राजधानी छिर्ने मुख्य नाका पहिरोले अस्तव्यस्त

राजधानी छिर्ने मुख्य नाका पहिरोले अस्तव्यस्त

सूर्यप्रकाश कँडेल
चितवनः पूर्वी चितवनको रत्ननगर नगरपालिका ५ बाघमाराका रामकान्त पौडेल सोमबार सपरिवार मनकामना दर्शन गर्न बिहान सात बजे नारायणगढबाट कुरिनटार जाने बस चढे ।

आइतबार मध्यरातको वर्षाले नारायणगढ-मुग्लिन सडकखण्डको आधा दर्जन ठाउँमा पहिरो गएपछि भएको गाडी जामको कारण उनी दिउँसो पाँच बजे बल्ल मुग्लिन पुगे । मनसुनी वर्षासँगै नारायणगढ-मुग्लिन सडकखण्डको ठाउँठाउँमा पहिरो जाने समस्या देखिएपछि देशको पूर्वी र पश्चिमी क्षेत्रबाट स्थल मार्ग हुँदै राजधानी छिर्ने मुख्य नाका अस्तव्यस्त बनेको छ ।

‘मनकामना दर्शन गरेर सोमबार नै घर फर्कने भनेर गाडी चढेको, बल्ल मुग्लिन आइपुगियो’, सोमबार अपराह्न पाँच बजे टेलिफोनमा कुराकानी गर्दै पौडेलले भने, ‘आमा, दाजु, भाउजू, भाइ, बहिनी र म मनकामना दर्शन गर्न आएका थियौं ।

अब मंगलबार बिहानै मनकामनामा पूजा गरेर घर फर्कनुपर्ने भयो ।'राति पानी परेपछि बाटोमा पहिरो जान्छ कि भन्ने आशंका भए पनि अरू बेला एक घन्टामा छिचोलिने नारायणगढदेखि मुग्लिनसम्मको ३६ किलोमिटर बाटो पार गर्नै दस घन्टा लाग्ला भन्ने कल्पना पनि नगरेको उनले सुनाए ।

बाटोभरि ३० किलोमिटरभन्दा बढी सवारी जामको अवस्था भोग्नुपरेकाले यात्रामा विलम्ब भएको उनको भनाइ छ । वर्षा हुँदा लेदोसहितको पहिरो र घाम लाग्दा सुक्खा पहिरो जाने गरेपछि नारायणगढ-मुग्लिन सडक भएर गरिने यात्रा जोखिमपूर्ण र अस्तव्यस्त बनेको छ ।

गत शुक्रबार चितवनको चण्डीभन्ज्याङ गाविसमा मैयाँदेवी ट्रस्टले आयोजना गरेको तालिम कार्यक्रममा सहभागी भएर फर्कंदा नारायणगढ-मुग्लिन सडकको जलबिरेसम्म पुग्न दुई घन्टा र फर्कन तीन घन्टा लागेको ट्रस्टका महासचिव टंकनाथ पौडेलले सुनाए ।

नारायणगढ-मुग्लिन सडकमा पहिरो जान थालेपछि यात्रुले सास्ती भोग्नेमात्र नभई सडक विस्तार र मर्मतको कामसमेत प्रभावित बनेको छ । विश्व बैंकको सहयोगमा नेपाल-भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत सञ्चालित नारायणगढ-मुग्लिन सडक आयोजनाले गतवर्ष वैशाखदेखि सडक विस्तार तथा स्तरोन्नतिको काम सुरु गरेपछि आवागमन असहज बनेको हो ।

सवारीसाधन चलेकै अवस्थामा सडक विस्तारका लागि पहाड काट्ने र ढुंगा पन्छाउने काम सहज नहुने भन्दै आयोजनाले गतवर्ष माघ २२ गतेदेखि हरेक दिन बिहान ११ बजेदखि दिउँसो तीन बजेसम्म सवारी आवागमन बन्द गराउँदै आएकोमा यो प्रतिबन्ध असार एक गतेबाट हटाइएको छ । दुई वर्षभित्र सम्पन्न गर्ने भनिएको सडक विस्तार एवं मर्मतकार्य १५ महिना भइसक्दा २५ प्रतिशतजति सम्पन्न भएको छ ।

गतवर्ष वैशाखदेखि सडक विस्तार र मर्मतको काम सुरु गरेको आयोजनाले भूकम्प, नाकाबन्दी, सवारीसाधनको चाप, पहिरोलगायत समस्याका कारण पूर्ण क्षमतामा काम गर्न नपाइएको जनाएको छ ।

‘वर्षा सुरु भएपछि पहिरो गई यातायात अवरुद्ध हुने र त्यसलाई सहज बनाउनमै समय बित्ने भएपछि हामीले फुलफेजमा काम गर्न पाएका छैनौं’, सडक विभागका इन्जिनियर शिव खनाल भन्छन्, ‘सवारीसाधनको आवागमन केही समयका लागि बन्द गरेर काम गर्दासमेत सोचेजस्तो काम हुन सकेन ।'

दैनिक आठ हजार सवारीसाधन गुड्ने सडकमा वर्षासँगै आइरहने पहिरोले सडक आवागमन असहज हुने देखिएकाले असार एक गतेदेखि सवारी आवागमन चौबीसै घन्टा खुला गरिएको उनले बताए ।

आधा दर्जन ठाउँमा पहिरो

मनसुन सक्रिय भएसँगै आइतबार राति चितवनमा भएको वर्षाले नारायणगढ-मुग्लिन सडकखण्डको आधा दर्जन ठाउँमा पहिरो गएको छ ।

सडक विस्तारको काम भइरहेको सडकखण्डमा पहिरो गएपछि अवरुद्ध सडक सोमबार दिउँसो तीन बजेपछि एकतर्फी सञ्चालनमा र साँझदेखि दुईतर्फी सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक राजन भेटवालले सोमबार आधा दर्जन ठाउँमा पहिरो गई यातायात अवरुद्ध भएपछि त्यसलाई हटाउन पाँचवटा एक्साभेटर प्रयोग गरिएको जानकारी दिए ।

‘मुग्लिनदेखि पाँच किलोमिटर वरको कालीखोला क्षेत्र, गाईघाट, घुमाउने, केराबारी, सेतीदोभानलगायत ठाउँमा पहिरो गएको थियो’, प्रहरी निरीक्षक भेटवालले भने, ‘मध्यरातको वर्षासँगै गएको पहिरो एक्साभेटरले पन्छाएर अवरुद्ध यातायात खुलाउन दस घन्टा लाग्यो । दिउँसो दुई बजेतिर सेतीदोभानमा पुनः पहिरो गएपछि त्यसलाई पनि पन्छाएर साँझसम्म दुईतर्फी बाटो खुलाइएको छ ।’

वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

सडक सुधारकार्य चलिरहेकाले काठमाडौंबाट पूर्व, पश्चिम र त्यहाँबाट काठमाडौं आवतजावत गर्न वैकल्पिक मार्ग अपनाउन आयोजनाले अनुरोध गरेको छ । पूर्वतर्फ जानका लागि साना सवारीसाधनले त्रिभुवन राजपथ, फर्पिङ र बीपी राजमार्ग प्रयोग गर्न सक्नेछन् ।

पश्चिमतर्फका लागि सिद्धार्थ राजमार्ग र पृथ्वी राजमार्ग वैकल्पिक रूपमा प्रयोग गर्न अनुरोध गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले समेत नारायणगढ-मुग्लिन सडकको विकल्पमा अन्य मार्ग प्रयोग गर्न सर्वसाधारणमा अनुरोध गरेको छ ।

‘हामीले सञ्चारमाध्यमबाट सूचना प्रसारित गरी सर्वसाधारणलाई काठमाडौं जान वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेका छौं’, प्रहरी निरीक्षक भेटवालले भने, ‘पश्चिमबाट राजधानी जाने गाडी पाल्पा, पोखरा, मुग्लिन हुँदै, पूर्वबाट राजधानी जाने गाडी बर्दिबासबाट बीपी मार्ग, बनेपा हुँदै जान अनुरोध गरेका छौँ । हेटौंडाबाट दामन र कुलेखानी हुँदै काठमाडौँ जान सकिन्छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.