सहकारीको सही मार्ग

सहकारीको सही मार्ग

बेलायतको रोचडेलबाट सन् १८४४ बाट विश्वमा सहकारी अभियानको सुरुवात भएको हो। धागो कारखानामा काम गर्ने श्रमिकले आफ्नो ज्यालाबाट गुजारा गर्न धौधौ परेपछि रोचडेल इक्विटेबल पायोनियर सोसाइटी नाम दिएर संसारमै सहकारी स्थापना गरे। ती श्रमिकले जानी नजानी आफ्नो जीवनकालमा एउटा अविस्मरणीय योगदान विश्वसामु गरे।

आर्थिक तथा सामाजिक हैसियत कमजोर भएका श्रमिक वर्गको जीवीकोपार्जन सहज बनाउन आधुनिक सहकारी अभियानको सुरुवात भएको पाइन्छ। आज सहकारीमा आस्था राख्ने विश्वका एक अर्बभन्दा बढी मानिस यी मजदुरलाई आदर्शका अगुवा मान्छन्।

नेपालमा पनि जहानियाँ राणा शासनको अन्त्यपछि वि.सं २०१० सालमा सहकारी विभागको स्थापना भयो। योसँगै आधुनिक सहकारी अभियानको सुरुवात भएको थियो। विसं २०१३ साल चैत २० गते चितवनको शारदानगरमा स्थापना भएको बखान सहकारी नेपालको इतिहासमा पहिलो सहकारीको मानिन्छ।

नेपालमा सहकारीको अवधारण भित्र्याउने श्रेय महामानव बीपी कोइरालालाई जान्छ। उनी इजरायल भ्रमणमा जाँदा त्यहाँको सहकारीको अवधारणाबाट प्रभावित भएर नेपालमा सहकारीको बीजारोपण गरे। तर यसको संस्थागत विकास भने नेपाली कांग्रेसका नेतासमेत रहेका स्व.बखानसिंह गुरुङले बखान सहकारीबाट गरेका हुन्।

बखान सहकारीले बाढीपीडितलाई राहत प्रदान गर्ने क्रममा पुर्याएको योगदान महत्वपूर्ण मानिन्छ। नेपालमा सहकारी आन्दोलनको सुरुवात भएको लामो समय नभए पनि ग्रामीण क्षेत्रको विकासमा पुर्याएको योगदानलाई महत्वपूर्ण मान्नुपर्छ।
००

अन्तर्राष्ट्रिय दिवस
आज (शनिबार) ९४ औं अन्तर्राष्ट्रिय सहकारी दिवस। प्रत्येक वर्ष जुलाई महिनाको पहिलो शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ। अन्तर्राष्ट्रिय सहकारी महासंघले सन् १९२३ देखि विश्वभर विविध कार्यक्रम गरी यो दिवस मनाउँदै आएको छ।

सहकारी दिवस मनाउने क्रममा संयुक्त राष्ट्रसंघले समेत समुदायको सामाजिक, आर्थिक तथा सांस्कृतिक विकासमा सहकारीको महत्वपूर्ण योगदानको कदर गर्दै एउटै लक्ष्य र उद्देश्यका साथ सन् १९९५ देखि संयुक्त रूपमा संयुक्त राष्ट्रसंघ अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउन थालेको हो।

संयुक्त राष्ट्रसंघले आफ्ना सदस्य राष्ट्रलाई समेत यो दिवस मनाउन आह्वान गर्दै आएको छ। सहकारी महासंघले यस वर्षको नारा ‘सहकारीः दिगो विकासको कार्यशक्ति' तय गरेको छ। यही नाराअनुसार महासंघले सदस्य मुलुकका संघ संस्थालाई आह्वान गर्दै आएको छ। सोही अनुरूप हरेक मुलुकले नाराबमोजिम रणनीतिक योजनामार्फत जनस्तरसम्म पुर्याउने काम गर्दछ।

सहकारीले वकालत गर्ने, सरकारलाई सोही अनुरूप नीति निर्माणमा दबाब दिने गर्दछ। एक्सन प्लान बनाएर हरेक मुलुकले सोहीअनुसारका कार्यक्रम तय गर्ने गर्छ र उपलब्धि पनि। तर, नेपालमा भने कामभन्दा बढी कुरा गर्ने उदाहरण हामीसामु छन्। ती नारालाई एकातिर थन्काएर काम अर्कातिर गर्नाले सोचेचस्तो उपलब्धि गर्न सकेको छैन।

००

 

आर्थिक समृद्धि र सामाजिक रूपान्तरण
एक्काइसौं शताब्दीमा आइपुग्दा पनि गरिबी, अशिक्षा, बेरोजगारी, भोकमरी मानव समाजका लागि समस्याका रूपमा देखिएकोमा मानव सभ्यताको लागि नै चुनौती रह्यो। यो शताब्दीको पहिलो १५ वर्षमा विश्वबाट गरिबी उन्मूलन गर्ने लक्ष्यसहित संयुक्त राष्ट्रसंघले विविध पहल गरेको थियो।

विकसित भनिएको अमेरिका युरोपमा एक्काइसौं शताब्दीको पहिलो दशकमै आर्थिक संकट आइपर्यो। ती संकटमा सहकारी क्षेत्रले कत्ति पनि विचलित नभई परिस्थितिको सामना गर्न सक्षम भएको घटनाले सहकारी अभियानले थप उचाइ चुम्न सफल भएको हो।

संयुक्त राष्ट्रसंघको घोषणामा सन् २०१२ लाई विश्वभर सहकारी वर्षको रूपमा मनाए। लामो समयको अनुभव र सहकारी मोडलका आर्थिक क्रियाकलापबाट राष्ट्रसंघले विश्वबाट गरिबी हटाउने र शान्तिपूर्ण सामाजिक आर्थिक विकास गर्ने अभियानका लागि सहकारीलाई रोजेको छ। राष्ट्रसंघले विश्वका सबै देशमा सहकारी पद्धतिको सामाजिक आर्थिक क्रियाकलापमा जोड दिएको छ।

विश्वमा गरिबी, भोकमरी, अशिक्षा, बेरोजगारी र आर्थिक असमनता नै प्रमुख समस्याको रूपमा रहेको छ। विभिन्न मोडलका विकास कार्यक्रम आशातीत परिणाम दिन असफल भइरहेको अवस्थामा विश्वको ध्यान सहकारी मोडलमा गएको छ।

विश्वमा सहकारीका माध्यमले सामाजिक, आर्थिक रूपान्तरण भएका थुप्रै उदाहरण छन्। खासगरी व्यावसायिक खेती, दूध उत्पादन, प्रशोधन, सहकारी उद्योग, सहकारी बैंक एवम् वित्तीय परिचालनको योगदान अतुलनीय छ।

छरिएर रहेको सबैखाले श्रम, साधन, स्रोत र सीपको एकीकरण गरी स्थानीय स्तरमा अधिकतम उपयोग गर्ने माध्यमको रूपमा सहकारीलाई लिइएको छ। श्रमलाई पुँजीमा रूपान्तरण गर्ने उत्कृष्ट माध्यम बनेको छ, सहकारी।

जनस्तरको सहज पहुँचको पहिलो संरचनाको रूपमा सहकारीलाई लिइन्छ। यतिमात्र नभई सहकारी सामाजिक, आर्थिक विकासको वैकल्पिक मोडल नभई उत्कृष्ट मोडलको समेत लिइएको छ। आत्मसहयोग, स्वनियमन, स्वायत्तता, ऐक्यबद्धता, इमानदारिता, पारदर्शिता, सामाजिक चासो सहकारीका मूलभूत चरित्र हुन्।
००

नेपालमा सहकारी
विश्वमा सहकारी अभियान सफल अभियानको रूपमा अघि बढेको भए पनि नेपालमा भने यस क्षेत्रले उल्लेख्य सफलता हासिल गर्न सकिराखेको छैन। सहकारी विभागको आँकडालाई आधार मान्ने हो भने नेपालमा ३३ हजार विभिन्न प्रकृतिका सहकारी छन्।

प्रत्यक्ष रूपमा ५१ लाख मानिस आबद्ध भएको दाबी समेत सहकारी आन्दोलनकर्मीको छ। तथ्यांकीय आँकडामा नेपाली सहकारी जति उर्वर देखिन्छ कार्यसम्पादनमा त्यत्ति प्रभावकारी मानिएको छैन।

छिमेकी मुलुक भारत, चीनमा सहकारीको असफल अभ्यास भएको छ। सहकारिताको माध्यमबाट भएको कृषि क्षेत्रको विकासलाई नेपालका सहकारीले सिको गर्दै अघि बढ्न सकेमात्रै पनि कृषि क्षेत्रले फड्को मार्ने देखिन्छ।

यस क्षेत्रलाई दिगो, भरपर्दो, परिणाममुखी बनाउनको लागि ऐन, नीति नियम, मापदण्ड, अवधारणा, विधि प्रक्रिया, कार्ययोजना, प्रभावकारी सूचना र व्यवस्थित संगठन आधारभूत पक्ष हुन्। यी आधारभूत पक्षलाई नेपालका सहकारी अभियानले पालना गरेको छ त ? पक्कै पनि पालना गरेका छैनन्।

२०४८ सालमा बनेको ऐन परिमार्जन हुन सकेको छैन। नयाँ सहकारी ऐन पारित हुन सकेको छैन। २०६९ सालमा बनेको नीति कार्यान्वयन हुन सकेको छैन। कार्ययोजना निर्माण गरी सोही अनुरूप हिँड्न सकेका छैनन्।

सहकारीको व्यवस्थित संगठन निर्माण गरिनु त कहाँ हो कहाँ त्यहाँ राष्ट्रिय राजनीति हुने गरेको छ। दलीय भागबन्डामा पद बाँडफाँट गरिन्छ। नेपालमा सहकारीको विकास गुणात्मक नभई संख्यात्मक मात्र भएको देखिन्छ।

जबसम्म गुणात्मक विकास हुन सक्दैन यस क्षेत्रले उपलब्धि हासिल गर्न सक्दैन। सहकारीको विकास र प्रवद्र्धनमा योगदान पुर्याउनुपर्ने ती नेता आफ्नो राष्ट्रिय राजनीतिको स्थान सुरक्षित गर्न सहकारीमार्फत आउनु नै विडम्बना हो।

सहकारीका नेताले राजनीति दलका नेतालाई सहकारीबारे बुझाएर अघि बढ्नुपर्ने ठाउँमा सहकारीमै राजनीति घुसाएर सहकारीको आदर्श, मूल्य, मान्यता र सिद्धान्तभन्दा बाहिरको काम गरिरहेका छन्।

रातारात धनी बन्ने केही व्यक्तिको स्वार्थपूर्तिको माध्यम सहकारी क्षेत्र भएको छ। वित्तीय साक्षरत, वित्तीय पहुँच र उद्यमशीलता विकास गर्ने माध्यमको रूपमा सहकारीलाई प्रयोग गरिनुपर्छ। अमेरिका, सिंगापुर, स्विडेन, जापान, डेनमार्क, इजरायल, दक्षिण कोरियालगायतका देशमा सहकारीले सामाजिक विकास महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।

नेपालको सन्दर्भमा खासगरी विपन्न, ग्रामीण र पिछडिएका क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका लागि सहकारीलाई सशक्त र प्रभावकारी माध्यम बनाइनुपर्दछ। घरेलु तथा साना उद्योग, पशुपालन, कृषि उत्पादन, जलविद्युत्, पर्यटन, जडीबुटी उद्योगजस्ता क्षेत्रमा सहकारीको माध्यमबाट देश विकास गर्न सकिने सम्भावना छ। तर यस क्षेत्रमा खासै सहकारी क्षेत्र लागेको देखिँदैन।

नेपालमा सहकारीको चर्चा गर्दा बचत तथा ऋण सहकारी सहर बजारमा केन्द्रित देखिन्छन्। कृषि तथा कृषि सम्बद्ध सहकारीको आकर्षण, उपस्थिति तथा प्रभावकारिता ग्रामीण भेगमा बढ्दै गएको भए पनि न्यून मात्रामा रहेको छ।

सहकारी बचत तथा ऋणको साँघुरो धरातलबाट माथि उठेर सामाजिक उपयोगिताको क्षेत्रमा विस्तारित हुनु अहिलेको आवश्यकता हो। नाम कृषि, उपभोक्ता राखे पनि काम बचत तथा ऋणको मात्रै गरिरहेका छन्। सहकारीको ध्येय मुठ्ठीभर सञ्चालकको आर्थिक विकासको साधनभन्दा पनि समग्र सदस्यको सामाजिक, आर्थिक विकासको माध्यम बन्न सक्नुपर्छ।००

अन्त्यमा
केही समयअघि छिमेकी मुलुक भारतले गरेको नाकाबन्दीले देशको परनिर्भरतालाई स्पष्ट देखाइदिएको छ। स्रोत र साधनको सदुपयोग नहुनु र आयातीत अर्थतन्त्रको अन्त्यका लागि उत्पादन वृद्धि गर्ने कार्यक्रम बनाउन आवश्यक छ।

उत्पादन वृद्धिका कार्यक्रममा सहकारी क्षेत्रलाई राज्यले परिचालन गर्नु आवश्यक छ। सहकारीमा जम्मा भएको पुँजीलाई यस क्षेत्रमा लगानी गर्ने वातावरण सरकारले सिर्जना गर्नुपर्छ। यति भनिरहँदा सोहीअनुसार नीति निर्माण आवश्यक छ।

हात खुट्टा बाँधेर हिँड भन्ने परिपाटी सरकारले अपनाउनु भएन। सहकारीको नाममा गलत काम गर्नेलाई निरुत्साहित गर्नुपर्छ। गलत काम गर्नेलाई दण्ड, जरिबाना कडाइका साथ लागू गर्नुपर्छ। संविधानले भनेजस्तै सरकार, निजी र सहकारी मिलेर अघि बढ्न सके मुलुकलाई समृद्ध बनाउन सकिन्छ।
०००


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.