मृत्युञ्जय दिवस
मन यति बेगले आकासिइरह्यो । गति मापन गर्न सकिरहेको थिइनँ । बेगवान् मनका गतिले आफ्नै नियति समेटिरहेथ्यो । नियति मृत्युञ्जय दिवसको । अनेक दिवसहरूका बसमा बसिभूत भएको यो जिन्दगीको यस्तो, उस्तो, कस्तो नियति हामी सबैको । अनुराग लागिरहेथ्यो कि एउटा राग हालूँ नियतिजन्य मूर्त यथार्थको, सुनिश्चित अमूर्तताको । मृत्युजति सुनिश्चित अमूर्तता अन्त नपाइएला ।
सुनिश्चित भएरै पनि यो अनिश्चित रहिदिन्छ आँक्नै नसकिने गरी । अनायासै सोच्न थाल्छ मृत्युञ्जय दिवसमाथि । कसैले नसोचेको सोच, कतै यतै जिन्दगीको कहालीलाग्दो खोँच, भीरपाखा बीचको पोज । निरबछिन्न धापिलो डोब । यो मृत्युञ्जय दिवसको सोच । यस विषय बखान गर्न चाहेर उच्चारणमात्र गर्ने चेष्टा जगाउँदाजगाउँदै उहाँहरूले बकिहाल्नुभएथ्यो । मृत्युञ्जय दिवस पनि हुन्छ र ?
मृत्युञ्जय दिवस तपाईंहामीले सधैंभरि मनाई नै रहेका हुन्छौं, मैले भनेँ । बहुलट्ठीपनका अनुभूति गर्नुभयो होला उहाँहरूले, मेरो अभिव्यक्तिमा । लोकले अपनाएर पनि मनले ठ्याम्मै भन्न थाती राखेका सन्दर्भ बहुलट्ठीपनकै प्रलापजस्तो देखिनु अस्वाभाविक परोइन । यो न लोकतान्त्रिक पारा नै हुँदो हो । उदेकभित्रको यथार्थ ।
मृत्युञ्जय दिवस उदेक दिवस । कसले सोच्ने मृत्युञ्जय दिवसमाथि ? मरणशील प्राणीकै सरोकारी सोचको सन्दर्भ बन्छ यो । मरणशील कोमात्रै छैन र ? सबैसबै जन्मँदै हुर्कंदै उन्मादी योवन जीवन बाँच्ने हजुर हामी । लाग्छ पुर्खाले हामीलाई मृत्युञ्जय दिवस मनाउने धारणा दिएनन् । दिएकै भए पनि अर्कै पारामा दिए । जस्तोसुकै रूप र धारणा दिए पनि वस्तुगत तथ्य त एकै हुन आउँछन् । धान चामल, धान चामलै त हुन् । नेपाल भाषामा वा, जाकी भनिन्छ । संस्कृतमा धान्य, अक्षता । अंग्रेजीमा पायडी, राइस ।
मृत्युञ्जय दिवस–मृत्युमाथि विजय हासिल गरेको दिन । प्रत्येक मिनेट, घन्टा, प्रहर, दिन, रात काट्नु हजुर हाम्रा मृत्युञ्जय अवसर, समय, दिवस बन्छ । सरोकारमात्र हामी कसरी लाग्छौं त्यसलाई । हजुर हाम्रा मतान्तर हुन सक्छ । मतान्तर हुनु चिन्तनमा भरपर्दो कुरो । मत हाम्रो ! मत फरक जाँचिएलान् । स्वाभाविक छ सरासर । मत मतान्तर परिवेश, वातावरण, जन्मजात कुलघरानमुखी हुन्छ । त्यसैले हजुर हामी झन्डै एकै रहेर, भएर पनि मतान्तरमा परेका हुन्छौं । यसमा दुविधा नै किन र ?
मृत्युञ्जय दिवस शब्द प्रयोगको एउटा स्वरूप । अप्रचलित प्रयोग यो । प्रचलनमा नरहेको शब्दार्थ ठ्याम्मै आकलन गर्न कसोकसो लाग्नमा स्वाभाविक बन्छ । मलाई भने मृत्युञ्जय दिवसले पैंचो दिनेले झैं ताकेता लगाइरहेछ । ऋणी छु अहिले । कहिलेसम्म लोकमान्य बनाउन सकिने सकिने होला मृत्युञ्जय दिवसलाई ।
लोकमान्य बनाउन उतिसारो पच्छ्याइन् सायद । लोककै परिपालन गरी आएका रीतिरिवाज । मात्र अन्तर भाषागत शब्दका चलन, प्रचलन हुनु नहुनुको । समाज अचेल पुस्तेनी संस्कार उन्मुख रहेको छ । पुस्तेनी संस्कार परम्परामुक्त रहन्छ ।
पुस्तेनी संस्कार भन्नु झन्डै वैयक्तिक आचरण बन्छ । पूरापूरै नभए पनि अत्यधिक अंशमा यो व्यक्ति व्यक्तिकै आनीबानीजत्तिकै हुन्छ । पुस्तेनी संस्कारको सेरोफेरो आफ्नै सोचविचार र मनचिन्ते आलाप हुन्छ, बन्छ । बढीमा जोईपोइबीचको अलापविलाप । यसमा पुस्तेनी आत्म आग्रहको पकड रहन्छ । अग्रज आदरभावको न्यून चेत समाहित रहेको हुन्छ । पुस्तेनी संस्कार नयाँ परम्परा बन्छ रहन्छ । त्यसैले परम्परा मुक्तिमै पुस्तेनी संस्कार छचल्किएको हुन्छ । अचेल नेपाली संस्कार परम्परामा भन्दा बाह्य परिवेशले अग्रहित छ ।
बाह्य परिवेशले अग्रहित हुनुकै तात्पर्य आफ्नोपनबाट टाढिनु र अपरिचित हुन्छ । आफ्नोपनबाट अपरिचित हुनु भनेकै स्वत्व गुमाउनु हो । स्वत्व गुम्दै जाँदा आफ्नो भूगोल र सीमाको मर्म र ममता खस्किँदै, खस्किँदै बच्ने बचाउने आमूल सरोकारका आयाम सरोकारका आयाम स्वतः खुम्चिन्छ । अचेलभरि पुस्तेनी संस्कारमाथि हाम्रै अरन्ठ्यौलीपनले यतै छर्के हालिरहेछ ।
मृत्युञ्जय दिवस त मृत्युमाथि विजय हासिल गर्ने दिन हो । यो सामाजिक संस्कारले पैतृक परम्परागत संस्कार, संस्कृति र यावत् सम्पदा नै कुम्ल्याइरहेको छ । पारस्परिक मर्यादाविहीन आनीबानी नेपाली सांस्कृतिक स्वरूपलाई नै विदु्रप, बिभत्स र कुरूप पार्न के बेर । कुरूपताभित्र कहाँ र हाम्रो रूप, अलंकार र स्वत्व जगेर्ना हुँदो हो ? रूप स्वरूपविहीन हामी कसरी हामी रहौंला वा रहन सक्दा हौं । वर्तमान परिवेशले हाम्रा आफ्ना रूप स्वरूपमा विशृंखल पनि परिस्थितिले बनिरहेको हुन्छ ।
जानिबुझेरै म भने अभिव्यक्ति शैलीलाई शब्द र वाक्य विन्यास कला साधना गरेर आफ्नोपन जोगाड अनि जगेर्ना गर्ने प्रयासमा छु । लाग्छ, सहज बनाउन यसलाई प्रतिबद्घ निरन्तरता नभई हुन्न । नैरन्तर्य थकानविहीन लगनबाट मात्र सम्भव हुन्छ । त्यस्तै ठानेरै असहज र बेचलनका ‘मृत्युञ्जय दिवस' चलन चल्तीमा ल्याउने जर्मको गर्न रुचाएँ । पाठक, लेखक, समीक्षक महानुभाव यसका सामूहिक अभियन्ता ठान्छु । मृत्युञ्जय दिवसका सोच यस्तैयस्तै छ ।
मृत्युञ्जय दिवस सन्न्यास लाग्छ । सन्यासमा विजय बन्नु मृत्युको शाश्वत स्वरूप । विलय हुनुबाट बच्ने अवसर मृत्युञ्जय दिवस । मृत्युञ्जय दिवस एक यस्तो अवसर हो जुन बेला हामी मृत्युमाथि कुम चढिरहेका हुन्छौं । अवश्य भावी अनिश्चित सत्य अवसान । अवसान जीवको शान्ति होइन । अवसान न त मृत्यु ! मृत्युमाथि जय प्राप्त गर्नु मृत्युञ्जय दिवस ! मात्र म नै होइन, हामी सबैसबै नै मृत्युञ्जय दिवस मनाइरहेका हुन्छौं । लाग्छ, कतै मृत्युञ्जय दिवस जन्मदिन हो । प्रत्येक जन्मदिनमा म मृत्युञ्जय दिवस मनाइरहेको हुन्छु ।
प्रत्येक जन्मदिनको अवसरमा मृत्युञ्जय दिवससित अन्माइरहेझैं आभास हुन्छ मलाई । प्रतीत हुनु आत्मानुभूतिको बोधिसत्व भन्ठान्छु । बोधिज्ञानमा आनन्दविभोर हुन्छु म । बोधिसत्वबाट अनुभूति हुने आनन्द जीवनको शिखरवति सन्तोषपूर्ण सुख बन्दो रहेछ । यस्तै क्षण जहाँ शिखरवर्ती सन्तोष मिल्छ त्यसैलाई सुख आनन्द, सुखानन्द भन्छु, ठान्छु ।
ठान्नुको पर्याय ठम्याउनु । ठम्याउन बोधिज्ञान तत्वले सघाउँछ हामीलाई । बोधित्व ज्ञानले हाम्रा मन चिन्तन चेतमा प्रवेश पाएर हामीलाई सघाउँछ । हामी जीवित जीवन जिउँछौं मृत्युञ्जय दिवस मनाएर ।
यस्तैमा मलाई मेरै अतीतले घच्घच्याउन आउँछ । घच्घच्याइभित्र उत्प्रेरणका सुम्सुम्याइ अनुभूति गरेँ त्यस्तै । अट्ठाइस वर्षको जन्मदिवस थियो त्यो अवसर । मृत्युञ्जय दिवस भएरै पनि भन्न जानेको थिइनँ त्यसताका । घैंटोमा घाम लाग्ने बेला कुरिरहन्थ्यो । अट्ठाइसौं जन्म दिवसलाई अट्ठाइसौं मृत्युमाथि टेकेर भनेँ लेखेँ ।
अट्ठाइस वर्ष गाँथ मनाउने अवसरमा मैले अट्ठाइस मृत्युलाई पार गरी जितेको अनुभूति भयो । प्रत्येक जन्म दिवस वर्षभरि नै मृत्युलाई पराजित गर्दै बढेका हुन्छौं हामी सबै नै । जन्म दिवस वर्ष भनेछु । जन्म दिवसकै दिनको चौबीस घन्टाको कुनै पनि समस्या मृत्युले अँगाल्न नसक्ने सम्भावना मिट्दैन । सत्ताइस वर्ष कटाई अट्ठाइसलाग्दो पहिलो दिनमै जन्म दिन मनाउँछौं हामी । विश्व परम्परागत संस्कारयुक्त संस्कृति रहेको छ यो । मात्र फरक जन्म दिवसलाई मृत्युञ्जय दिवस भन्न पुगेँ ।
परिवर्तनशील प्रकृति सबै परिवर्तन भइरहनु धर्म सत्य रहेको छ । धर्म सत्य भनेछु जानिबुझी नै । धर्म सत्यपरक रहन्छ । सत्यताविहीन धर्म हुन्न के ? हुनै सक्दैन । सत्यहीन धर्म कुनै पनि छैन, हुन्न पनि । सत्यबाट पर धर्मै हुन्न । सत्यविहीन धर्म धर्मै हुन सक्दैन । धर्मविहीन सत्य झूठ रहन्छ । झूठमुठको दुनियाँ असत्य र अधर्म रहन्छ । ‘धर्मोरक्षति रक्षत' संस्कृत उद्गार बनेको त्यसैले ।
सुरक्षित बनेका सबै धर्मकै कारण । धर्म निष्ठापूर्वक कर्म गर्नुको पर्याय बन्छ, बनेको छ । निष्ठा कर्म अन्तरमनले आआफ्नो कर्तव्यपरायण हुनु, बन्नुमा परिभाषित हुन्छ । कर्तव्य नास्ती अधिकारै अधिकारको मात्र चाहना भ्रष्ट र विदु्रप समाज बन्नु, बनाउनुको कुचेष्टा बन्छ, रहन्छ, साबितिन्छ पनि ।
त्यसो हुँदै गए एकएक पल बिभत्स र विकराल फलका भोगी त्यस समाजले नबुझी सुखै हुन्न । धर्मनिष्ठ कर्म र कर्मनिष्ठ धर्म आपसमा सटिक रहेको हुन्छ । नासमझ, बीचमराइ र व्यभिचारले एक न एक पल अधर्म, अकर्म निम्त्याउँछ । मेरो मृत्युञ्जय दिवसको चिन्तन, आत्मचिन्तनबाट उद्भव आत्मविभोरी यो । हजुरहरूमा समर्पित सौगात यो औकातभरिको ।
मृत्युञ्जय दिवस मनाउँदामनाउँदै जाँदा वा जानसके हामी दीर्घायु बन्ने मेरो धारणा, विश्वास । परन्तु मेरै धारणा र विश्वासमात्र पर्याप्त रहन्न, छैन पनि । असल, राम्रो नियतले कर्मनिष्ठ रहँदामात्र सम्भव रहन्छ मृत्युञ्जय दिवस । अहिले र आजभन्दा दूरयामी समयावधिसम्म लक्षित राख्न सकिँदो रहेछ । विश्वका दीर्घजीवी योगी तपस्वी, महारथीहरूका जीवन यस्तै रहे बनेका छन् । इतिहास यस्तै बताउँछ, चरितार्थ गर्छ । हाम्रै नेपाल काठमाडौंको शिवपुरी शिखरवासी शिवपुरी बाबा १३६ आयुष्मान रहे, बनेका सत्य तथ्य ज्ञान नै छ ।
ओझेलमा परेको छैन यो जीवन्त उदाहरण । दीर्घ जीवन केका लागि ? कुनै लिप्सामा लुटपुटिइरहनैका लागि ? कि जनजीवन उकास्ने निहुँमा आफ्नै झोला भर्नका लागि ? सोचनीय छ प्रसङ्ग यो । मृत्युञ्जय दिवसको धुनमा मच्चिएका यी तरंग रंगहरू सहृदयी पाठक महानुभावमा सुम्पने रहर यी ।