नगद र ताससहित ६ जना पक्राउ
नुवाकोट : नुवाकोटको गणेशस्थानमा नगद र ताससहित ६ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
तास खेलिरहेको अवस्थामा नुवाकोटको पुर्वी भेगमा रहेको सूर्यगढी गाउँपालिका–५ फेदीबेंसीमा घरधनीसहित ६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
उनीहरूको साथबाट नगद ६७ हजार ६ सय ६५ रुपैया, एक वुङ तास र सिमिको गेडागुडी दानासहितको कप एक थानसमेत बरामद गरिएको प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरको भनाई छ । उनका अनुसार पक्राउ पर्नेहरुमा घरधनी बेलकोटगढी नगरपालिका–१३ स्थायी घर भई हाल सूर्यगढी गाउँपालिका–५ फेदीबेशी बस्ने ५५ वर्षीय हिराबहादुर तामाङ, सुर्यगढी गापा–५ कै ६० वर्षीय मोहन अधिकारी, सोही स्थानका ४९ वर्षीय रामकृष्ण बस्नेत, ४२ वर्षीय सुदनजंग खाती, ५६ वर्षीय कृष्णबहादुर थापा र ५१ बर्षीय रामचन्द्र बोगटी रहेका छन् ।
प्रहरीले विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय खरानीटारबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेकामाथि जुवा ऐनसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !