नवलपुरमा घरायसी विवादका कारण बुबाले गरे छोराको हत्या
नवलपुर : नवलपुरको गैंडाकोटमा घरायसी विवादका क्रममा बुबाले आफ्नै छोरामाथि धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्।गैंडाकोट नगरपालिका वडा नं. १५ चिन्तामणी टोलमा शनिबार राती बुबाले छोरामाथि खुर्पा प्रहार गरी हत्या गरेका हुन्।
प्रहरीका अनुसार चिन्तामणी टोल बस्ने ६३ वर्षीय डम्मर गिरी र उनका ४३ वर्षीय छोरा शंकर गिरीबीच शनिबार राती अन्दाजी १०:०० बजेको समयमा घरायसी विषयलाई लिएर विवाद सुरु भएको थियो।
सामान्य भनाभनबाट सुरु भएको विवाद उग्र बन्दै गएपछि बुबा डम्मर गिरीले छोरा शंकरमाथि धारिलो हतियार खुर्पाले टाउकोमा प्रहार गरेका थिए। बुबाको खुर्पा प्रहारबाट शंकरको टाउकोमा गम्भीर चोट लागेको थियो। रगतले लतपतिएर गम्भीर घाइते भएका उनलाई स्थानीय र परिवारको सहयोगमा तत्कालै उद्धार गरी उपचारका लागि चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेज पठाइएको थियो।
अस्पताल पुर्याएर उपचार सुरु गरिए पनि उनलाई बचाउन सम्भव भएन। उपचारकै क्रममा राती १०:४५ बजे चिकित्सकले शंकरलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रबक्ता डिएसपी अनिल पण्डितले बताए ।
प्रहरी टोलीले घटनास्थलबाट हत्यामा प्रयोग गरिएको धारिलो हतियार खुर्पा बरामद गरेको छ भने छोराको हत्या गर्ने ६३ वर्षीय आरोपी बुबा डम्मर गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
प्रतिक्रिया दिनुहोस !