गाउँघरका चौतारा संरक्षण गरिँदै
गोरखा : भत्किँदै र मासिँदै गएको चौतारालाई वन डिभिजन कार्यालयले संरक्षण गर्न थालेको छ । स्थानीयबासीले शुभ, अशुभ काममा प्रयोग गर्ने तथा दैनिक लेकबेसी गर्दा सुस्ताउने चौताराहरुलाई जगेर्ना गर्ने उद्देश्यले संरक्षण गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयले सहिदलखन गाउँपालिकामा तीन वटा चौतारा मर्मत सम्भार गरेर संरक्षण गरेको जनाएको छ । गण्डकी प्रदेश सरकारबाट प्राप्त बजेटबाट डिभिजन वन कार्यालयले तीन वटा चौतारालाई पुरानै शैलीमा मर्मत सम्भार गरी संरक्षण गरेको डिभिजन प्रमुख मदनमोहन शाण्डिल्यले जानकारी दिए ।
‘सहिदलखन–७ को गैरीचौतारा र गोपाले चौतारा अनि सहिदलखन–९ को सातदोबाटे चौतारा पुरानै शैलीमा मर्मत सम्भार गरी संरक्षण गरेका छौँ’, उनले भने, ‘यस्ता गाउँबस्तीका धार्मिक तथा सांस्कृतिक सम्पदालाई जगेर्ना गर्दा सम्पदा संरक्षण पनि हुने र गाउँलेहरुलाई उकालो, ओह्रालो हिड्दा थकाइ मार्ने, सुस्ताउने ठाउँ पनि हुने हुनाले यो धेरै महत्वपूर्ण काम हो ।’ प्राकृतिक सौन्दर्य अभिवृद्धिमा पनि चौताराको भूमिका रहने उनी बताउँछन् ।
चौतारा संरक्षण गर्नु सरकारको दायित्व भएको वडाअध्यक्ष शरण श्रेष्ठ बताउँछन् । ‘बस्न, थकाइ मार्न मात्र होइन, गाउँमा शुभ तथा अशुभ दुवै खालको काममा चौतारा नभई हुँदैन’, श्रेष्ठ भन्छन्, ‘मान्छे मरेपछि चोख्याउँदा पनि चौतारा नघुमी हुँदैन । शुभ काममा त झन सँधै चौतारा चाहिन्छ । त्यसैले गाउँको चौताराको संरक्षण गरेका हौँ ।’ गाउँको चौताराको मर्मत सम्भार गरी संरक्षण भएपछि स्थानीयबासी खुशी भएका उनी बताउँछन् ।
प्रतिक्रिया दिनुहोस !