सम्पन्नता पर्खिरहेको देश
प्रकृति र प्रविधि जति अनुकुल भए पनि मानव मस्तिष्कबाट मात्र तिनको जतन, प्रयोग र उपलब्धि सम्भव हुन्छ । यही शाश्वत सत्य स्विकारेर मानवले मानवका लागि मानवीय आधारमा सुविधा, सभ्यता, सम्पन्नता हासिल गर्दै अघि बढेको हो । तसर्थ मानव संसाधनको अगुवाइबाट मात्र मुलुकमा विद्यमान सम्भावनालाई समृद्धिमा रूपान्तरण गर्न सम्भव हुन्छ ।
दर्शन, ज्ञान र विज्ञान-प्रविधि मानव मस्तिष्कबाट सिर्जना भएका आयाम हुन् । सूक्ष्मदेखि विशाल विषय, संरचना वा सिर्जना मानवबाटै सम्भव भएका हुन् । देख्नि नसक्ने कुरा देख्ना सक्ने, विश्वास नलाग्ने कुरामा विश्वाइस दिलाएर र असम्भवलाई प्राप्त गर्न सम्भव बनाएर मानव सभ्यता यो उचाइमा उक्लिएको हो ।
मानव संसाधन तीन प्रकारले संगठित हुन्छ । नेतृत्व तह, व्यवस्थापन तह र उत्पादन तह । यी तीन तहमा संगठित मानव संसाधन परिवार, समाज र कार्यस्थल गरी तीन ठाउँमा उपयोग हुन्छ ।
नेतृत्व तह सबैभन्दा उपल्लो र जिम्मेवार तह हो । सार्वभौम जनताको माया, मत र विश्वासले यो तहको विकास हुन्छ । नेतृत्व तह परिकल्पना-परिदृश्य-प्राप्तिको दर्शनबाट आलोकित भई दूरदृष्टि तय गर्न सक्षम एवं तय गरिएको दूरदृष्टिमा पुग्न सिपालु, साहसी र समर्पित हुनुपर्छ । लोकतन्त्रमा नेतृत्वको विकासक्रम राजनीतिक दलको सदस्यता प्राप्ति, जिम्मेवारी सम्पादन र जवाफदेहिता बहनबाट प्रारम्भ हुन्छ ।
दलको नेतृत्वबाट राष्ट्रको नेतृत्वमा पुग्दा उत्कर्षता हासिल हुन्छ । तसर्थ नेतृत्व तह सदैव राजनीतिक प्रक्रियाबाट विकसित हुने रूप हो । नेतृत्वले समग्र राष्ट्रिय जीवनलाई प्रभावित पार्छ । यस क्रममा ग्राउन्डमा व्यवस्थापन तह र उत्पादन तहलाई र ग्राउन्डमा राज्यका नागरिकदेखि हरेक संगठित समूह, निकाय वा संस्थालाई नेतृत्व तहले सम्हाल्नुपर्छ । सबैलाई उप्रेरित, सुसज्जित र निर्देशित गरेर राज्य सञ्चालनमा सहभागी गराउनु नेतृत्व तहको मुख्य कार्यभार हो ।
बहुलवादी समाजमा हरेक व्यक्तिको सोच, सीप र संस्कार अर्कोसँग मेल नखाने हुन्छ । मेल खाने तत्व पहिल्याएर 'टिम' निर्माण गर्दै जानुपर्छ । विभिन्न स्वाद भएका फलफूल मिलाएर फ्रुट्स सलाद बनाएजस्तै हो टिम निर्माण कार्य । यसमा कुशलता चाहिन्छ टिमलाई टास्क सम्पादनमा सफल बनाउन तालुक तहको लागि चुनौतीपूर्ण जिम्मेवारी हो । त्यसैले नेतृत्व तहबाट व्यवस्थापन तह र उत्पादन तहलाई टिम-टास्क-टाइमको संयोजन गरेर तय गरिएको दूरदृष्टिउन्मुख नतिजा निकाल्नमा केन्द्रित गर्न अत्यन्त मेहनतका साथ लागिरहनुपर्छ ।
नेतृत्व तहको सीप, साहस र सफलताको समीक्षा गर्दा राजनीतिक फाँटमा नेतृत्व तहले मुलुकलाई सम्हाल्न सक्दै नसकेको अवस्था होइन । राजनीतिक एजेन्डाको व्यवस्थापन सकारात्मक रूपबाटै भएको पाइन्छत । 'रुटिन' ढिलोचाँडो भए पनि 'रिदम' मिलेको छ । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र भएको छ । नेपालको संविधान, २०७२ ले राजनीतिक विषयलाई संस्थागत गरेको छ । यही दृष्टान्तले नेतृत्व तहको क्षमता प्रमाणित हुन्छ ।
आर्थिक सामाजिक फाँट (जसलाई विकास भनेर सबैको बुझाई रहेको छ) लाई नियाल्दा भने राजनीतिक नेतृत्वमा केही प्रवृत्ति विकास भएको छर्लंग देखिन्छ । बहुलवादी समाजमा बहुदलीय राजनीति हुनु लोकतन्त्रको सुन्दर पक्ष हो । बहुदलमा विकसित नेतृत्वका बीचमा माया, मर्यादा र महत्त्वाकांक्षा हुनु लोकतन्त्रको आदर्श पक्ष हो । राजनीतिक दलहरूबीचको अन्तरसम्बन्धबाट लोकतन्त्रका सुन्दर तथा आदर्श पक्ष सधैँ सिञ्चित, पोषित र पालित हुँदै अघि बढेको देखिन्छ ।
तिक्तता वा तिरस्कारलाई छिटै बिर्सेर मित्रता र स्वीकारलाई अँगालेका उदाहरण प्रशस्त भेटिन्छन् । यो अत्यन्त राम्रो पक्ष बनेको छ दलहरूका बीचमा । तर दलहरूका बीचमा जब सत्ताको विषय प्रवेश गर्छ, अनि विवाह र विच्छेदको शृंखला दोहोरिइरहन्छ । नेतृत्वले प्रतिज्ञा गर्छ, प्रयोग गर्छ र प्रायश्चित गर्छ । सत्ता सञ्चालनमा यही देखिएको छ । प्रक्रिया सुरु हुन्छ परिमाण आइसकेको हुँदैन तर परिवर्तन भइहाल्छ ।
त्यसैले सत्तामा भित्रिँदाको प्रतिज्ञा र बाहिरिँदाको प्रायश्चित्तका साक्षी भएका नेपाली जनता सम्पन्नताको न्यानो कहिले प्राप्त होला भनेर पर्खिरहेका छन् । नेतृत्व तहले समग्रता सम्हाल्ने हो । यो तह अस्थायी, अस्थिर र अव्यवस्थित हुँदा व्यवस्थापन तह र उत्पादन तह स्थायी, स्थिर र व्यवस्थित हुन सक्दैन । यहाँनेर अझ स्पष्ट रूपमा के बुझ्नपर्छ भने नेतृत्व तह निर्वाचन प्रक्रियाबाट सत्तामा पुगेको हुन्छ । जनताले जति अवधिका लागि 'म्यान्डेट' दिएका हुन्छन् त्यति अवधिको लागि सत्ताको नेतृत्व स्थायी र स्थिर हुनुपर्छ । यी मापदण्डलाई सत्ता साझेदारले 'बटमलाइन' बनाउनुपर्छ ।
नेतृत्व तह, व्यवस्थापन तह र उत्पादन तह गरी तीनै तह मानव समूहबाट बनेका समूह हुन् । मेसिनलाई 'मेथड' भए पुग्छ, तर मानवलाई 'मोटिभेसन' पनि चाहिन्छ । 'मेथड' र 'मोटिभेसन' लाई सँगै हिँडाउने विषय नेतृत्व तहबाट सम्पादन हुनुपर्छ । नेतृत्व तहले मेथड र मोटिभेसनलाई मानव संसाधनमा कुशल रूपमा प्रयोग गर्न नसक्ने हो भने इच्छा, ऊर्जा र समर्पण निष्क्रिय बन्छ । अहिले नेपालमा देखिएको समस्या भनेकै यहींनेर छ । नेतृत्वले व्यवस्थापन र उत्पादन तहका मानव समाधानको जाँगर, जोस र जीवन्तता जगाउन आवश्यक पर्ने सुरक्षा, सुविधा र मर्यादाका विषयमा गहिरिएर सोच्ने, उपाय, विधि र तरिका पहिल्याउने र राज्यसुहाउँदो वैज्ञानिक, व्यवस्थित र प्रशंसनीय प्रबन्ध गर्न सकेको छैन ।
नेतृत्व तहका व्यक्तिले व्यवस्थापन वा उत्पादन तहका व्यक्तिविशेषलाई चिन्ने, राम्रो ठान्ने र प्रोत्साहन गर्ने कार्य भएका छन् । तर टिम र टास्कलाई समयमा, सही तरिकाले समग्रतामा हाँक्न नसकेको अवस्था छ । यही कारणले जनताले अपेक्षा गरेको नतिजा हासिल हुन सकेको छैन । यही आरोपबाट जोगिन नेतृत्व तहबाट व्यवस्थापन तह र उत्पादन तहलाई दोष थुपार्ने कोसिस गरिन्छ । सत्य के हो भने पाउमा पानी खन्याएर शिरको मैलो पखालिँदैन ।
नेपालको व्यव्थापन तह योग्यको समूहबाट बनेको छ । उमेरको हिसाबले जवान बन्दै अघि बढेको छ । योग्यताका दृष्टिले पनि देश विदेशको डिग्री भएकाहरू धेरै छन् । विदेश नघुमेका र नदेखेका त बीउ चाहिए पनि भेट्न सकिँदैन । समावेशी हुँदै गएको छ । तर नेतृत्व तहको परिवर्तन वा गठबन्धनको हेराफेरीले विवाह हुँदा जन्ती भएर रमाउने र विच्छेद हुँदा साक्षी भएर ओइलाउने मनोविज्ञानबाट ग्रसित छ । न यसले आफ्नो मापदण्ड निर्धारण गर्न सकेको छ न त सिर्जनशील भएर जनतालाई छुट्टै पहिचान दिएर प्रशंसा बटुल्न सकेको छ ।
नेतृत्व तहमा एउटा अर्को चरित्र पनि विकास हुँदै गएको छ । त्यो के भने नेतृत्व तहले सत्तामा रहँदा क्राफ्टेडभन्दा ग्राफ्टेडलाई बढी विश्वास गर्छन् । त्यसैले निजी सचिवालय सत्तामा शक्तिशाली भएर सक्रिय हुन्छ । न शपथ, न लोक सेवा पास न जवाफ दिनुपर्ने, तर जिम्मेवारीमा हालीमुहाली गर्न पाइने यो परिपाटीले सबैभन्दा पिरोलिएको तह भनेको व्यवस्थापन तह हो । 'अथोरिटी विदाउट एकाउन्टाबिलिटी' बाट निरन्तर प्रकट हुने चासो र पटकपटक हुने हस्तक्षेपले मुलुकको राज्य संयन्त्र तदर्थको बाटोबाट गुज्रिरहेको छ । यही अस्वाभाविक परिस्थितिले कर्मचारी प्रसन्नतापूर्वक काममा लाग्ने अवस्थाबाट अनिच्छापूर्वकको आज्ञाकारिता व्यहोर्न बाध्य छन् ।
निष्कर्षमा नेतृत्व तह स्वयंले रोल (रेस्पोन्सिबिलिटी र रिसोर्स) लाई रुटिन दिँदा मात्र रिजल्ट निकाल्न सकिन्छ भन्ने विश्वासलाई गहिरो बनाई सत्ता संरचनामा संलग्न हुने संस्कार विकास गर्दै लैजानुपर्छ । यसैगरी व्यवस्थापन र उत्पादन तहलाई पनि रुटिन र रिदम मिलाएर रिजल्ट निकाल्न निरन्तर उत्प्रेरक, निर्देशक र नियन्त्रक भएर नेतृत्व तह लागिरहनु उचित हुन्छ । यसरी अघि बढ्दा सम्भावनाले सजिएर सम्पन्नता पर्खिरहेको प्रत्येक नेपाली नागरिक राष्ट्रनिर्माणमा एकजुट हुनेछन् । लोकतन्त्र, सुशासन, विकास र समृद्धिको यात्रा अकण्टक भइरहनेछ । सम्पन्नता निरन्तर उकालो लागिरहनेछ ।
-अधिकारी पूर्व सहसचिव हुन् ।