प्रतिनिधि सभा बैठक
सभामुखलाई एमाले सांसद राजेन्द्र कुमार राईले तपाईं कान सुन्नु हुन्छ कि हुन्न भनेपछि....
काठमाडौं : प्रतिनिधि सभा बैठकमा विपक्षी दलको अवरोध जारी रहँदा सभामुख डोलप्रसाद अर्याल र विपक्षी दल नेकपा एमाले सांसद राजेन्द्रकुमार राईबीच भनाभन भएको छ।
बैठकका क्रममा राईले सभामुखलाई सम्बोधन गर्दै भने,'म सभामुखलाई एउटा निवेदन राख्न चाहन्छु। तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्न?' त्यसको जवाफमा सभामुख अर्यालले राईलाई मर्यादित भाषा प्रयोग गर्न निर्देशन दिए।
सभामुखले भने,'माननीय सदस्य,मर्यादामा बसेर बोल्नुहोस्। म माननीय सदस्यलाई योभन्दा अगाडि बढ्न दिन्न। माननीयज्यूले सभामुखको अवहेलना गर्दै हुनुहुन्छ,सभाको पनि अवहेलना गरिरहनु भएको छ। बस्नुहोस्।'
त्यसपछि सभामुखले अर्का सांसदलाई बोल्न समय दिए पनि विपक्षी दलका सांसदहरू सिटबाट उठेर विरोध जारी राखे। सभामुख अर्यालले विपक्षी सांसदहरूलाई लक्षित गर्दै भने,'माननीयज्यूहरूले बोल्ने क्रममा सभामुखको अपमान हुने गरी जुन भाषा प्रयोग गर्नुभएको छ, त्यसमा मेरो आपत्ति छ।'
सभामुख अर्याल र सांसद राईबीच भनाभन भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर विरोध जनाउँदै आएका छन्।
प्रतिक्रिया दिनुहोस !