हिमालको विलाप, युवाको आलाप

हिमालको विलाप, युवाको आलाप
सुन्नुहोस्

यो सरकारसँग जनताको आशा अपेक्षा धेरै जलवायु परिवर्तन केवल वैज्ञानिक बहसको विषयमात्र होइन; यो अस्तित्वको प्रश्न हो।

विश्व आज गम्भीर संकटको सामना गरिरहेको छ। त्यो हो— जलवायु परिवर्तन। केही दशक अघिसम्म जलवायु परिवर्तन केवल वैज्ञानिकहरूको अनुसन्धानको विषय मानिन्थ्यो। आज भने यो संसारभरका मानिसको दैनिकीसँग प्रत्यक्ष जोडिएको छ।

पृथ्वीको तापक्रम बढिरहेको छ। हिमालहरू पग्लिरहेका छन्। समुद्री सतह उकालो लागिरहेको छ। बाढी–पहिरोको जोखिम बढिरहेको छ। कृषि प्रणाली अस्थिर बन्दै गएको छ। विश्वभर करोडौं मानिसको जीवन संकटमा पर्दै गएको छ। यस्तो अवस्थामा नेपालजस्तो प्राकृतिक रूपमा धनी तर आर्थिक रूपमा विकासोन्मुख राष्ट्रले जलवायु परिवर्तनको प्रभाव अत्यन्त गम्भीर रूपमा भोगिरहेको छ।

अझ दुःखद् कुरा के छ भने, विश्वव्यापी कार्बन उत्सर्जनमा नेपालको योगदान अत्यन्त न्यून भए पनि यसको असर भने नेपालले असमान रूपमा सहनु परेको छ। नेपाल विश्वका ती मुलुकमध्ये पर्छ, जहाँ प्रकृतिले अनुपम उपहार दिएको छ। हिमाल, पहाड, तराई, हजारौं नदी, जैविक विविधता, वन सम्पदा तथा सांस्कृतिक विविधताले नेपाललाई प्राकृतिक हिसाबले समृद्ध राष्ट्र बनाएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमै अवस्थित छ। हिमालय क्षेत्रलाई पृथ्वीको ‘तेस्रो ध्रुव’ भनेर चिनिन्छ किनभने यहाँ विशाल हिमनदीहरू छन्, जसले दक्षिण एसियाका करोडौं मानिसलाई पानी उपलब्ध गराउँछ। तर आज यही हिमालय जलवायु परिवर्तनका कारण सबैभन्दा बढी जोखिममा परेको छ।

विज्ञान तथा वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय अध्ययनहरूले देखाएका छ कि नेपालले विश्वव्यापी कार्बन उत्सर्जनमा अत्यन्त न्यून योगदान दिएको छ। नेपालको प्रतिव्यक्ति कार्बन उत्सर्जन विश्वका विकसित राष्ट्रहरूको तुलनामा धेरै कम छ। औद्योगिक राष्ट्रहरूले सयौं वर्षदेखि कोइला, पेट्रोलियम तथा अन्य जीवाश्म इन्धनको अत्यधिक प्रयोग गर्दै वातावरणलाई प्रदूषित बनाएका छन्। तर नेपालजस्तो देश, जहाँ औद्योगिकीकरण सीमित छ र जहाँको जीवनशैली अझै प्रकृतिमै आधारित छ, आज जलवायु संकटको पीडित बनेको छ। यही अवस्थाले ‘जलवायु न्याय’को आवश्यकता झन् स्पष्ट बनाएको छ।

जलवायु न्याय भन्नाले केवल वातावरण जोगाउने अभियानलाई मात्र बुझिँदैन। यसको अर्थ हो– जसले वातावरण प्रदूषित गर्‍यो, उसैले त्यसको जिम्मेवारी लिनुपर्छ। जसले कार्बन उत्सर्जन गरेर पृथ्वीलाई संकटमा पुर्‍यायो, उसैले प्रभावित राष्ट्रहरूलाई सहयोग, क्षतिपूर्ति र प्रविधि उपलब्ध गराउनुपर्छ। नेपालले विश्वलाई प्रदूषित गरेको छैन, तर नेपालका हिमाल पग्लिरहेका छन्। गाउँहरू बाढीले बगाइरहेका छन् अनि किसानहरू खडेरी र बेमौसमी वर्षाले पीडित भइरहेका छन्। यस्तो अवस्थामा नेपालले अन्तर्राष्ट्रिय समुदायसँग जलवायु न्यायको माग गर्नु कुनै दया माग्नु होइन, यो नेपालको अधिकारको आवाज हो। जुन आवाज युवाले प्रविधिको प्रयोग गरी विश्वमाझ सचेत गराउन सकेमा नेपालले राम्रै क्षतिपूर्ति पाउन सक्छ।

  • अझै पनि धेरै मानिसले जलवायु परिवर्तनलाई केवल मौसम परिवर्तनको सामान्य प्रक्रिया ठानिरहेका छन्। तर यसको वैज्ञानिक, सामाजिक र आर्थिक असरबारे जनचेतना फैलाउन जरुरी छ।
  • नेपाली युवाले जलवायु परिवर्तनलाई एउटा अभियानका रूपमा लिनुपर्छ। नीति निर्माणदेखि स्थानीय तहसम्म, सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय सम्मेलनसम्म, विद्यालयदेखि संयुक्तका राष्ट्रसंघसम्म नेपालका युवाको आवाज सुनिनुपर्छ।

नेपालमा पछिल्ला केही वर्षमा जलवायुजन्य विपत्तिहरू तीव्र रूपमा बढिरहेका छ। मनसुनका समयमा आउने बाढी र पहिरोले हरेक वर्ष सयौं मानिसको ज्यान लिइरहेको छ। हिमाली क्षेत्रमा हिमताल फुट्ने खतरा बढिरहेको छ। डढेलोका घटनाहरू बढेका छन्। असामयिक वर्षा र खडेरीका कारण कृषि प्रणाली अस्थिर बन्दै गएको छ। यसले ग्रामीण जीवनलाई प्रत्यक्ष असर गरिरहेको छ। विशेषगरी किसानहरू सबैभन्दा बढी प्रभावित भइरहेका छन्। महिनौं मेहनत गरेर लगाएको बाली अचानक आएको बाढी वा लामो खडेरीले नष्ट गरिदिँदा किसानको जीवन संकटमा पर्ने गरेको छ।

जलवायु परिवर्तनको असर केवल वातावरणसम्म सीमित छैन। यसले अर्थतन्त्र, स्वास्थ्य, शिक्षा, रोजगारी, पर्यटन र सामाजिक स्थायित्वसम्म असर गरिरहेको छ। नेपालजस्तो मुलुकमा जहाँ ठूलो जनसंख्या कृषि र प्राकृतिक स्रोतमा निर्भर छ, त्यहाँ जलवायु संकटले गरिबी र बेरोजगारीलाई अझ जटिल बनाइरहेको छ। ग्रामीण क्षेत्रमा अवसर घट्दै जाँदा हजारौं युवा विदेश पलायन भइरहेका छन्। यदि जलवायु संकटलाई समयमै सम्बोधन गर्न सकिएन भने भविष्यमा नेपालले पानी संकट, खाद्य संकट र ठूलो आर्थिक अस्थिरता भोग्नुपर्ने खतरा बढ्दै जान्छ।

यही कारण नेपाली युवाले जलवायु विषयलाई अब गम्भीर राष्ट्रिय बहसको विषय बनाउन आवश्यक छ। युवा केवल भविष्यका नेतामात्र होइनन्; उनीहरू वर्तमान परिवर्तनका संवाहक पनि हुन्। आजको युवा पुस्ता प्रविधिसँग जोडिएको छ, विश्वसँग प्रत्यक्ष रूपमा संवाद गर्न सक्छ। अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज पुर्‍याउने क्षमता राख्छन्। जलवायु परिवर्तनको असर सबैभन्दा धेरै आजको युवा र भोलिको पुस्ताले भोग्ने भएकाले पनि यस विषयमा युवाको सक्रियता अत्यन्त आवश्यक छ।

आज विश्वभरका युवाहरू जलवायु आन्दोलनको अग्रमोर्चामा छन्। ग्रेटा थनबर्गजस्ता युवाहरूले विश्व नेताहरूलाई जलवायु संकटप्रति जवाफदेही बनाउन सफल भएका छन्। उनीहरूले एउटा सन्देश दिएका छन्– ‘यदि आज हामी बोल्दैनौं भने भविष्य सुरक्षित हुँदैन।’ नेपालका युवाले पनि यही चेतनालाई आफ्नो देशको सन्दर्भमा अघि बढाउन आवश्यक छ। नेपालका हिमालको पीडा, बाढी–पहिरोले विस्थापित भएका समुदायको अवस्था, किसानहरूको संघर्ष र जलवायु संकटले निम्त्याएको असमानतालाई विश्वसामु पुर्‍याउन नेपाली युवाको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ।

आज सामाजिक सञ्जालको युग हो। एउटा सशक्त आवाजले विश्वको ध्यान आकर्षित गर्न सक्छ। नेपाली युवाले डिजिटल प्लेटफर्ममार्फत नेपालको वास्तविकता अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याउन सक्छन्। हिमाल पग्लिरहेका दृश्य, डढेलोले नष्ट भएका वन, बाढीले बगाएका गाउँ र जलवायु संकटका कारण संघर्ष गरिरहेका स्थानीय समुदायका कथाहरू विश्वलाई देखाउन सकिन्छ। यसले नेपाललाई जलवायु न्यायको विश्वव्यापी बहसमा बलियो रूपमा स्थापित गर्न मद्दत पुर्‍याउँछ।

नेपालले अन्तर्राष्ट्रिय स्तरमा ‘लस एन्ड ड्यामेज’ अर्थात् जलवायुजन्य क्षति तथा नोक्सानीको क्षतिपूर्ति पाउनुपर्ने मागलाई अझ सशक्त रूपमा उठाउन आवश्यक छ। विकसित राष्ट्रहरूले गरेको प्रदूषणका कारण नेपालजस्ता राष्ट्रहरूले ठूलो क्षति भोगिरहेका छ। त्यसैले जलवायु वित्त, हरित प्रविधि, अनुदान तथा पुनर्निर्माण सहयोग नेपालले पाउनुपर्छ। तर यस्तो माग केवल सरकारी दस्तावेज र कूटनीतिक भाषणमा सीमित भएर पुग्दैन। जनस्तरबाट पनि बलियो आवाज उठ्नुपर्छ। र, त्यो आवाज उठाउने शक्ति युवासँग मात्र हुन्छ।

नेपालका युवाले जलवायु शिक्षा र सचेतनालाई गाउँ–गाउँसम्म पुर्‍याउन आवश्यक छ। अझै पनि धेरै मानिसले जलवायु परिवर्तनलाई केवल मौसम परिवर्तनको सामान्य प्रक्रिया ठानिरहेका छन्। तर यसको वैज्ञानिक, सामाजिक र आर्थिक असरबारे जनचेतना फैलाउन जरुरी छ। विद्यालय, कलेज, युवा क्लब तथा सामाजिक संस्थामार्फत जलवायु शिक्षा अभियान सञ्चालन गर्न सकिन्छ। वृक्षरोपण, नदी संरक्षण, प्लास्टिक न्यूनीकरण, जैविक खेती तथा हरित ऊर्जाको प्रयोगजस्ता अभियानमा युवाले नेतृत्व लिन सक्छन्।

नेपालसँग विश्वलाई सिकाउन सक्ने धेरै सकारात्मक अभ्यासहरू पनि छन्। नेपालको सामुदायिक वन व्यवस्थापन प्रणाली विश्वकै सफल मोडलमध्ये एक मानिन्छ। स्थानीय समुदायले वन संरक्षणमा खेलेको भूमिका प्रेरणादायी छ। यही अनुभवलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गरेर नेपालले आफूलाई समाधान खोज्ने राष्ट्रका रूपमा पनि चिनाउन सक्छ। आज आवश्यकता केवल भाषणको होइन, कार्यको हो। नेपाली युवाले जलवायु परिवर्तनलाई एउटा अभियानका रूपमा लिनुपर्छ। नीति निर्माणदेखि स्थानीय तहसम्म, सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय सम्मेलनसम्म, विद्यालयदेखि संयुक्त राष्ट्रसंघसम्म नेपालका युवाको आवाज सुनिनुपर्छ। जलवायु न्यायका लागि नेपालको दाबी बलियो बनाउन युवाले अनुसन्धान, तथ्यांक, अभियान र अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिनुपर्छ।

अन्ततः, जलवायु परिवर्तन केवल वैज्ञानिक बहसको विषयमात्र होइन; यो अस्तित्वको प्रश्न हो। यदि हिमालहरू पग्लिरहे, यदि पानीका स्रोत सुक्दै गए, यदि कृषि प्रणाली धराशायी भयो भने नेपालको भविष्य संकटमा पर्छ। त्यसैले नेपाली युवाले जलवायु विषय उठाउनु केवल एउटा वैकल्पिक अभियानमात्र होइन, यो राष्ट्रको अस्तित्वसँग जोडिएको जिम्मेवारी पनि हो। आजको युवा पुस्ताले यदि समयमै आवाज उठायो भने नेपालले विश्वमञ्चमा न्यायको दाबी गर्न सक्छ। यदि आज मौन बसियो भने भविष्यका पुस्ताले हामीलाई कहिल्यै माफ गर्ने छैनन्। त्यसैले अब नेपाली युवाले विश्वलाई स्पष्ट सन्देश दिनुपर्छ– ‘नेपालले पृथ्वीलाई प्रदूषित गरेको छैन, तर नेपाल पीडित छ। त्यसैले नेपाललाई जलवायु न्याय चाहिन्छ।’

युवा अभियन्ता बानियाँ नेपाल युवा परिषद्का केन्द्रीय अध्यक्ष हुन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.