'दूत' भ्रमण र कूटनीतिक सन्तुलन

'दूत' भ्रमण र कूटनीतिक सन्तुलन

पाँच दिनको अन्तरमा सरकारका दुई उपप्रधानमन्त्रीहरूले प्रधानमन्त्रीका विशेष दूतका रूपमा बेइजिङ र दिल्ली यात्रा गरेका छन् । बेइजिङबाट कृष्णबहादुर महरा फर्केलगत्तै विमलेन्द्र निधि दिल्ली प्रस्थान गरेका छन् । चीनका प्रधानमन्त्री ली कछाङसँग र त्यसअघि त्यहाँका विदेशमन्त्रीसहित दुईपक्षीय सम्बन्धमा भूमिका खेल्ने चिनियाँ अधिकृतहरूले समान खालको सन्देश दिए ।

पहिलो, चीन र नेपालबीच केपी ओली सरकारको समय भएका सम्झौता, समझदारी कार्यान्वयन अपेक्षित गति र समयाबद्ध रूपमा हुनुपर्दछ । दोस्रो, चीन नेपालको विकास, आर्थिक प्रगति, व्यापार, भौतिक पूर्वाधार, पुनर्निर्माण र प्राकृतिक विपद्पछिका उद्धार जस्ता क्षेत्रमा अगाडि आउन इच्छुक छ । त्योसँगै अपेक्षित प्रगतिको लागि ऊ नेपालमा राजनीतिक स्थायित्व चाहन्छ ।

त्यसको लागि सबै शक्ति मिल्नुपर्ने चीनको सुझाव छ । राष्ट्रपति सी जिनपिङको प्रस्तावित यात्रा फेरबदल नगर्नमा चीन दृढ देखिन्छ, यद्यपि नेपालमा सरकार परिवर्तनपछि उनको यात्रामा नेपालले एउटा सर्तको तगारो लगाएको प्रस्टै बुझ्न सकिन्छ । त्यो होः त्यसपूर्व भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई नेपाल भित्र्याउने ।

महराको चिनियाँ प्रधानमन्त्रीसँगको भेटभन्दा केही घन्टा र निधिको दिल्ली प्रस्थानभन्दा एक दिनअघि नै भारतीय राजदूत रणजित रेले निधि भ्रमणले प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण अनि भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणको मिति तय हुने घोषणा गरे ।

निश्चय पनि, प्रधानमन्त्री दाहाललाई 'निकटतम' मित्रको रूपमा रणनीतिक रूपमै भए पनि औपचारिक स्वागत गर्न दिल्ली हतारमा छ । ६ महिनाको अन्तरमा हुन लागेको नेपालको प्रधानमन्त्रीको अर्थात् ओलीपछिको यो भ्रमण अत्यन्त सफल भएको सन्देश दिनु जरुरी छ, भारतको लागि ।

संयुक्त विज्ञप्तिमा समेत हस्ताक्षर हुन नसकेको त्यो भ्रमण र त्यसको ठीक एक महिनापछि चीनसँग विस्तृत दायराका सम्झौता र समझदारी गरेपछि भारतकै राजनीतिक र कूटनीतिक मामिलाका हस्तीहरूले समेत यो भारतको कूटनीतिक असफलता भएको र त्यसले नेपाललाई चीनको नजिकमा धकेलेको निष्कर्ष निकालेका थिए ।

भारतको संस्थापन पक्ष र कूटनीतिका सारथि हैसियतमा बसेको प्रशासनयन्त्र सायद त्यो निष्कर्षसँग सहमत छैन । दाहालद्वारा केपी ओलीको विस्थापनलाई ऊ आफ्नो ठूलो कूटनीतिक सफलता मान्दछ । दाहालको नेतृत्व भारतको हित र नेपाल भारत सम्बन्धमा अपेक्षित सुधारको लागि एउटा अवसर मान्दछ ऊ ।

दाहालले पनि परराष्ट्रमन्त्री नियुक्त हुनुपूर्व र भारत र बेइजिङमा राजदूत नै नभएको अवस्थामा 'विशेष दूत' पठाउने निर्णय गरेर दुवै छिमेकीलाई आश्वस्त गर्ने कोसिस गरे पनि त्यसको नतिजा हेर्न बाँकी नै छ । ती यात्रापछिका कदम सन्तुलित र संवेदनशील भएनन् भने नेपालले दुवैको विश्वसनीयता अझ बढी गुमाउने खतरा पनि त्यत्तिकै बढ्नेछ ।

सरसर्ति हेर्दा चीन भारतसँग नेपालले सौहाद्रता, समझदारी र विश्वासको सम्बन्ध बनाओस् भन्ने चाहन्छ । त्यो नेपालकै आवश्यकता र व्यावहारिकताको केन्द्रीय सत्य पनि हो । तर अहिले नेपालमा भारतविरुद्ध चुलिएको अविश्वासका कारण छन् । निधिले भनेजस्तो उनको एउटा यात्रा या त्यसपछि हुने प्रधानमन्त्री दाहालको अर्को यात्राले नाकाबन्दीपूर्वको अवस्थामा पुर्‌याउन सक्तैन । भारत सरकार र आम नेपाली जनताबीच विश्वासको संकट छ, खासगरी नाकाबन्दीपछि ।

त्यो नाकाबन्दीको पृष्ठभूमिमा रहेका राजनीतिबारे सचेत नेपाली जनताको एउटा मत हुन सक्छ, तर नाकाबन्दीका कारण उत्पन्न अभावको मारमा बाल, वृद्ध तथा रोगी सबै परेपछि भारतविरोधी भावनाले संगठित रूप लिएको हो । चीनको आगमनले प्रतिक्रियात्मक र रणनीतिक स्वागत पाउनु अस्वाभाविक नमानिनुको कारण पनि त्यही हो ।

निधि या दाहालको भ्रमणपूर्वकै सामान्य अवस्थाका भ्रमणभन्दा फरक नहोलान् । तर नेपालमा अधिकांश राजनीतिहरू खासगरी बाह्रबुँदेयता भारतद्वारा संरक्षित मानिन्छन् । यसबीचमा नेपाली राजनीतिज्ञहरूको विश्वसनीयतामा अभूतपूर्व गिरावट आएको छ । उनीहरू जनताप्रति कत्ति पनि जवाफदेही छैनन् ।

तर ओलीलगायतका केही अपवाद छोडेर अधिकांश नेताहरूका संरक्षक अनि बाह्रबुँदेका मध्यस्थकर्ता शक्ति र नेपालको राजनीतिमा खुला संलग्नताका कारण वर्तमान परिस्थितिको लागि भारत दोषी भएको मान्ने नेपालीहरूको संख्या धेरै छ । त्यसैले भारतले नेताहरूसँग नजिक देखिएर या सरकारको नेतृत्व परिवर्तनमा कारक देखिएर नेपालमा आफ्नो गुमेको हैसियत सहजै हासिल गर्न कठिन हुनेछ । प्रणव मुखर्जी नेपाल आएमा त्यो भारतीय राष्ट्रपतिको १९ वर्षपछिको भ्रमण हुनेछ ।

माओवादीको प्रारम्भ विद्रोह र भारतसँग क्रमशः अविश्वास बढ्न क्रममै भारतका राष्ट्रपति र प्रधानमन्त्रीले नेपालको दुईपक्षीय भ्रमणको 'क्रम' बन्द गरे । यता नेपालबाट त्यस्ता भ्रमण हुने क्रम जारी नै रह्यो । त्यसले नेपाली नेतृत्व र उनीहरूको यात्राको स्वाभाविक अवमूल्यन भएको मनोविज्ञान नेपालमा बन्न थालेको छ ।


प्रधानमन्त्री पुष्पकमल दाहालका दुई 'विशेष दूत' को बेइजिङ र दिल्ली भ्रमणलाई चीनले सकारात्मक रूपमै हेर्ने देखिन्छ । तर यसबारे नेपाल स्वयं या प्रधानमन्त्री स्पष्ट हुनु आवश्यक छ, उनले छिमेकमा दिन खोजेको सन्देश के हो र उनले अपेक्षा गरेको परिणाम के हो ?

त्यो मनोविज्ञानसँगै भारतप्रतिको अविश्वास कसरी सम्बोधन गर्ने ? त्यो हो आजको चुनौती । सी जिनपिङभन्दा पहिले मुखर्जीको यात्राले त्यसलाई सम्बोधन नगर्ला सम्भवतः ।

हो, नेपाली राजनीतिको एउटा पक्ष अर्थात् बाह्रबुँदेबाट फाइदा लिएकाहरू खासगरी माओवादी नेतृत्व व्यक्तिगत रूपमा अझै पनि मुखर्जीलाई भारतको वर्तमान नेतृत्व या मोदीभन्दा बढी नजदिकी र विश्वसनीय मान्दछन् । बाह्रबुँदेमा सक्रिय र महत्त्वपूर्ण भाग लिएको र अहिलेसम्म परिवर्तित नेपाल नीतिमा निर्णायक भूमिका खेल्दै आएको विदेश मन्त्रालय र दूतावासको नेतृत्व पनि मुखर्जीको क्षमतासँग प्रभावित छ ।

नेपाल र भारतका यी दुवै पक्षहरू मुखर्जीको भ्रमणको लागि सुरुदेखि नै प्रयत्नशील थिए । राष्ट्रपति बन्नुपूर्व उनको कांग्रेसी पृष्ठभूमि, सरकारमा भारतीय जनता पार्टीको नेतृत्व र नेपाल मामिलामा भाजपा र बाह्रबुँदेताका सत्ताको नेतृत्व गरेको र नेपालको राजनीतिको दिशा, एजेन्डा र गतिलाई त्यसपछि लगातार बाह्रबुँदेका हस्ताक्षरकर्ताहरूमार्फत निर्देशित गर्दै आएको भारतीय कांग्रेसबीचको केही आन्तरिक मतभेदका कारण मुखर्जीको भ्रमण हुन सकेन ।

यो भ्रमणबाट र राष्ट्रपतिमार्फत भारत सरकार नेपाल नीतिबारे केही परिवर्तनका संकेत देला या मन्त्रीका रूपमा मुखर्जीकै अग्र सक्रियतामा भएका एजेन्डाको निरन्तरताको संकेत देला, त्यो महत्त्वपूर्ण सन्देश र अर्थ हुनेछ, नेपालको लागि तथा नेपाल भारत सम्बन्धको लागि ।

नेपालको राजनीतिमा अस्थिरता व्याप्त छ र बाह्रबुँदेकै शक्तिहरू विभाजित छन् । त्यस अवस्थामा आम नेपाली जनताको भारतप्रतिको धारणालाई बेवास्ता गरी बाह्रबुँदेकै केही विखण्डित शक्तिहरूलाई समर्थन जनाउनुले मात्रै भारतले के बढी हासिल गर्ला र ?

भारतमा प्रजातान्त्रिक पद्धति, परम्परा र संवैधानिक मान्यता स्पष्ट छन् । त्यसैले प्रधानमन्त्री र राष्ट्रपतिका फरक राजनीतिक पृष्ठभूमिले नेपाल नीतिबारे भारत सरकारको धारणामा फरक नपर्ला, अर्थात् मुखर्जीले मोदी सरकारकै मान्यता बाहिर ल्याउनेछन् ।

तर नेपालमा राष्ट्राध्यक्षको पद आम जनताको मान्यतामा यसअघिका राष्ट्रपतिको व्यवहारबाट दलीय घेरा र स्वार्थबाट माथि देखिएको छैन । त्यस अवस्थामा एक महिनाको अन्तरमा हुने दाहालको र विद्यादेवी भण्डारीको भ्रमणले थप के अर्थ राख्ला ? रामवरण यादव दोस्रोपटक दिल्ली गएर बहालवाला प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाई न्यायपालिका र चार दलबीच सत्ता साझेदारीको खतरनाक अभ्यासको मन्त्र लिएर आए ।

त्यसको कार्यान्वयनपछि न्यायपालिकाको विश्वसनीयता झन्डै राजनीतिक दलहरूकै तहमा पुगेको छ । त्यस अर्थमा विद्या भण्डारीले आफूलाई राष्ट्रिय स्वार्थ र संवैधानिक सन्तुलनविपरीतको शक्तिका रूपमा प्रयोग हुन दिनु प्रत्युत्पादक हुनेछ । किनकि यो असामान्य 'फ्रिक्वेन्सी' का राजकीय यात्रा स्वाभाविक हैनन् भन्ने मान्यता प्रायः सबैमा भएकाले उनीहरूका यात्रा र त्यसपछिका गतिविधि तथा नतिजालाई नजिकबाट नियालिनेछ, मुलुकमा ।

वास्तवमा दक्षिणबाट र दक्षिणमा हुने यी भ्रमण र तिनका नतिजाबारे प्रारम्भिक विश्लेषणको अवसर चीनसँग रहनेछ । भारतले नेपालको उच्च तहको पहिलो यात्रा चीनतर्फ हुँदा (उदाहरणको लागि दाहालको सन् २००८ अगस्तमा) त्यसलाई सधैँ आलोचना र अस्वीकार्य मान्दै आएको छ । चीनले विगत केही वर्षयता या अस्थिरताका यी वर्षहरूमा नेपाललाई आफ्नो हित र प्रभाव क्षेत्रको एउटा छिमेकी माने पनि भारतको 'सरोकार र चासो' लाई उसले अस्वीकार गरेको छैन । बरु, भारतसँग सम्बन्ध प्रगाढ बनाउन आधिकारिक रूपमा 'प्रोत्साहित' गरेको छ ।

स्थायित्व र विकासको लागि त्यो आवश्यक छ । स्थायित्वको लागि आवश्यक अर्को चरित्र पनि प्रदर्शित गर्दै आएको छ चीनले, वाणी र व्यवहारमा । उसले सरकारविरोधी र अन्य संगठित स्वार्थ बोकेका शक्तिहरूसँग साँठगाँठ गरेको छैन र सबै सहयोग सरकारमार्फत गर्दै आएको छ, नेपाललाई । दोस्रो, स्थायित्वको लागि सबै शक्ति एक ठाउँमा आउनुपर्ने आग्रह गर्दा तदनुरूपको आचरण पनि देखाएको छ उसले ।

मधेसकेन्द्रित शक्तिहरू, माओवादी, एमाले, कांग्रेससँगै उसले पूर्व युवराज्ञीको नेतृत्वको हिमानी ट्रस्टलाई पनि 'इंगेज' गर्दै आएको छ । अर्थात् नेपालका कुनै शक्तिलाई निषेध गर्न नहुने सन्देश दिएको छ । तर नेपालको राजनीति र समाजलाई अब उग्र नाराहरूका आधारमा विखण्डन गर्न संलग्न मुलुकहरूलाई चीनले आफ्नो तर्फबाट या व्यवहारबाट निषेधको राजनीति समाप्त गरी सबैलाई एक ठाउँमा ल्याई स्थायित्वमा योगदान पुर्‌याउन आग्रह गरेको छ ।

त्यस अर्थमा प्रधानमन्त्रीका दुई 'विशेष दूत' को बेइजिङ र दिल्ली भ्रमणलाई चीनले सकारात्मक रूपमै हेर्ने देखिन्छ । तर यसबारे नेपाल स्वयं या प्रधानमन्त्री स्पष्ट हुनु आवश्यक छ, उनले छिमेकमा दिन खोजेको सन्देश के हो र उनले अपेक्षा गरेको परिणाम के हो ? आफ्नै भ्रमण, राष्ट्रपति भण्डारी र मुखर्जीको भ्रमणमा त्यो स्पष्ट देखिनु आवश्यक छ । स्पष्ट सन्देश पाइएन भने फेरि भारतसँग गोप्य 'डिल' गरेको, चीनसँगको मित्रतालाई अवमूल्यन गरेको र सत्ताको लागि नेपाली हितमाथि सम्झौता गरेको आरोप दाहालले खेप्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.