घर घडेरी छनोटमा वास्तुशास्त्रको औचित्य

घर घडेरी छनोटमा वास्तुशास्त्रको औचित्य

वास्तुशास्त्रमा प्रकृति एवं मानव जीवनको सन्तुलन, निर्माणको सम्पूर्ण ज्ञान छ । मानव–जीवनमा पाँच तत्व (भूमि, जल, तेज, वायु, आकाश) ले सकारात्मक वा नकारात्मक प्रभाव पारिरहेका हुन्छन् । मानिसको शरीरमा कुनै पनि वस्तु र पञ्चतत्वको मात्राको समन्वय राम्रो भएन भने असन्तुलन सिर्जना हुन्छ । भूमि (घडेरी) को महत्व आफ्नै ठाउँमा भए पनि विशेष गरेर सूर्यले यस संसारमा पार्ने प्रभावलाई ध्यानमा राखेर वास्तुशास्त्र विधिको निर्धारण तथा निर्माण भएको छ । पञ्चतत्वको प्रभावलाई सन्तुलनमा राख्दै समन्वय गरेर बनाएको भवनमा बस्ने मानिसलाई सुस्वास्थ्य, सुख, समृद्धि र शान्ति प्राप्त हुन्छ ।

सूर्यको प्रकाशले सबैलाई न्यानो र जीवनदायिनी शक्ति प्रदान गर्छ । वनस्पति, प्राणी, जीवजन्तु र अन्य उपग्रहहरूलाई प्रकाशित हुने शक्ति प्रदान गर्छ । प्रकृति, वनस्पति र मानजीवनको एकअर्कामा सम्बन्ध रहेकाले प्रकृतिसँग जीवनको तालमेल मिलाउने शास्त्र नै वास्तुशास्त्र हो । पृथ्वीको गुरुत्वाकर्षण शक्ति, सूर्यको ऊर्जा, पानीको शीतलता, तेजको तरंग, वायुको प्राणदायिनी शक्तिको तालमेल नै वास्तुशास्त्रअनुसारको प्राकृतिक सन्तुलन तथा तालमेल हो ।

वास्तुशास्त्र एक व्यावहारिक शास्त्र भएकाले प्राचीन सभ्यतादेखि नै यसको प्रचलन रहेको प्रमाण शास्त्रहरूमा रहेको पाइन्छ । वैदिक ऋषिमहर्षिहरूले आत्मसात् गरेको हुनाले यसको सान्दर्भिकताको अझ बढी पुष्टि हुन्छ । जुनसुकै देशका मानिस भए पनि वास्तुशास्त्रको विधिलाई अपनाएर बनाएको घरमा बस्नाले सुख, समृद्धि र शान्ति पाएकै दृष्टिगत हुन्छ । यो वास्तुविज्ञान निर्माण र जीवनजगत्को प्रत्यक्ष तालमेलको सिद्धान्त हो ।

नेपालमा हजारौं वर्षपहिले बनेका मठ, मन्दिर, किल्ला, दरबार, पोखरी, बिहार, गुम्बाहरू वास्तु सिद्धान्तमा निर्माण भएका छन् । अहिले पनि नेपालमा बनेका हजारौं मन्दिर वास्तुशास्त्रअनुसार नै बनेका र सुरक्षित रहेका छन् । एक–अर्को वस्तुसँगको संसर्ग, सम्बन्ध, सम्मुख आगमनले उत्पन्न हुने एक किसिमको ऊर्जाको बारेमा पनि वास्तुशास्त्रले सैद्धान्तिक विश्लेषण गर्छ । ऊर्जाको परावर्तन र त्यस ऊर्जाले मानव जीवनमा पार्ने प्रभावको बारेमा ध्यान दिएर सकारात्मक तरंगको अपेक्षा राख्नु नै वास्तुशास्त्रको प्रमुख उद्देश्य हो ।

दिशा र पञ्चतत्वको अवस्था
उत्तर– पूर्व, ईशान पानी
पूर्व– दक्षिण, अग्निकोण आगो
दक्षिण– पश्चिम, नैऋत्य पृथ्वी
पश्चिम– उत्तर वायव्य हावा
उत्तर– ईशान, मध्यभाग आकाश

पञ्चतत्वको मेलमा वास्तुशास्त्रीय आधारहरू निर्माण भएका छन् । तत्वबीचको घर्षणले संसारको सृष्टिको सामञ्जस्य भएको देखिन्छ । यही वैज्ञानिक सूत्रका आधारमा मानिसको निवासस्थानको सामञ्जस्य कसरी गर्न सकिन्छ भन्ने प्रस्ट्याएको छ ।

घडेरी छनोटका आधार
प्राचीन वैदिक वास्तुशास्त्रमा घर तथा व्यावसायिक भवन बनाउने घडेरीका लागि उपयुक्त अनुपयुक्त भूमि छुट्ट्याउन निम्न कुराको गहिरो विचार–विमर्श र विश्लेषण गर्ने गरेको पाइन्छ ।

माटोको रङका आधारमा
घर बनाउन लागेको घडेरीको माटोको रङ कस्तो छ भनेर वास्तुशास्त्रका आधारमा पाँच तरिकाले परीक्षण गरिन्छ ।

ब्राह्मणी घडेरी: छुँदा नरम, हेर्दा कमेरो माटो, मीठो स्वाद दिने खालको माटो भएको घडेरी ब्राह्मणी नामले चिनिन्छ । यस्तो ठाउँमा घर बनाउनाले सुख, समृद्धि, शान्ति पाइन्छ । यस्तो घडेरी सर्वात्तम मानिन्छ ।

क्षत्रीया घडेरी: रातो माटो भएको, छुँदा अलि कठोर, चाम्रो, डल्ला–डल्ला परेको, धुजाधुजा परेर माथिमाथि चर्केको चिम्ट्याइलो भूमिलाई क्षत्रीया घडेरी भनिन्छ । यस्तो घडेरी बलवर्धक, तेज र वीरता बढाउने हुन्छ । यस्तो घडेरी उत्तम मानिन्छ ।

वैश्या घडेरी: पहेलो रङ अथवा हरियो रङ भएको, छुँदा धेरै कडा वा नरम नभएको मध्यम खालको माटोको स्वाद अमिलो–अमिलो भएको घडेरीलाई वैश्या घडेरी भनिन्छ । यस्तो घडेरीमा उद्योग व्यापारका लागि भवन निर्माण गर्न सकिन्छ ।

शूद्रा घडेरी: छुदा साह्रै अरम परेको, कठोर कालो रङ भएको, स्वाद नमीठो भएको घडेरीलाई शूद्रा घडेरी भनिन्छ । आवासका लागि यस्तो घडेरी राम्रो मानिँदैन । कुनै व्यावसायिक भवन निर्माणको काम गर्नु नै राम्रो हुन्छ । रङ, सुगन्ध, अवस्था मि िश्रत भूमिमा स्कुल, क्याम्पस र शिक्षा प्रदान गर्ने भवन निर्माण गर्नु शुभ मानिन्छ ।

नेपालमा हजारौं वर्षपहिले बनेका मठ, मन्दिर, किल्ला, दरबार, पोखरी, विहार, गुम्बाहरू वास्तु सिद्धान्तमा निर्माण भएका छन् । अहिले पनि नेपालमा बनेका हजारौं मन्दिर वास्तुशास्त्रअनुसार नै बनेका र सुरक्षित रहेका छन् ।

समतलताका आधारमा
वास्तुशास्त्रमा समतलताका आधारमा घडेरीलाई मुख्य चार प्रकारमा विभाजन गर्न सकिन्छ ।

कूर्मपृष्ठ: बीचमा अग्लो एवं चारैतर्फ भिरालो भएको घडेरीलाई कूर्मपृष्ठ (कछुवा ढाडे) घडेरी भनिन्छ । यस्तो भूमिमा आवास बनाउनाले जीवनमा सुख, समृद्धि, उल्लास र बलवृद्धि हुन्छ ।

गजपृष्ठ: जुन घडेरी चार कुना उठेको छ र बीचमा सामान्य होचो छ, त्यस्तो घडेरीलाई गजपृष्ठ (हात्तीढाडे) घडेरी भनिन्छ । यस्तो घडेरीमा निवास गर्नाले आयु, आरोग्य, ज्ञान र धनको वृद्धि हुन्छ ।

दैत्यपृष्ठ: जुन घडेरी पूर्व र उत्तरतिर अग्लो र पश्चिमतिर होचो छ, त्यस्तो घडेरीलाई दैत्यपृष्ठ (दैत्यढाडे) घडेरी भनिन्छ । यस्तो ठाउँमा आवास बनाउनाले हानि हुन्छ । विशेष गरेर चौपाया, सन्तति र आर्थिक पक्ष आदिमा समस्या उत्पन्न हुनसक्छ ।

नागपृष्ठ: पश्चिम–पूर्वमा लामो सोतो भएको, माझमा होचो, दक्षिण–उत्तरमा अग्लो भएर उठेको घडेरीलाई नागपृष्ठ (नागढाडे) घडेरी भनिन्छ । यस्तो घडेरीमा आवास गर्नाले घरमूलीको स्वास्थ्य, आफन्त, बन्धु–बान्धवसँग झैझगडा र दुःख हुन्छ ।

पत्रपत्रका आधारमा
भूमिमा माटो, ढुंगा, ग्यास, खनिज पदार्थ र पानीको समन्वय भएको हुन्छ । माटो विभिन्न चट्टान, पत्रपत्र परेको विभिन्न खालको हुन्छ । एकै ठाउँमा पनि खन्दै जाँदा विभिन्न पत्र पाइन्छ । पत्रका आधारमा भूमिलाई चार भागमा वर्गीकरण गर्न सकिन्छ:

कडा: कडा खालको पत्रले युक्त भएको भूमिलाई कडा भूमि भनिन्छ । यस्तो भूमि पानी जम्मा भए पनि धसिँदैन । यस्तो भूमि चिराचिरा भएर फुट्दैन । यस्तो भूमिमा आवास बनाउन सर्वाेत्तम हुन्छ ।

सामान्य: आकाशबाट परेको पानीलाई केही मात्रामा शोषण गर्नसक्ने, नरम खालको, चिराचिरा नभएको भूमिलाई सामान्य भूमि भनिन्छ । यस्तोमा आवास बनाउन सामान्य मानिन्छ ।

गेंगरी: बालुवा, ससाना ढुंगा मिसिएको, खस्रो खालको, चार हातदेखि सात हातसम्ममा कतै बालुवा, कतै ढुंगा, कतै कडा माटो भएको भूमिलाई गेंगरी भूमि भनिन्छ । यस्तो भूमि आवासका लागि उत्तम मानिँदैन ।

पाकिला: बाक्लो माटो भएको, विभिन्न खालका रङ भएको माटो, कतै ढर्‍याङ परेको भूमिलाई पाकिला भूमि भनिन्छ । यस्तोमा कलकारखाना बनाउनु राम्रो हुन्छ ।

दिशाका आधारमा
आवास बनाउने घडेरीको मध्य भागबाट पर्ने दिशाहरूका आधारमा पनि घरमा बास बस्नेहरूलाई प्रभाव परिरहेको हुन्छ । त्यसैले वास्तुशास्त्रमा यसका बारेमा पनि केही निश्चित नियम उल्लेख गरिएका छन् ।

घडेरी समतल ९० डिग्री कोणमा हुनुपर्छ । वर्षात् कालमा परेको पानीको बगाइ इशान कोणमा बग्ने हुनुपर्छ । वास्तुशास्त्रमा आकाशबाट परेको पानीको बहावको आधारमा पनि शुभाशुभ हेर्ने गरेको पाइन्छ । उत्तर दिशामा बग्ने भएमा धन प्राप्ति, पश्चिमतिर बग्ने भएमा सन्तानमा समस्या, दक्षिणतिर बग्ने भएमा अशुभ फल दिने हुन्छ । पूर्वतिर बग्ने भएमा सम्पूर्ण क्षेत्रमा शुभ प्रभाव पार्ने हुन्छ । जुन घडेरीमा चारै कोण मिलेको छैन, त्यस्तो घडेरी पनि अशुभ मानिन्छ । तर, ईशान कोणमा चोसे भएको र ईशान बढेको भए शुभ मानिन्छ ।

घडेरीबाट पर्ने बाटोको प्रभाव
घरको अगल–बगल पर्ने बाटोले गर्दा राम्रो घडेरीले पनि नराम्रो प्रभाव पार्ने गर्छ ।

दोबाटोको संगम: घडेरीको कुनै पनि दिशामा दोबाटोको संगम हुनसक्छ । यस्तो भएमा निम्नानुसार शुभाशुभ फल प्राप्त हुन्छ ।

घडेरीबाट पूर्व या उत्तर दिशामा दोबाटो भए कुनै दोष हुँदैन । दक्षिणमा भए सामान्य दोष र पश्चिममा दोबाटो भए सामान्य दोष हुन्छ । घडेरीलाई चारैतिरबाट बाटोले काटेको छ दोष हुँदैन । आवासको नजिक अर्थात् सय हातसम्ममा वर, पीपल आदिको रूख भएमा दोष लाग्छ ।

घरको छेउछाउमा ठूला रूख, स्तम्भ आदि छन् र त्यसको छायाँ बिहानको १२ बजेसम्म घरको छानामा पर्छ भने त्यो पनि अशुभ हुन्छ ।

घरको अगाडि दूध आउने वा काँडा भएको रूख रोप्नु हुँदैन ।

घडेरीको उत्तर, पूर्व वा ईशान कोणमा ठूलो रुख, डाँडो भएमा र त्यसको छाया घरको छानामा परिराखेमा साथै दैलोअगाडि ठूलो खाँबो ठडिएको भएमा पनि दोषयुक्त हुन्छ । घडेरीको पश्चिम, दक्षिण अथवा आग्नेय कोणमा कुनै जलाशय, खाल्डो, पुलपुलेसा आदि भएमा घडेरी दोषयुक्त मानिन्छ ।

कुनै पनि पानीको मूल पूर्व दिशामा छ र त्यसको बगाइ अर्थात् निकास पश्चिमदेखि पूर्व या दक्षिणदेखि उत्तरतिर छ भने दोष लाग्दैन ।

घडेरीको छेउछाउमा झाडी, पुरानो किल्ला, राजप्रासाद (राजदरबारको भग्नावशेष) हुनु राम्रो हदैन । पुराना इँटा, किल्ला, श्मशानका दाउरा पनि घरमा पर्नु हुँदैन अर्थात् प्रयोग गर्नु हुँदैन ।

घडेरीमा जग खन्दा, डोब खन्दा, शालिग्राम, शंख आदि आकृति भएका पत्थर, कछुवा, शुभ धातु, सग्ला इँटा, स्वर्ण, आभूषण, सिक्का आदि प्राप्त भएमा शुभ मानिन्छ ।

घर बनाउनुपूर्व विचारणीय कुराहरू
आवासका लागि वा अन्य कुनै प्रयोजनका लागि निर्माण गरिने भवन र प्रतिष्ठान आदिको घडेरी लिँदा गृहप्रवेशदेखि आन्तरिक सजावट र कोठा निर्धारणसम्म ध्यान दिनुपर्छ । त्यसमा पनि वास्तुशास्त्रअनुसार उपयुक्त घडेरी खरिद गर्नुपर्छ । शुभमुहूर्तमा निर्माण कार्य प्रारम्भ गर्नुपर्छ । मानिसको पञ्चतत्वसँग नजिकको सम्बन्ध भएकाले मानवको जीवनमा पञ्चतत्वले महत्वपूर्ण प्रभाव पार्छ ।
भूमि: विभिन्न कोणबाट शुभ भूमि चयन गर्नुपर्छ ।
पानी: भवन निर्माणदेखि नै पानी चाहिने भएकाले पानीको स्थान पूर्वाेत्तर अर्थात् ईशान कोणमा उचित मानिन्छ । इनार कुवाका लागि ईशान कोणमा पानीको स्रोत बनाउनुपर्छ । पानीको स्रोत निर्माणका लागि पर्याप्त जग्गा पनि घर बनाउनुपूर्व नै छोड्नुपर्छ । ईशानमा पानीको स्रोत निर्माण गर्न सम्भव छैन भने ट्यांकीको पानी ईशानमा झर्ने गरी एउटा धारो बनाउनुपर्छ ।

वायु: वायु (हावा) प्राणिक ऊर्जा, प्राणदायिनी शक्तिको रूपमा वायुलाई बुझिन्छ । भौगोलिक बनावटका आधारमा घरभित्र या बसोबास गर्ने ठाउँमा शुद्ध हावाको प्रवेश अनिवार्य आवश्यकता हो । शुद्ध वायु नै जीवनदायिनी शक्ति हो । भवनको खपाइका लागि पनि पश्चिमोत्तर वायव्य कोणमा खाली ठाउँ हुनु परम आवश्यक मानिन्छ ।

अग्नि: अग्नि (तेज) तीन प्रकारका हुन्छन् । सूर्यको प्रकाशलाई प्राकृतिक, जलबाट उत्पन्न कृत्रिम, पेटभित्र रहने जठराग्निलाई अग्निका रूपमा परिभाषित गरिएको पाइन्छ । अग्निको स्थान आग्नेय कोण हो र त्यही दिशामा भान्छा, जेनेरेटर, विद्युत्का सामान र तापसँग सम्बन्धित सम्पूर्ण उपकरण दक्षिणपूर्व आग्नेय कोणमा स्थापित गर्नुपर्छ ।

आकाश: शब्दगुणकम् आकाशम् शब्द र गुणले सहित भएको नै आकाश हो । आकाश शब्दले खुलापन भन्ने अर्थ बुझाउँछ । ध्वनिलाई गति दिने र विस्तारित हुन सघाउने नै आकाश हो । निर्माण गर्दा घरको चारैपट्टि खुला छोड्नु उपयुक्त मानिन्छ । सुस्वास्थ्य, दीर्घायु र सुखशान्तिका लागि घरवरिपरि वृक्षरोपण अत्यावश्यक छ । सुखशान्ति र समृद्धिका लागि सम्पूर्ण तत्वको तालमेल मिलाएर बस्नु नै सफल जीवनयापन गर्नु हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.