भारत जाँदै रास्वपा सभापति लामिछाने
४ सदस्यीय भ्रमण टोली रहने, दुवै पक्षबाट औपचारिक घोषणा हुन बाँकी
काठमाडौं : सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तीनदिने भारत भ्रमणमा जाने तयारीमा छन्। लामिछानेसहितको ४ सदस्यीय भ्रमण टोली जाने निश्चित भए पनि दुवै पक्षले औपचारिक रूपमा घोषणा गरेका छैनन्।
सत्तारूढ दलको प्रमुखको हैसियतमा लामिछानेको भारत भ्रमण हुन लागेको यो पहिलोपटक हो। उच्चस्तरीय राजनीतिक भ्रमण भएका कारण आवश्यक कूटनीति र अन्य तयारी भइरहेको स्रोतले बतायो। सभापति लामिछानेसहित उनकी पत्नी निकिता पौडेल, पार्टी सहमहामन्त्री विपिनकुमार आचार्य र सचिवालय सदस्य दीपकराज बोहरा भारत भ्रमण गर्न लागेका हुन्।
‘भारत भ्रमणमा जाने निश्चित नै हो,’ रास्वपा स्रोतले भन्यो, ‘अहिले यसबारेमा आधिकारिक स्टेटमेन्ट दिने कुरा भएको छैन। यो भ्रमणले नेपाल–भारत सम्बन्धलाई सरकार र पार्टीगत दुवै तहमा सुदृढ बनाउने अपेक्षा गरेका छौं।’ जेठ १८ गते भारत भ्रमणमा गई २० गते स्वदेश फर्कने कार्यक्रम रहेको स्रोतले बतायो।
गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुईतिहाइ जनमत प्राप्त गरी सरकार बनाएको तीन महिनापछि पहिलो विदेश भ्रमण हुन लागेको हो। रास्वपाका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहको भने तत्काल भारतलगायत कुनै पनि मुलुकमा जाने योजना छैन। गत मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अहिले कुनै पनि मुलुकको भ्रमण गर्ने कार्यक्रम प्रधानमन्त्री शाहको नरहेको बताएका थिए।
‘सभापतिज्यू आफ्नै ढंगले भारत भ्रमणमा जाँदै हुनुहुन्छ। प्रधानमन्त्रीज्यूको त्यससँग कुनै सम्बन्ध छैन,’ सरकारका प्रवक्तासमेत रहेका मन्त्री पोखरेलले भनेका थिए, ‘प्रधानमन्त्रीज्यू विदेश कहीँ पनि जानुभएको छैन। भारत मात्र नजानुभएको होइन। सरकारको सय दिनको कार्यव्यस्तता एकदमै धेरै छ। काममा सबैजना फोकस पनि छौं।’
प्रधानमन्त्री शाहले जेठ १३ गते युरोपेली संघमा आबद्ध मुलुकका राजदूत तथा मिसन प्रमुखसँग भेट गरेका थिए। त्यस्तै गत चैत २५ गते प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपालस्थित विभिन्न कूटनीतिक नियोगका राजदूत तथा प्रमुखसँग शिष्टाचार भेटघाट गरेका थिए। भेटघाटका क्रममा शाहले मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई सुमधुर र सुदृढ बनाउन सरकार इच्छुक रहेको बताएका थिए।
पूर्वराजदूत भन्छन्, ‘भ्रमणलाई स्वाभाविक र सकारात्मक रूपमा लिऊँ’
गत फागुन २५ गते भारतीय प्रधानमन्त्री मोदीले लामिछाने र शाहसँग टेलिफोन वार्ता गरेका थिए। जसको बारेमा मोदीले आफ्नो सामाजिक सञ्जालमा लेखेर सार्वजनिक गरेका थिए। दुवै नेतासँग न्यानो वार्ता भएको उल्लेख गर्दै रास्वपाले हासिल गरेको चुनावी सफलताका निम्ति बधाई दिएको उल्लेख गरेका थिए।
दुवै देशको आपसी समृद्धि, प्रगति र कल्याणका लागि भारत सहकार्य गर्न प्रतिबद्ध भएको सन्देश उनले दिएका थिए। उनले भनेका थिए, ‘हाम्रो संयुक्त प्रयासमार्फत आगामी वर्षहरूमा भारत–नेपाल सम्बन्ध नयाँ उचाइमा पुग्नेछ भन्नेमा म विश्वस्त छु।’
गत चैत १३ गते पनि मोदीले बधाई सन्देश पठाउँदै प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो पनि दिएका थिए। प्रधानमन्त्री मोदीले भनेका थिए, ‘नेपालको प्रधानमन्त्रीका रूपमा नियुक्त वालेन्द्र शाहलाई हार्दिक बधाई। तपाईंको नियुक्ति नेपालका जनताले नेतृत्वप्रति देखाएको विश्वासको प्रतिबिम्ब हो। दुई देशका जनताको पारस्परिक हितका लागि भारत–नेपाल मैत्री र सहकार्यलाई अझ उचाइमा पुर्याउन नजिकबाट सहकार्य गर्न हेरिरहेको छु।’
प्रधानमन्त्री बालेनको हालसम्म भ्रमण तय हुन नसकेपछि पार्टी सभापति लामिछानेले भ्रमण सुरु गरेका हुन्। स्रोतका अनुसार, लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, केन्द्रीय सडक परिवहन एवं राजमार्गमन्त्री नितिन गडकरी, विदेश सचिव विक्रम मिस्री तथा भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष नितिन नवीनलगायतसँग भेट्ने कार्यक्रम छ ।
भारतका लागि नेपालका पूर्वराजदूतहरू सत्तारूढ दल रास्वपाका सभापति लामिछानेले भारत भ्रमण गर्नु सकारात्मक भएको बताउँछन्। भारतका लागि नेपालका पूर्वराजदूत नीलाम्बर आचार्यले सत्तारूढ दलको सभापतिका रूपमा लामिछानेको भारत भ्रमण स्वाभाविक र सकारात्मक भएको बताए।
‘नेपाल र भारतबीच घनिष्ठ मित्रता छ। दुई देशबीच विभिन्न सरकारी, राजनीतिक र विभिन्न जनस्तरको तहमा भेटघाट, वार्ता, संवाद भइरहनुपर्छ,’ भारतका लागि पूर्वनेपाली राजदूत आचार्य भन्छन्, ‘सरकार स्तरमा होस् वा पार्टीगत तहमा होस्, आपसमा वार्ता, संवाद र भेटघाट गर्नु स्वाभाविक हो। कूटनीति भनेको वार्ता, संवाद पनि हो। यो भ्रमणलाई सकारात्मक रूपमा लिनुपर्छ।’
भारतका लागि नेपालका अर्का पूर्वराजदूत लोकराज बरालले सत्तारूढ दलको सभापतिलाई भारत भ्रमणमा निम्तो दिनु स्वाभाविक र सामान्य भएको बताए। ‘सत्तारूढ दलको सभापतिलाई भ्रमणको निम्तो दिनु पहिलेदेखिकै चलन हो,’ पूर्वराजदूत बरालले भने, ‘प्रधानमन्त्रीको भ्रमण तत्काल सम्भव नभएकाले यो भ्रमण हुनु पनि स्वाभाविक हो। यो भ्रमणले आपसमा सकारात्मक वातावरण बन्छ।’
प्रतिक्रिया दिनुहोस !