आध्यात्मिक शक्तिको स्रोत
आध्यात्मक गुरु रामकृष्ण परमहंसको सानिध्यतामा रहेर साधना मार्गद्वारा स्वामी विवेकानन्दमा आफूभित्रको दिव्य शक्तिले ओतप्रोत हुँदै गएको अनुभूति हुँदै गयो । यो शक्ति यति विशाल बन्दै गयो कि उनी कैयौं दिनसम्म खानापानी बिना नै गहिरो समाधिमा डुब्न सक्ने अवस्थामा पुगे ।
यसैबीच एकदिन गुरु रामकृष्णले विवेकानन्दलाई सम्झाए- तिमी आफ्नो व्यक्तित्व, मुक्तिमा मात्र नलाग, यसैमा मात्र मग्न र आनन्दित नबन । तिम्रो ध्येय ठूलो छ, अर्थात् तिम्रो आगमन महान् उद्देश्यका लागि भएको छ र यस्ता व्यक्तिगत ध्येयका साना कुरामा नफस ।
त्यसो त विवेकानन्दको आगमनको ध्येय रामकृष्णलाई थाहा थियो र उनी सप्त ऋषिमध्येका एक थिए र त्यसैले रामकृष्णले विवेकानन्दलाई ज्ञानको रूपान्तरण गराउँदा वा अलौकिक शक्तिबाट ज्ञान प्रवेश गराउँदा एकैबाजी गराएनन् । त्यसो गराएको भए विवेकानन्दले आफ्नो स्वरूप बुझिहाल्ने थिए र उनी लोकहितमा लाग्नेभन्दा बेकारको शरीरलाई शीघ्र त्याग्नेतर्फ जाने थिए भन्ने अध्यात्मकको सूक्ष्म रहस्ययुक्त मान्यता पनि छ । हुन पनि उनले चाँडै शरीर छोडे, जब उनलाई आफू को हुँ भन्ने थाहा भयो उनले यो देहलाई मत्र्य लोकमा राखिराख्न चाहेनन् ।
रामकृष्णको देहत्यागपछि विवेकानन्द परिब्राजक बनेर भारतको विभिन्न स्थानको भ्रमणमा निस्किए । धेरै ठाउँमा पुग्दै सामान्यजनदेखि साधु महात्मा, राजा महाराजा, विद्वान र सामाजिक व्यक्ति सबैसँग छलफल र धर्म चर्चा गर्दै हिँडे । यसबीचमा उनको देहमा ऊर्जा र चेतना यति बढिसकेको थियो कि उनीभित्र एउटा अदम्य शक्तिको बोध गहन हुन थाल्यो र त्यो शक्तिले अभिव्यक्त हुने मार्गसमेत खोज्न थाल्यो ।
एकपटक उनले बम्बईमा आफ्ना गुरुभाइ स्वामी अभेदानन्दसँगको भेटमा भनेका छन्- ‘मेरो भित्र यति धेरै ऊर्जा शक्तिको विकास भएको छ कि कुनै कुनै बेला त लाग्छ कि यो शक्ति सहन गर्न नसकेर शरीर नै फुट्ने हो कि ? '
ओशोले पनि एकपटक भनेका छन्- ‘आफूभित्र संग्रहित शक्तिलाई महसुस गर्दा लाग्छ कि यो पृथ्वी नै आफ्नो हातले धकेलिदिउँ ।' अब विचार गरौं, यो शक्तिको महसुस किन हुन्छ अध्यात्मक पुरुषलाई ? के हो यो शक्ति ? कहाँबाट आउँछ यो शक्ति ? के यो भ्रममात्र हो ? यी प्रश्नहरू छन् र यसबारे केही चर्चा गरौं । अध्यात्मको सबैभन्दा ठूलो उपलब्धि तथा दिव्यताको अनुभव गराउने नै यही शक्ति हो ।
समाजमा केही शुद्ध बुद्ध स्वभावका महापुरुष पैदा भएमा समाज र राष्ट्रको गति भिन्न हुन्छ । त्यहाँ अनुशासन, सद्भाव, मेलमिलाप, प्रेम र करुणा भाव बढेर जान्छ । सबै स्थूल शरीरधारी पिण्डमात्र पैदा भएको अवस्थामा दुःख, विकृति र विसंगति बढेर जान्छ । छाडातन्त्र, व्यभिचार, भ्रष्टाचार मौलाउँछ ।
यो शक्ति साधनाबाट सम्भव छ र यसमा ऊर्जाको महत्व छ । मानिसले विभिन्न स्रोतबाट हरपल ऊर्जा संग्रह गर्छ र हरपल गुमाइरहन्छ त्यो ऊर्जा । बेकारका काम र प्रयोजनमा यो ऊर्जालाई गुमाउँछ । सबैभन्दा बढी यौन क्रियाबाट ऊर्जालाई गुमाउँछ । राग-द्वेष, काम-क्रोध, आमोद-प्रमोद, खेल-तमासा, आँसु-हाँसोबाट पनि ऊर्जालाई गुमाउँछ । अत्यधिक शारीरिक परि श्रम अत्यधिक निद्रा वा अनिद्राबाट पनि गुमाउँछ ऊर्जालाई । शरीरभन्दा मन अगाडि छ ऊर्जा गुमाउन । त्यसैले समग्र अध्यात्मक साधनाको ध्यान नै शरीर र मनको चञ्चलता रोक्नु हो, ऊर्जालाई परिस्कृत र सूक्ष्म रूपमा संग्रहित गर्नु हो । त्यो शान्त र एकाग्रतापूर्ण साधनाबाट नै सम्भव छ ।
चार वेदका महावाक्य छन्-प्रज्ञानम् ब्रह्म, अहं बम्हास्मी, तत्वमसी र अयमात्मा ब्रह्म । अर्थात् प्रज्ञा नै ब्रह्म हो, म ब्रह्मस्वरूप हुँ, संसारमा तत्व रहस्य छ र आत्मा नै ब्रह्म हो । बुद्धले सत्य दर्शनका लागि प्रज्ञा प्रस्फुटनको साधनामा जान भन्नु भएको छ । वास्तवमा प्रज्ञा, ब्रह्म उस्तै तत्व हुन् । ब्रह्माण्डको रहस्य प्रज्ञाद्वारा नै हुन्छ ।
प्रज्ञा सूक्ष्म स्नायुको अनुभूति हो । गीतामा पनि दिव्य चेतना तत्व तथा परमात्माबारे श्री कृष्णले भन्नुभएका कुरा धेरै छन् । त्यो महान् शक्ति जसलाई स्वामी विवेकानन्द र ओशोले अनुभूति गर्नुभयो र केही शब्दमा व्यक्त पनि गर्नुभयो, हुन त यी शब्दमा अटाउने विषय होइनन् भनेर, उहाँहरूलगायत महान् सन्तहरू गुह्य शास्त्रहरूले पनि भनेका छन् ।
अध्यात्ममा एउटा शब्द खुबै महत्वको छ- ‘सचिदानन्द यो सत्, चित र आनन्द तीन शब्द गुथिएर बनेको छ र यो भनेको अस्तित्व, चेतना र आनन्द हो ।' अर्थात्, ब्रह्माण्ड सञ्चालमा अस्तित्वसँग चेतना र आनन्दले काम गरेको छ र यही सत्य स्वरूप हो ।
त्यसैले ईश्वरलाई सचिदानन्द भनिन्छ र श्रीकृष्णलाई पनि सचिदानन्द स्वरूप मानिन्छ । मानिस पनि ईश्वरको अंश भएकोले वा भगवान् बन्ने क्षमता भएकोले हरेक व्यक्तिको अन्तरमा इकाइको रूपमा व्यष्ठी आत्मा रहेको छ । जुन पूर्ण वा समष्टि परमात्माकै स्वरूप हो भनेको छ शास्त्र ज्ञानले । यो भनेको हरेक आत्मा प्रकाशित हुने तत्व वा मानिसभित्रको ईश्वरको स्वरूप भनेको चेतना र यो चेतनासँगै जोडिएर अनुभूति हुने अखण्ड आनन्द हो । यो बुझ्न गहनतम् साधनामा नै जानुपर्छ ।
प्रकृतिको दृश्यमा पनि हिमाल, नदी, पुल, झर्ना जंगल र प्रकृतिका अन्य मधुर सौन्दर्य स्वरूपहरूले यही चेतना र आनन्दलाई दर्शाउँछन् र यिनलाई देख्दा मानिस आनन्दित हुन्छ, प्रफुल्लित हुन्छ । त्यसैले हिमाललाई चेतनाको भूमि वा शिवभूमि पनि भनिन्छ ।
चेतनाले ऊर्जाको माध्यमबाट निर्माण गर्छ र त्यसैले चेतना र ऊर्जा नै यस्तो शक्ति हो जसले सृष्टिलाई निरन्तरता दिन्छ, सत्यलाई बचाउँछ र साथमा लिन्छ । माथि भनिएको विवेकानन्द र ओशोको अवस्था यस्तो शुद्ध अवस्था हो जुन बेला उहाँहरूले यो चेतना र ऊर्जा प्रत्यक्ष महसुस गर्नुभयो र यो स्वाभाविक तथा अखण्ड शक्ति भएकाले यस अवस्थामा महपुरुषहरूमा यस्तो अनुभूति हुन्छ ।
बुद्धमा पनि निर्वाण प्राप्तिको अवस्थामा यही अनुभुति भयो । त्यसैले यस्ता महापुरुषहरू भगवान् कहलाइन्छन् । भगवान् भनेकै शुद्धता र सत्यताको संग्रह हो र यस अवस्थामा नै दिव्यता प्रकट हुन्छ । त्यसैले मानिसको साधनाको अवस्था अनुसार स्थूल, सूक्ष्म र कारण शरीरको कुरा आउँछ । अधिकांश मानिस स्थूल शरीरमा नै बाँचेका छन् । यो भोग शरीर हो ।
मानिस यो भोग शरीर लिएर छटपटाउन बाधय छन् । भोग शरीरको बाहुल्यले गर्दा समाजमा कहल छ, झगडा छ र व्यभिचारी छ । सूक्ष्म शरीर दिव्य ऊर्जाबाट निर्मित शरीर हो र कारण शरीर चेतना शरीर हो । स्थूल देहधारीले साधनाद्वारा यी शरीरहरू महसुस गर्न सक्छन् । सूक्ष्म शरीर नै अति शुद्ध हुँदै जाँदा कारण शरीरमा पुग्छ, अनुभव हुन्छ योगीलाई र यही गीतामा भनिएको विराटरूप दर्शनको अवस्था हो ।
स्वामी विवेकानन्द र ओशोले अनुभूति गरेको त्यो शक्तिको स्रोत के हो त ? कसरी प्राप्त भयो उनीहरूलाई त्यो शक्ति ? त्यो शक्तिको स्रोत हो-शान्त, शुद्ध, सत्य, सामक्षीभाव । जसबाट स्वतः उधन्न हुने तत्व हो प्रज्ञा । प्रज्ञा द्वन्द्व हित निर्मल अवस्थाको प्राप्ति हो । संसार द्वन्द्वै द्वन्द्वको भण्डार हो ।
निद्र्वन्द्व अवस्था वा अद्वैत अवस्थामा नै सत्य दर्शन हुन्छ । यही अध्यात्मको ध्येय हो बुद्धले यसलाई समभाव भन्नुभयो, गीतमा स्थितप्रज्ञ भनियो । यस अवस्थामा मन शरीरको बोधभन्दा परको कालातीत र इन्द्रियातीत अवस्थाको अनुभूति हुन्छ भनेर शास्त्र र ज्ञानीजनले भनेका छन् । यही अवस्थामा अस्तित्वको समग्र शक्ति महसुस हुन्छ महापुरुषलाई । युगयुगमा यस्ता महापुरुषहरू पैदा हुन्छन र संसारलाई सत्य र शुद्धताको बोध गराउँछन् ।
समाजमा केही शुद्ध बुद्ध स्वभावका महापुरुष पैदा भएमा समाज र राष्ट्रको गति भिन्न हुन्छ । त्यहाँ अनुशासन, सद्भाव, मेलमिलाप, प्रेम र करुणा भाव बढेर जान्छ । सबै स्थूल शरीरधारी पिण्डमात्र पैदा भएको अवस्थामा दुःख, विकृति र विसंगति बढेर जान्छ । छाडातन्त्र, व्यभिचार, भ्रष्टाचार मौलाउँछ । समाज र राष्ट्रको शुद्धीकरणका लागि शुद्ध बुद्ध महापुरुषको आगमन आवश्यक छ ।
हाम्रो समाज र राष्ट्र आज छटपटाएको कारण पनि यही हो । सम्यक ज्ञान, बोधगम्य ज्ञान दिने महापुरुषहरूले समाज र राष्ट्रको गति नै बदल्ने सामथ्र्य हुन्छ । त्यसैले अध्यात्मको महत्व छ जगत्मा, आध्यात्मक पुरुषको महत्व छ ।