मरेपछि के हुन्छ ?

मरेपछि के हुन्छ ?

आजभोलि हाम्रो समाजमा मरेपछि के भइन्छ ? गएका फर्केर आएको किन देखिँदैन ? जस्ता प्रश्न गर्नेहरू धेरै भेटिन्छन् । यी दुई जटिल प्रश्नको उत्तर वेद, उपनिषद् ब्रम्हसूत्र गीताले दिन्छन् । भाषाको कठिनाइले गर्दा तिनको अध्ययन गर्न सहज नभएकोले विद्वतवर्गलाई बाहेक सर्वसाधारणलाई थाहा नहुनु अस्वाभाविक भएन । 

sambhu-aryal

जन्म र मृत्यु दिनदिनै देखिने विषय भएकाले यो प्रत्यक्ष छ । पुनर्जन्म, मोक्ष सम्बन्धमा भने प्रत्यक्ष प्रमाण नभएकाले यो विषय अनादिकालदेखि विवादास्पद बन्दै आएको देखिन्छ । मुमुक्षु बालक नयिकेताले मृत्युतत्त्वका अधिष्ठान यमराजसँग तीनवटा वर माग्दा एउटा वर मरेपछि कसैले रहिन्छ भन्छन्, कसैले रहिँदैन भन्छन् । यस विषयका 'सत्य के हो मलाई बताइदिनुहोस्' भन्दै प्रश्न गर्दा यमराजले 'यो विषय जान्न सजिलो छैन, योगविद्या (ध्यानविधि) द्वारा जान्न सकिन्छ ।जसले पूरा अन्धो भई परलोकलाई नमानी जे छ यसै लोकमा छ, मरेपछि कर्मफल भोग्न पर्दैन भन्दछ, त्यो बारम्बार जन्मने मर्ने गर्दछ । जसले आत्मालाई नित्य सम्झी परलोकलाई ध्यान दिई सत्कर्म गर्दछ, त्यो जन्म मरणको चक्रबाट छुट्दछ । आत्मा नित्य छ । त्यो न जन्मन्छ, न मर्दछ' भन्ने जवाफ दिएको कठोपनिषदमा पाइन्छ ।

कलियुगको प्रभाव तथा वैज्ञानिक आविष्कारले हिजोआज भौतिकवादको सिद्धान्त अर्थात जुनजुन तत्त्वले शरीर बनेको छ ती ती तत्त्व मूलतत्त्वमा मिलेपछि चेतन पनि नष्ट हुन्छ । चेतन भनेको त जड पदार्थको वैज्ञानिक तथा रासायनिक प्रक्रियाद्वारा उत्पन्न हुने हो भनी शरीर र आत्मालाई अलगअलग नमानी जे छ यसै जन्ममा छ, पुनर्जन्म हुँदैन भन्ने तत्त्व नेपालमा पनि देखिन थालेको छ । त्यस्ता व्यक्तिले ईश्वरको सत्ता, महत्ता पुनर्जन्म तथा परलोकगमनलाई स्वीकार गर्दैनन् ।

तिनीहरूले प्रत्यक्ष देखिनेलाई मात्र सत्य मान्दछन् । हिन्दु धर्मशास्त्र (दर्शन) को भनाइ भने संसारका सबै वस्तु प्रत्यक्ष हुन सक्दैनन् । शब्द तथा अनुमान प्रमाणलाई पनि स्वीकार गर्नुपर्दछ । जस्तो आफू जन्मनुभन्दा पहिला दिवंगत (मरिसकेका) भइसकेका बाजे, जिजुबाजेहरूलाई आफूले नदेख्दैमा थिएनन् भन्न मिल्दैन । बाबु भएपछि बाजे, जिजुबाजे पनि थिए भनी स्वीकार गर्नुपर्दछ । पहाडको टुप्पामा धुवाँको मुस्लो देखियो भने त्यहाँ आगो अवश्य छ भनेर मान्नुपर्दछ भन्नेछ ।

पहिले पहिले यो ब्रह्माण्डमात्र छ भन्ने वैज्ञानिहरूले हाल आएर यस्ता ब्रह्माण्ड अनन्त अनन्त छन् भन्न थालेका छन् । यत्रो ठूलो ब्रह्माण्ड तिनमा हुने ग्रह नक्षत्रहरू आ-आफ्नो कक्षमा प्रतिक्षण गतिमान छन् । तिनका काममा एकक्षण पनि अनियमितता छैन । एक आपसमा ठक्कर खाँदैनन् । हामीले प्रत्यक्ष देख्दैनौं भन्दैमा यिनलाई धारण गर्ने, नियन्त्रण गर्ने कुनै तत्त्व छैन भन्न सकिन्छ र ? सकिँदैन । हाम्रा पूर्वज त्रिकालदर्शी ऋषिहरूले वेदको आश्रय लिएर ध्यान विधिद्वारा आत्मा, ईश्वर, लोक लोकान्तरको साक्षात्कार गरी लोक कल्याणको लागि लेखेका शास्त्रहरूले सृष्टि पालन संहार गर्ने जुन अव्यक्त सत्ता छ, त्यसलाई नै ईश्वर मानेका छन् । शास्त्रको आधारमा हिन्दुहरूले अनादिकालदेखि जन्म मृत्युको चक्र चलिरहेको मान्दै आएका छन् ।

समाजमा कैयौं धार्मिक कुराहरू हाल प्रचलनमा छैनन्, तापनि ऋषिहरूले भनेका कुरा केही मात्रामा अहिलेका वैज्ञानिकहरूले सिद्ध गरिरहेका छन् । गीताको एक सय ५० भाषामा अनुवाद गरी अनुसन्धान गर्दैछन् । हामीकहाँ भने लौ मलाई देवता, स्वर्ग, नरक, लोक, परलोक कहाँ कस्ता छन् देखाइदेऊ, स्वर्ग अथवा नरक भोगेर त्यहाँ को आएको छ, भेटाइदेऊ भन्दै बटारिएका कुरा गर्ने भेटिन थालेका छन् । यी त सर्वसाधारणका भनाइ हुन् ।

अहिलेको बाहिरी दुनियाँसँगको सम्पर्क र सहरी वातावरणले गर्दा टुपी काटिइसकियो, जनै फालिसकियो, गायत्री मन्त्र जप्न छोडियो, बाँकी रहेको मृत्युपश्चात्लाई अति आवश्यक पर्ने अन्त्येष्टि किरिया पनि गरुड पुराणअनुसार १३ दिनसम्म गर्दै आएकोमा समयसापेक्ष बनाउने भन्दै दिन छोट्याएर ७ दिनमा ५ दिनमा गरे हुन्छ भनी मृत्यु संस्कारमा सुधार आवश्यक भन्दै समाजका प्रतिष्ठित व्यक्तिहरूले पनि आफ्ना पुर्खाले धर्मशास्त्रअनुसार धान्दै आएको कुल परम्परालाई छोड्दै पाँच दिनमा काम सम्पन्न गर्नुभयो भन्ने पत्रिकामा छापिन थालेको छ ।

किरिया गर्ने वा नगर्ने, दिन छोट्याएर गर्ने वा १३ दिनसम्म गर्ने यो व्यक्तिको स्वतन्त्रता हो । तथापि म पनि हिन्दु धर्मावलम्बी ब्राह्मण जातिको भएको र यी समाचारले हिन्दु संस्कृति र संस्कारलाई जरैदेखि हल्लाउन खोजेको देख्दा खिन्न भएको छु । आ-आफ्नो पहिचान सबै मनुष्यको हुन्छ । हामीले आफूलाई हिन्दु भनेर चिनिने सबै संस्कार निमिट्यान्न भए भने आफूलाई हिन्दु भनेर के आधारले भन्ने ? अब हामी हिन्दु धर्मशास्त्रअनुसार किरिया गर्न चाहनेले १३ दिन लगाएर गर्ने अथवा दिन छोट्याएर सक्ने भन्ने निर्णय गर्नुभन्दा पहिला क्रिया गर्नुपर्ने कारण सम्बन्धमा जानकारी लिन आवश्यक छ । नलिई किरिया गर्दा विधि पुग्न सकेन भने किरिया गर्नु निरर्थक हुन्छ । यस विषयमा विश्व हिन्दु महासंघबाट निक्र्योल गरी जानकारी गराइदिन अनुरोध गर्दछु ।

आत्मा मर्दैन, मानिस मर्नु भनेको सूक्ष्म शरीर (चिदाभाष) ले स्थुल शरीरलाई छोडी कर्मफल भोग्न लोकात्तरमा जानु हो । यसले यो शरीरलाई छोडेपछि तत्काल अर्को देह आविर्भुत (उत्पन्न) हुन्छ । यो प्रेत देह, पितृदेह, देवदेह जुन पनि हुन सक्छ । तथापि धेरैजसोको तेज वायु आकाशबाट बनेको पहिलाको शरीर जस्तै रूपरंग अवस्था आकारको देह हुन्छ । यसलाई वायवीय शरीर भन्दछन् । प्रेत शरीर भनेको यही हो । यो केवल मनुष्यलाई मात्र प्राप्त हुन्छ । पशुपक्षीलाई हुँदैन ।

सूक्ष्म शरीर शक्तिस्वरूप भए पनि वासनायुक्त मन तत्त्वको प्रधानताले भौतिक शरीरको सहायता बिना सक्रिय रहन सक्दैन । एक ठाउँबाट अर्को ठाउँ जान सक्दैन । १० दिनसम्म पिन्ड दिएपछि त्यसको परमाणुबाट अर्को शरीरको निर्माण हुन्छ । यसमा सूक्ष्म शरीर प्रवेश गरेपछि नयाँ अतिवाहक नामको शरीरले भोग गर्ने लोकमा लैजान्छ । त्यहाँ कर्मानुसारको अर्को दिव्य शरीर अथवा यातना शरीर प्राप्त गर्दछ र भोग सम्पादन हुन्छ ।

धर्मशास्त्रअनुसार त्यसै बखत विधिपूर्वक षोडष श्राद्ध आदि पिण्डदान भएन भने त्यसको प्रेतत्वभाव छुट्दैन । नछुटेपछि गरुणपुराण १२/६९ श्लोक अनुसार पुण्यफल भोग्न जान त कता हो कता पापकर्मको फल नरक यातना भोग्न जान पनि पाउँदैन । नरक यातना भोग्न नपाएपछि ८४ लाख योनीको क्रममा फेरि मनुष्ययोनी प्राप्त गर्न सक्दैन । मनुष्ययोनी प्राप्त नभएपछि उद्धार गर्ने अर्को मौका पाउँदैन । कल्पको अन्त्यसम्म पिशाचरूपमा भ्रमण गर्दछ । अनेक कष्ट भोग्दछ ।

अतिवाहक देह बन्दा पहिलो दिनको पिण्डले शीर, दोस्रो दिनकोले काँध, तेस्रोले हृदय, चौथाले पृष्ठ, पाँचौँ दिनकोले नाभी, छैटौंले कम्मर गुह्य, सातौंले हाडमासु, आठौं र नवौं दिनकोले घुँडा पाउ बन्दछन् । दसौं दिनको पिण्डले भोकप्यासले युक्त भएको शरीर बन्दछ । यस प्रकार एक अंग बनेको २४ घन्टापछि अर्को अंग बन्ने गरुडपुराणमा उल्लेख छ । जस्तो बच्चा जन्मनुभन्दा पहिले निचुरे रगत आउने स्तनबाट बच्चा निस्कनासाथ दूध आउँछ ।

यो विधि कुनै डाक्टर वा वैज्ञानिकले बनाएको नभै दैवी शक्तिले हो । शरीर पनि दैवी नियमले बन्दछ । देह बन्न कम्तीमा १० दिनको समय लाग्नेमा प्रकृतिको नियम विपरीत पिण्डमाथि पिण्ड थप्दै कोच्दै काम सम्पन्न गर्दा शरीरको निर्माण कसरी होला ? प्रेतत्व कसरी छुट्ला ? समय छोट्याएर सक्नु भनेको त नगर्नु सरह स्वतः देखिन्छ ।

आफ्ना आमाबाबु, आफन्ती मरेका बेला मानिस शोकले विक्षिप्त भै मरेतुल्य हुन्छ । त्यस्तो अवस्थामा भएको बेला मृतकलाई यमदूतले पासोले बाँधेर वि श्राम गर्ने वृक्षको छाया नभएको, खान, पिउन, अन्नपानी नभएको १२ सूर्य एकैचोटी उदाउँदा हुने सरहको प्रचण्ड गर्मीले तातेको बालुवामा फलामको भारी बोकाई, नेल लगाई भालाले पछाडिबाट घोच्दै पासोले तान्दै लैजान्छन् । बीच बाटोमा पर्ने हाडको किनारा भएको पीप र रगत बग्ने पाकिरहेको घिउ तेलमा पानीको छिटा पर्दा आउने कटकटी आवाज जस्तो गरी गर्जिने, उम्लिने वैतर्णी नदीमा डुबाउँछन् ।

सन्तानले भूमि, सुन, सैया, भाँडाकुडा, छाता, जुत्ता, लत्ताकपडा, घिउ, चामल, मरमसला कथा भन्ने पण्डितलाई दान गरी दिए यात्रामा भोग गर्न पाउँछन् भनी दानमा विशेष जोड दिई गरुड पुराण सुनाएपछि मृतकको उद्धार हुन्छ भने सर्वस्व नै दान गरी दिउँ जस्तो आफ्ना आमाबाबुप्रति श्रद्धा स्नेह राख्ने सबैका सन्तानलाई हुन्छ नै । मलाई त भएकै थियो ।

पुराणको ८/९२ मा दान आफ्नै हातले गर्नुपर्दछ भन्ने छ । कलियुगमा पतिले गरेको पाप पत्नीलाई र पत्नीले गरेको पतिलाई लाग्दैन भन्ने शास्त्र पनि छ । व्यवहारमा हेर्दा पनि आफूलाई भोक लाग्दा अरूले खाइदिएर हुन्न । ८/६७ मा कुपात्रलाई दान दिए १०० कुल नरकमा जान्छ भन्ने छ । साथै द्रव्य शुद्ध पनि चाहिन्छ । यो पुराण बन्ने समयका मानिसको द्रव्य न्यायोचित ढंगले कमाएको शुद्ध हुन्थ्यो भने दान दिइने पात्र पनि ब्रह्मचिन्तन गर्ने हुन्थे । अहिले सबैको द्रव्य शुद्ध नहुन सक्दछ । कुपात्र पर्न गए भने औषधिले उल्टो असर गरेजस्तो मृतकको उद्धार गर्छु भन्दा आफू नै नरकमा जानपर्ने अवस्था सिर्जना हुन सक्छ । यसो नहोस् भनी धनोपार्जन गर्दा र पात्र छान्दा बढी सतर्क हुन आवश्यक छ ।

शब्द तथा अनुमान प्रमाणलाई पनि स्वीकार गर्नुपर्दछ । आफू जन्मनुभन्दा पहिला दिवंगत भइसकेका बाजे, जिजुबाजेहरूलाई आफूले नदेख्दैमा थिएनन् भन्न मिल्दैन । बाबु भएपछि बाजे, जिजुबाजे पनि थिए भनी स्वीकार गर्नुपर्दछ । पहाडको टुप्पामा धुवाँको मुस्लो देखियो भने त्यहाँ आगो अवश्य छ भनेर मान्नुपर्दछ ।

उपासनाका साधन ज्ञानयोग, भक्तियोग, कर्मयोग छन् । आ-आफ्नो मान्यता, विश्वास, श्रद्धा र रुचिअनुसार इष्टदेवताको भक्ति गर्दै कर्मयोगी बन्नु उत्तम देखिन्छ । सबभन्दा ठूलो दान भनेको न्यायोचित ढंगले कमाएको द्रव्यले दुःखी दरिद्रीलाई सहयोग गर्नु हो । तिनी भित्र भगवान्को बास हुने हुँदा भगवान्को अपरोक्ष सेवा हुन्छ । भगवान् खुसी भए वैतरणी तर्नुपर्ने बाटो जानै नपर्ने गरी देवताका दूतले पुष्प विमानमा राखी स्वर्गमा लैजाने १४÷८३ मा उल्लेख छ ।

हाम्रो शरीरभित्र दुईवटा चेतना छन् । एक परमात्माको अंश आत्मा । अर्को आत्माको प्रतिबिम्ब अल्पआत्मा अर्थात् जीव । यिनलाई मुन्डको पनिषदले शरीरूपी वृक्षमा बसेका, एकैचोटी जन्मेका साथीसाथी चरा हुन् । यीमध्ये जीवले वृक्षको स्वादिष्ट फल भोगिरहेको छ । अर्को आत्माले कर्मफल भोगाउन साक्षीरूपले हेरेर बस्दछ ।

खाने चरो जीवले सत्व रज तम तीन गुणको प्रभावले उत्तम तथा नीचकर्म गर्दछ । सात्विक निस्काम कर्म गरे जन्ममृत्युको चक्रबाट छुट्ने मोक्ष प्राप्त गर्दछ । सकाम सात्विक कर्म गरे उत्तमगति स्वर्ग प्राप्त गर्दछ । तामसकर्म गरे यातना भोग्ने नरक र पशुपंक्षीको योनी अधोगति प्राप्त गर्दछ भनेको हुँदा गएका फर्केर आएको नदेखिनुका मुख्य कारण यिनै हुन् ।

मैले २०७१ सालको शिवरात्रिमा श्रीमद्भागवत तथा गीताको भनाइ संक्षिप्त रूपमा संकलन गरी ईश्वर, आत्मा, गुरु, पुनर्जन्म, प्रेतत्व मुक्ति, परलोक जाने बाटा आदि विभिन्न ३८ शीर्षकमा 'हिन्दु धर्मको संक्षिप्त जानकारी' नाम राखी किताब प्रकाशन गरेको थिएँ । मैले उक्त पुस्तक केशर पुस्तकालय ठमेल, मदन पुस्तकालय पाटनढोका, केन्द्रीय पुस्तकालय त्रिवि कीर्तिपुर, नारायणस्थान मन्दिर भैरहवा, जलेश्वर शिवालय, झापा, गोरखनाथ मन्दिर वनकाली आदि ठाउँमा गरी तीन सय ५० प्रति राखिदिएको छु । यो किताब व्यक्तिगत रूपमा लिन चाहनेले शंकराचार्य मठ पशुपतिमा उपलब्ध सक्दछ ।

गरुणपुराण अघिपछि पढ्ने, पढाउने, सुन्ने, सुनाउने गर्न त कता हो कता किताब छोए पनि मृत आशौच पर्छ कि जस्तो डर मान्ने गरिन्छ । तर यसको अध्ययन गरी यसमा वर्णन गरिएको नरकयातनामा विश्वास मानी सबैले घर व्यवहार चलाउने हो भने हत्या हिंसा, बलात्कार, चोरी, डकैती, भ्रष्टाचार, अनैतिक यौनसम्बन्ध, वृद्धआमाबाबुको तिरस्कारजस्ता हाल देखा परेका समाजका विकृति न्यून हुँदै जानेछन् । सबैले सुख शान्तिले जीवनयापन गरी मरेपछि सद्गति प्राप्त गर्न सकिन्छ भन्नेमा म विश्वस्त छु ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.