बौल्यानामा खानेपानी हाहाकार : पढ्न छोडेर ग्यालेन बोक्छन् विद्यार्थी

बौल्यानामा खानेपानी हाहाकार : पढ्न छोडेर ग्यालेन बोक्छन् विद्यार्थी
सुन्नुहोस्

हुम्ला : हुम्लाको ताँजाकोट गाउँपालिका–१ स्थित बौल्याना बस्तीमा खानेपानीको चरम अभाव भएको छ। परम्परागत रूपमा रसाइरहेको मूलमा पानीको मात्रा बढाउने आसमा डोजर प्रयोग गरिएपछि पुरानो मूलसमेत सुकेर पानी ठप्प भएको स्थानीय मिलन खड्काले बताए।

मूल सुकेपछि अहिले बौल्यानावासीलाई खानेपानीका लागि निकै कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ। स्थानीय पानीकै लागि निकै तल रहेको पुम खोला पुग्नुपर्छ भने कतिपय उकालो जेठोबाटो हिँडेर काँडागाउँ पुग्न बाध्य छन्।null

खानेपानीको यो संकटले सबैभन्दा बढी मार विद्यालय जाने बालबालिकालाई पारेको छ। भैंसेबाज गाउँमा रहेको विद्यालयमा पढ्ने विद्यार्थीहरू हरेक दिन बिहानै हातमा खाली ग्यालेन बोकेर विद्यालय पुग्छन्। दिनभर विद्यालयमा पढ्ने र साँझ विद्यालय बिदा हुनासाथ गाउँ नजिकैका पानीका स्रोतबाट ग्यालेन भरेर मात्र घर फर्कने गरेको स्थानीय खड्काले जानकारी दिए।

विद्यालयमा अध्ययनरत विद्यार्थी लोकेन्द्र खड्काले आफूहरूलाई पढाइभन्दा बढी साँझ पानी बोक्ने पिरलो हुने गरेको दुखेसो पोखे। ‘दिउँसो कक्षा कोठामा बसिरहँदा पनि साँझ पानीको ग्यालेन कसरी घर लैजाने र परिवारलाई खानेपानी खुवाउने भन्ने चिन्ता लागिरहन्छ,’ 
लोकेन्द्रले भने।

बौल्याना एउटा ऐतिहासिक र स्थायी बस्ती हो, जुन अग्लो डाँडामा अवस्थित छ। वर्षौंदेखि खाँदै आएको पानीको मुहान सुकेपछि सिंगो गाउँ नै काकाकुल बनेको ताँजाकोट–१ का वडाध्यक्ष मोहनलाल रिठालले बताए। उनका अनुसार सो क्षेत्रमा पानी ल्याउन सक्ने अन्य प्राकृतिक मुहान नै नभएकाले समस्या झनै जटिल बनेको हो।

‘यो वर्ष वडाबाट ३ लाख रुपैयाँ विनियोजन गरेर काँडागाउँमा खानेपानीको व्यवस्थापन त गर्‍यौं, तर भौगोलिक विकटताका कारण बौल्याना बस्तीमा त्यो पानी पुर्‍याउन सम्भव भएन,’ वडाध्यक्ष रिठालले भने, ‘अहिले तत्कालका लागि आकाशे पानी संकलन गर्ने योजना बनाएका छौं। यसका लागि १ हजार लिटर क्षमताका ८० वटा ठूला ड्रमहरू वितरण गर्ने तयारी भइरहेको छ।’ आकाशे पानीले मात्रै दीर्घकालीन समाधान नहुने भएकाले तीनै तहका सरकारसँग दीर्घकालीन योजनाका लागि माग गरिरहेको उनले बताए।

समाधान खोज्दै सिंहदरबारसम्म ध्यानाकर्षण

गाउँको यो विकराल समस्या बोकेर स्थानीय मिलन खड्का केही समयअघि सिंहदरबार पुगेका थिए। गाउँको समस्या समेटिएको भिडियो बोकेर मन्त्रालयका उच्च अधिकारी र मन्त्रीलाई भेटेको उनले सुनाए।

‘गाउँमा पानीको हाहाकार भएको भिडियो देखाउँदै मैले भौतिक पूर्वाधार मन्त्रीज्यूलाई भेटेँ,’ खड्काले आफ्नो अनुभव सुनाउँदै भने, ‘मैले यसैका लागि ५० हजार रुपैयाँ खर्च गरेर काठमाडौं आएको छु, कि मलाई खानेपानीको व्यवस्था गरिदिनुस्, हैन भने म घर फर्किन्नँ भनेर अडान लिएँ। मेरो कुरा सुनेपछि मन्त्रीज्यूले जुनसुकै हालतमा पनि बजेट र योजनाको व्यवस्था गर्ने आश्वासन दिनुभएको छ।’

भौगोलिक विकटता र प्राविधिक लापरबाहीका कारण खानेपानीको गम्भीर संकट झेलिरहेको बौल्याना बस्तीका नागरिक र विद्यार्थीहरू अहिले सरकारको त्यही आश्वासन कहिले पूरा होला भनेर पर्खिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.