दल खारेजी

दल खारेजी

निर्वाचन आयोगले एउटा महत्त्वपूर्ण अर्थ राख्ने तर सामान्य प्रक्रियामार्फत सकारात्मक निर्णय लिएको छ । नेपालको राजनीतिक बजारमा कागजी अस्तित्वमा रहेका केही दलहरूको रजिस्ट्रेसनलाई उसले खारेज गरेको छ भने बाँकी केहीलाई जरिवाना गरेको छ ।

नेपाल राजनीतिक दलहरूको संख्याको हिसाबले अत्यन्त धनी मुलुकमध्ये पर्छ । संसद्भित्र झन्डै तीन दर्जन दलहरू छन् विभिन्न आकार र संख्यामा भने झन्डै पाँच गुण बढी दलहरू संसद्बाहिर अर्थात् निर्वाचन आयोगको सूचीमा छन् । तीमध्ये अधिकांशको जनताबीच उपस्थिति छैन । नेपालले अँगालेको राजनीतिक पद्धति र गत वर्ष पारित संविधानमा राजनीतिक दलहरूको महत्त्वपूर्ण भूमिका सुनिश्चित गरिएको छ ।

दलहरू राजनीतिक व्यवस्था तथा सरकार सञ्चालनका महत्त्वपूर्ण वाहक हुन् । त्यस अर्थमा राजनीतिक दलहरू व्यवस्थित, नियमद्वारा सञ्चालित र आन्तरिक प्रजातन्त्रको थलो बन्न सकेमा मुलुकको राजनीति र शासनमा पनि त्यसको प्रत्यक्ष सकारात्मक प्रभाव पर्न जान्छ । तर संविधान निर्माणमै राजनीतिक दलहरू र जनताबीचको दूरी सुनिश्चित गरिएको छ ।

राजनीतिक दलहरूको वैधानिक अस्तित्व सुनिश्चित गर्नको लागि न्यूनतम मत प्रतिशत (थ्रेसहोल्ड) प्रावधान संविधानमा राख्नुपर्ने माग विभिन्न जनमञ्चहरू र संविधानलाई अन्तिम स्वरूप दिनुपूर्व प्रतिबद्धताविहीन औपचारिकतास्वरूप संकलन गरिएको 'राय सुझाव' मार्फत अत्यधिक संख्यामा जनताले उठाएका थिए ।

सरकारले या संविधानसभा सचिवालयले ती सबै राय सुझाव लुकायो किनकि 'थ्रेसहोल्ड' सँगै संघीयता, गणतन्त्र र धर्म निरपेक्षताविरुद्ध पनि ठूलो संख्यामा राय सुझाव आएका थिए, तर 'अग्रगमन' जबर्जस्ती स्थापित गर्ने मान्यता बोकेका दलहरूले ती राय सुझाव लुकाउनुमा नै आफ्नो अभीष्ट साधना देखे ।

राजनीतिक दलहरू नेता, नीति र जनअनुमोदनविना चल्दैनन् । त्यसैको अभाव संविधान घोषणा भएको एक वर्षको अवधिमा निर्वाचन आयोगले ११ दलहरू खारेज गरेको छ, लगातार तीस वर्षसम्म वार्षिक आयव्यय हिसाब आयोगसमक्ष पेस नगरेकोमा । त्यस्तै कानुनले तोकेअनुसार आयव्ययको वार्षिक विवरण पेस नगरेकाले संसद्मा उपस्थिति नभएका ८२ र त्यसभित्र उपस्थित रहेका पाँच दललाई एक सय एक रुपैयाँ जरिवाना गरेको छ आयोगले ।

आखिर किन पूरा गरेनन् कानुनले तोकेको दायित्व यी दलहरूले ? राजनीतिक दलहरूमा दण्डहीनताको प्रवृत्ति मौलाएको मात्र हैन, त्यसले संस्थागत स्वरूपसमेत लिएको छ । संसद् जनताद्वारा प्रत्यक्ष र परोक्ष रूपमा निर्वाचित भए पनि संसद्प्रति मन्त्रिपरिषद् कमै जिम्मेवार रहेको देखिन्छ, व्यवहारमा ।

जब मन्त्रिपरिषद् संसद्प्रति जिम्मेवार हुँदैन, संसद् या त्यसबाट सदस्यहरूले जनताप्रति उत्तरदायी हुने आवश्यकता नदेख्नु स्वाभाविक हो । यो संवैधानिक विकृति तथा विचलनको मुख्य स्रोत राजनीतिक दल र तिनका नेतृत्व हुन् । कानुनअनुसार आयव्यय विवरण नदेखाउने दलहरूको संख्या कुल दल संख्याको ५० प्रतिशतभन्दा बढी हुनुले पनि दलहरूमा कानुनप्रति बढ्दो उदासीनता र त्यसले मुलुकको आम राजनीतिमा पार्ने प्रभावबारे अड्कल लगाउन सक्तैन ।

हरेक नेताको निजी महत्त्वाकांक्षाको लागि दर्ता हुने र कागजी अस्तित्वमा दलहरूलाई राखिराख्नुपर्ने संवैधानिक बाध्यतालाई अस्वीकार गर्नैपर्छ । गत वर्ष जनताको राय सुझाव संकलनका क्रममा आएका सुझावहरूलाई अझै पनि संविधानमा समावेश गरिनु आवश्यक छ । मुलुकले धान्न नसक्ने कानुन नमान्ने र बेथिति बढाउने राजनीतिक दलहरूलाई जिउँदो राख्नु प्रजातन्त्रकै स्वास्थ्यको लागि पनि अन्ततः हानिकारक सावित हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.