राइनो गोल्डकप : हनामीलाई हराउँदै पुलिस सेमिफाइनलमा
नवलपुर : नवलपुरको मध्यविन्दुस्थित राइनो रङ्गशालामा जारी ‘राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता’ मा विभागीय टोली नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न खेलमा हनामी बिएफसी चितवनलाई ३–० को सहज गोलअन्तरले पराजित गर्दै पुलिसले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो । दुवै टोलीले केही सुनौला अवसर प्राप्त गरे पनि त्यसलाई सदुपयोग गर्न सकेनन् । यद्यपि, दोस्रो हाफमा सुधारिएको र आक्रामक खेल प्रदर्शन गरेको पुलिसले विपक्षी टोलीको रक्षापंक्ति तोड्दै लगातार तीन गोल गर्न सफल भयो ।
खेलमा उत्कृष्ट लयमा देखिएका नेपाल पुलिस क्लबका सुजन मगर ’म्यान अफ द म्याच’ घोषित भए । प्रतियोगिताअन्तर्गत बिहीबार नै दिउँसो ४ बजे हुने अर्को खेलमा स्काई लाइन योङ स्टार कावासोती र संकटा फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । गैँडा संरक्षणलाई मुख्य उद्देश्य राखेर आयोजना गरिएको यस प्रतियोगिताको विजेताले नगद ८ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी, उपविजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिता आगामी वैशाख २३ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस !