरूले भने अमेरिकाको यो दाबीलाई अस्वीकार गर्दै आफूहरू कुनै पनि वार्तामा सहभागी नरहेको स्पष्ट पारेका छन्।
बीबीसीका अनुसार तेहरानका धेरै बासिन्दाहरूले विष्फोटको आवाज सुनेको समाचार लेखेकाे छ। हाल इरानमा इन्टरनेट सेवा पूर्णतः प्रभावित छ। यद्यपि, कतिपय नागरिकहरूले विभिन्न वैकल्पिक माध्यमबाट इन्टरनेट प्रयोग गरिरहेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस !