छड्के जाँचमा अस्पताल पुगे गगन
काठमाडौं: अस्पतालको अवस्था बुझ्न स्वास्थ्यमन्त्री गगन थापा काभ्रे पुगेका छन् । उनले काभ्रेको बनेपा घोकेचौरस्थित शिर मेमोरियल अस्पताल र बुडोलमा रहेको रेयुकाई एइको मासुनागा खाँखा अस्पतालको निरिक्षण गरेका छन् ।
अस्पताल पुगेका मन्त्री थापाले बिरामीहरुको स्वास्थ्य अवस्थाका साथै अस्पतालले गरिरहेको उपचारका बारेमा पनि जानकारी लिएका थिए ।
बिरामीले पाएको स्वास्थ्य सुविधाको जानकारी लिएर गगनले समुदायको सक्रियतामा अस्पतालले दिएको सेवा प्रेरणादायी रहेको बताए । सरकारले पनि सामुदायिक अस्पताललाई सहयोग गर्नेभन्दै सामुदायिक अस्पतालसँग सहकार्य गरेर अघि बढ्ने बताए । सामुदायिक अस्पतालको विकासका लागि सँधै आफू लागि पर्ने उनले बताए ।
अस्पतालको अवस्थाका बारेमा प्रशासनसँगको जानकारी लिएका गगनलाई शिर मेमोरियल अस्पतालका कार्यकारी अधिकृत डेलएम मोलेले अस्पताललाई सरकारी सहयोग नभएको र काभ्रेमा मुटुरोगी बढे पनि सेवा दिने विशेषज्ञको अभाव रहेको गुनासो गरेका थिए ।
सरकारको पहिलो प्राथमिकता निर्वाचन
त्यस्तै अरनिको यातायात समितिको ४५ औं साधारण सभामा भाग लिन पुगेका स्वास्थ्यमन्त्री थापाले वर्तमान सकारको पहिलो राष्ट्रिय प्राथमिकता निर्वाचन नै भएको बताएका छन् ।
संविधान निर्माणमा सबै राजनीतिक दल एकत्रित भएझै जस्तै संविधान कार्यान्वयनका लागि पनि त्यस्तै भूमिका निर्वाह गर्नुपर्नेमा थापाको भनाई थियो ।
थापाले भने-'स्थानीय निर्वाचन, प्रादेशिक निर्वाचन र संसद्को निर्वाचन निर्धारित समयमा नभए हामी सबै पराजित हुन्छौ ।'
मधेसमा काँग्रेस, एमाले र माओवादीका नेता नै निर्वाचित भएर आएकाले मधेसको विषयमा भ्रम नछर्न मधेसी नेतालाई आग्रह गर्दै स्वास्थ्यको क्षेत्रमा नागरिकले परिवर्तनको अनुभूति हुने गरी काम गर्ने आश्वासन दिए ।
प्रतिक्रिया दिनुहोस !