जवाफदेही कसको ?

जवाफदेही कसको ?

अहिले मुलुकको सञ्चालन शैलीबारे अनेक बहस भइरहेका छन् । मुलुक सञ्चालनको तालाचावी कसको हातमा छ र उनीहरू कसप्रति जिम्मेवार छन्, त्यसबारे जनता आश्वस्त हुन सकेका छैनन् । संक्रमणकालमा अझ बढी विकृति थपिएका छन् ।

अति उत्साहमा आठ वर्ष पहिले ‘राजतन्त्र' अन्त्य गरिएपछि त्यसले राज्य सञ्चालनको जिम्मा पाएकाहरूमा अनियन्त्रित छाडापन तथा जवाफदेही शून्यताको संस्कृति भिœयायो । विदेश जाँदा र विदेशीहरूसँग भेट्दासमेत मन्त्रीहरूले कुनै स्वीकृति लिन छोडे, जिम्मेवार तहबाट ।

त्यसले गर्दा उनीहरूका प्राय सबैजसो यात्रालाई निजी लाभ र नाफाको लागि त हैन भन्ने आशंकाका साथ हेरिन थालेको छ । त्यति मात्र हैन, राष्ट्रपति र प्रधानमन्त्रीले समेत विदेशीहरूसँगको भेटघाटमा परराष्ट्र मन्त्रालयलाई अन्धकारमा राख्ने परम्परा सुरु भएको छ ।

यसैबीच राजा ज्ञानेन्द्रले राजदरबार छोड्नुअघि नेपाल सरकारलाई औपचारिक र पारदर्शी रूपमा बुझाएका सबै दस्तावेजहरूको स्थिति अज्ञात रहेको समाचार आएको छ । मुलुकको कूटनीतिक परम्परा उच्चस्तरीय भेटघाट र ऐतिहासिक तथा राज्य सञ्चालनका महत्वपूर्ण ती दस्तावेज लापरबाहीका कारण हराएका हुन् या त्यसको बेचबिखन अनधिकृत किसिमबाट भइसकेको हो, त्यसबारे सरकार चुप लागेर बस्न मिल्दैन । ऊ जवाफदेही बन्नैपर्छ ।

‘संस्थागत' या ‘इन्स्टिच्युसनल मेमोरी' का रूपमा रहेका ती महत्वपूर्ण दस्तावेजहरू भविष्यमा राज्य सञ्चालनमा पूर्वदृष्टान्त या मार्गदर्शक बनून् भन्ने उद्देश्यले र एउटा राष्ट्र प्रमुखको दायित्वबाट निर्देशित भएर ज्ञानेन्द्र शाहले पूरा गरेका थिए । त्यस्तै गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले ती दस्तावेजहरू लिनु आवश्यक ठानेर समिति बनाई त्यो कार्य सम्पादन गरेको थियो ।

भनिन्छ- सुरक्षा, विदेश मामिला तथा अन्य संवेदनशील विषयहरूबारेका दस्तावेजहरू सम्बन्धित निकायमा पुगे पनि त्यसको ‘रेकर्ड' र जिम्मेवार संस्था या व्यक्ति कोको थिए, त्यसबारे पूर्ण जानकारी सरकारको कुनै निकायले उपलब्ध गराउन सकेको छैन ।

कुनै पनि देशसँग वार्ता हुँदा अतितका सहमति ...या अन्य विवरण आवश्यक हुन्छन् । राणाकालदेखि राजा ज्ञानेन्द्रको पालासम्म महत्वपूर्ण भेटघाटका विवरणहरू ‘रेकर्ड' मा राखिने या दस्तावेजका रूपमा संग्रहित गरिने आधुनिक राज्य परम्पराका शैली कायम राख्ने या संस्थागत गर्ने गरेको पाइन्छ । तर ‘लोकतन्त्र' र ‘गणतन्त्र' र संघीयताका चर्का नाराबीच सञ्चालित वर्तमान शासनमा नेताहरूले जनता र मुलुकलाई प्रतिनिधित्व गर्न छोडेका छन् । कतिपयले त वैदेशिक भ्रमणमा जाँदासमेत आफ्नो मुलुकको भन्दा विदेशको ‘हित' को वकालत गरेको सप्रमाण विवरण प्रधानमन्त्री र जिम्मेवार नेताहरूले गर्ने गरेका छन् ।

पुरानो राम्रो परम्परा र ‘इन्स्टिच्युसनल' ‘मेमोरी' लाई निरन्तरता दिनैपर्छ, अन्यथा मन्त्री र नेताहरू जवाफदेही' नभएर ठेकेदार बन्न पुग्छन् । विभिन्न मुलुकहरूबीच भएका वार्ता र समझदारीका रेकर्ड' को अभावमा राष्ट्रिय स्वार्थ कमजोर र धराशायी हुन जान्छ । नारायणहिटीबाट सरकारले बुझेका दस्तावेजहरू गायब हुनुलाई एउटा सामान्य ‘ल्याप्स' को रूपमा लिन मिल्दैन ।

सम्भवतः सरकारले तत्काल एउटा उच्चस्तरीय छानबिन आयोग गठन गरी त्यसको यथार्थ स्थितिबारे मुलुकलाई जानकारी गराउन आवश्यक छ । त्यससँगसँगै सरकारले यी संवेदनशील तथा महत्वपूर्ण दस्तावेजहरू हराउनु, सड्नु र बेवारिसे बन्नुमा को-को जिम्मेवार छन्, त्यसबारे समेत एउटा निष्कर्ष दिनु आवश्यक छ । यो मुलुकविरुद्धको षड्यन्त्र हुन सक्तैन भनी ढुक्क हुन सक्ने स्थिति देखिँदैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.