हो, म 'आइमाई'

हो, म  'आइमाई'

हो, म 'आइमाई' हुँ । तपाईं मलाई यही शब्दले सम्बोधन गर्न सक्नुहुन्छ । तपाईं राम्रो उद्देश्य र भावमा यो शब्द प्रयोग गरिरहनुभएको छ भने मलाई कुनै समस्या हुने छैन । म यसलाई यसरी बुझ्नेछु, तपाईंले मलाई लिंग विभाजनको हिसाबमा महिला भनिरहनु भएको छ । लिंग छुट्ट्याउन तपाईंले 'आइमाई' शब्द प्रयोग गरिरहनुभएको छ ।

दुई वर्षअघि रत्नराज्य क्याम्पसको क्यान्टिनमा एकजना पुरुष साथीले अर्की महिला साथीलाई रिसाएर 'आइमाई' शब्द प्रयोग गरे । मैले 'आइमाई' शब्दलाई लिएर चर्को र लामै बहस गरेँ । 'आइमाई' शब्दको प्रयोगले हामीलाई हेपिएको महसुस हुन्छ । त्यसैले यो शब्द प्रयोग नगर्न ती पुरुष साथीलाई अनुरोध गरेँ । उनीहरूमा पुरुष दम्भ त हुने नै भयो । उनले भने, 'तपाईंले भन्दैमा शब्दकोशबाट यो शब्द त हट्दैन नि ।'

त्यसबेलासम्म पनि मरो मानसपटलमा 'आइमाई' शब्द गाली गर्न प्रयोग भएको हो भन्ने लाग्थ्यो । यो शब्द सुन्नासाथ गालीको आभास हुन्थ्यो, जुन सत्य थिएन । तर प्रयोग गर्नेहरूले पनि त्यही रूपमा जनाउ दिइरहेका हुन्थे र अझै पनि छन् ।

मैले शब्द हटाउने कुरा गरेको होइन । तर यो शब्दलाई कहिल्यै राम्रो भावमा प्रयोग गरिएन । मैले मित्रलाई सम्झाउने धेरै प्रयास गरेँ । त्यसपछि म यो शब्दको पछि लागेकी हुँ । आजसम्म कसैले राम्रो भावमा यो शब्दको प्रयोग गरेको भेटिन । त्यो बहस हुँदासम्म 'आइमाई' शब्दको अर्थ थाहा थिएन । त्यसपछि नै यसको अर्थ पनि खोजेँ । संस्कृतको आर्यामाता शब्दबाट अपभ्रंश भएर 'आइमाई' बनेको हो । आर्याको अर्थ सम्माननीय महिला वा सबैले मान्ने महिला हुन्छ भने माताको अर्थ आमा हो ।

हामीलाई चाहिएको सम्मानित शब्द हो । त्यसमा पनि सरकारी निकाय, सामाजिक समारोह, सार्वजनिक कार्यक्रम, नीतिनिर्माण तहमा सम्मानजनक शब्दको प्रयोग हुनुपर्छ । अरूको सम्मानमा आँच पुग्ने शब्दको प्रयोग कसैले कसैलाई पनि गर्नु हुँदैन भन्ने आशयले यस्ता शब्दको प्रयोगमा असहमति जनाउने, विरोध गर्ने र विकल्पमा अन्य शब्दको प्रयोग गर्न प्रेरित गरिएको हो ।

सम्बोधनका लागि योभन्दा बढी सम्माननीय शब्द अरू कुन होला र ? तर यहाँ कसैले 'आइमाईले यस्तो राम्रो काम गरे' भन्दैनन् । 'यो आइमाईको जातै नहुने' भनेको प्रशस्तै सुनिन्छ । 'पँधेरामा कुरा काट्ने आइमाई' भनिन्छ तर 'संसद्मा महिला' भनिन्छ । अहिलेसम्म 'संविधानसभामा यतिजना आइमाई छन्' या 'देशको पहिलो आइमाई राष्ट्रपति विद्या भण्डारी' भनेको सुनिँदैन । यसको सीधा अर्थ के हो भने हामी नै यो शब्दलाई नराम्रो भाव दिने गरी मात्रै प्रयोग गर्न खोजिरहेका छौं । राम्रोको व्याख्या गर्न महिला र नराम्रोको व्याख्या गर्न 'आइमाई' भनिरहेका छौं ।

यही हेरौं महिलासँगै जोडिएको अर्को शब्द । विधवा भन्न नहुने एकल महिलाचाहिँ हुने । विधवा र एकल महिलाको अर्थमा कुन त्यत्रो फरक छ, जसले अति सम्मान जनाओस् ? विधवाको अर्थ पनि श्रीमान्को मृत्यु हो र एकल महिला पनि श्रीमान् नहुनु हो । एकल भन्दा सम्मानित हुने र विधवा भन्दा हेपिने हुन्छ र ? यो त प्रयोग गर्नेले कुन आशयले गर्‌यो, त्यसमा भरपर्छ ।

केही समयअघि एउटा भाषा कक्षामा भाषाविद् शरच्चन्द्र वस्तीले भने, 'शब्द आफैँमा राम्रो वा नराम्रोभन्दा यसलाई प्रयोग कसरी गरिन्छ भन्नेले अर्थ राख्छ । हामी आफैं शब्दको बलात्कार गर्न खोज्छौं, जुन ठीक होइन ।' हो, हामी शब्दलाई अनावश्यक रूपमा घृणा गरिरहेका छौँ र शब्दप्रति घृणा फैलाइरहेका छौँ ।

अधिकारकर्मीका बहस चलाउने बहाना बनेका यस्ता शब्द आफैंमा खराब होइनन् । प्रयोगकर्ताले यसलाई बिगारेका हौं । आफूलाई चित्त नबुझेका शब्द प्रयोग नगर भन्न पाउनु सबैको अधिकार हो । तर शब्दलाई गलत आरोप लगाउने अधिकार कसैलाई छैन । कसैको मागी खाने भाँडो बनाउँदै हाम्रा शब्द हराउँदै गए भने भाषा पनि त हराउला । प्रयोग गर्न नै नहुने भए यी शब्द हराउँदै जानेछन् । हामीले चाहेका नयाँ शब्दले पनि कालान्तरमा उही आशय बोक्छन् नै ।

हामीजस्ता शब्दको विभेद छुट्ट्याउनेहरू 'आइमाई' बाट महिला हौंला, विधवा नभनेर एकल भनौंला, तर जसलाई यी शब्दका बारेमा थाहै छैन, तिनले सम्मानित जीवनको लागि ठूलो पापड बेल्नुपर्नेछ, हो जागरण त्यहाँ चाहिएको छ ।

वचनको घाउ निको हुँदैन, यदि त्यो वचनले हामीलाई अपमान गर्छ भने । महारानी शब्द सम्मानको लागि प्रयोग गरिन्छ, तर कहिलेकाहीँ काम नगर्ने वा ठूलो पल्टिनेहरूलाई गाली गर्दा पनि यही शब्द प्रयोग हुन्छ । परिस्थितिअनुसार यसले आफ्नो भाव पोख्छ । तर यो शब्दमाथि त कहिल्यै बहस भएको छैन ।

हामीलाई पीडा दिने शब्द पछाडि बसेको त्यसको भावले हो । 'आइमाई' शब्दको दाहसंस्कार गरियो भने त्यस्ता हजार शब्द जन्मिन सक्छन् । यो शब्द हटाएर यो समाजले हामीलाई सम्मान गर्न थाल्दैन । परिवर्तन त सोचमा हुनुपर्छ । हामी सधैं शब्दलाई गाली गर्दै यसलाई हटाउनेतर्फ लाग्यौँ, तर ती शब्द प्रयोगकर्ताको गलत सोच हटाउन लागेनौं ।

सहरबजारका सचेत र भाषा बुझ्नेहरूकै बीचमा त यस्तो खेतीपाती गर्नेहरू बढी सक्रिय हुन्छन् । दुर्गम जहाँ एक छाक खाए अर्को छाक के खाऊँ भन्ने पीडा छ, वर्ष दिनमा एउटा पेटीकोट फेर्न पाए दसैं आएको अनुभूति गर्छन्, त्यो समाजका 'आइमाई' नै भनौं उनीहरूलाई, केही फरक पर्दैन । तर सम्मानित जीवन बाँच्न पाउने अधिकारको लागि आवाज उठाऔँ । 'आइमाई' शब्दले हाम्रो बाँच्ने अधिकार खोस्दैन, तर बाँच्ने अधिकार नै खोसिनेहरूका लागि पो अहिले पनि सशक्त आवाज उठाउनु आवश्यक छ ।

त्यसैले म 'आइमाई' हुँ, 'आइमाई' भएर सम्मानित जीवन बाँच्ने चाहना हाम्रो हो । हामीजस्ता शब्दको विभेद छुट्ट्याउनेहरू 'आइमाई' बाट महिला हौंला, विधवा नभनेर एकल भनौँला, तर जसलाई यी शब्दका बारेमा थाहै छैन र सम्मानित जीवनको लागि ठूलो पापड बेल्नुपर्नेछ, हो जागरण त्यहाँ चाहिएको छ । अनि मात्रै शब्दभन्दा पर हामी वास्तविक रूपमा अनुभूति हुने सम्मान प्राप्त गर्नेछौं ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.