‘भारतसँग गरिएका २५ बुँदे सम्झौतापछि नेपाल भुटानीकरणको बाटोमा’
![‘भारतसँग गरिएका २५ बुँदे सम्झौतापछि नेपाल भुटानीकरणको बाटोमा’](https://annapurnapost.prixacdn.net/media/albums/baburam-bhattarai-57ea5f3206e097.57065489_4c5j2i476h.jpg)
काठमाडौंः नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग गरेको २५ बुँदे सम्झौताप्रति असहमति जनाएका छन्। उनले भारतसँग गरिएका २५ बुँदे सम्झौताले नेपाललाई भुटानीकरणका बाटोमा पुर्याएको आरोप समेत लगाए।
काठमाडौंमा मंगलबार नयाँ शक्ति पार्टी, नेपालको प्रशिक्षण विभागले आयोजना गरेको अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सम्झौताविरुद्ध आफ्नो पार्टीले सशक्त आन्दोलन गर्ने बताए।
भट्टराईले नेपालमा संसदीय व्यवस्था अस्थिर भएकै कारण गरिबी र पछौटेपन हट्न नसकेकाले अब शासकीय स्वरुप परिवर्तनका लागि आन्दोलनको तयारी गर्न लागेको बताए। उनले अस्थिर प्रकारको शासकीय स्वरुपको अन्त्य गर्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीका निम्ति सशक्त आन्दोलनको तयारीमा लागेको जानकारी दिए।
भट्टराईले नयाँ शक्तिलाई स्थापित गराएर आगामी निर्वाचनबाट आफ्नो शक्तिलाई राजनीतिक रुपमा वैकल्पिक शक्तिका रुपमा जनताबीच स्थापित गर्ने बताए। भट्टराईले बदलिएको परिस्थति अनुरुप नयाँ शक्तिलाई विकसित गर्दै सँधै नयाँ शक्तिकै रुपमा स्थापित गर्ने लक्ष्य आफूहरुले लिएको भन्दै नयाँ शक्ति आर्थिक, सांस्कतिक र आचरणका हिसाबमा पनि खुल्ला र पारदर्शी शक्ति हुने बताए।
भट्टराईले नेपालको विकासमा आन्तरिक राष्ट्रिय एकता कायम गर्नुपर्ने र सँगसँगै बाह्य राष्ट्रियताको पक्षमा समेत ध्यान दिनुपर्ने बताए। नेपाल पृथ्वीनारायण शाहले भनेजस्तो दुई ढुंगाको तरुल नभई आर्थिक रुपमा सम्पन्न दुई ठूला राष्ट्र चीन र भारतबीचको गतिशील पुल भएको उनको भनाई थियो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)