स्थानीय निकायको संख्या र सिमानामा हेरफेर हुँदैन: पौडेल
काठमाडौँ: स्थानीय निकाय पुनःसंरचनासम्बन्धी आयोगका अध्यक्ष बालानन्द पौडेलले आफूहरुले सिफारिस गरेको स्थानीय निकायको सङ्ख्या र सिमानामा संविधानतः हेरफेर हुन नसक्ने बताएका छन्।
विकास सञ्चार समाज नेपालले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष पौडेलले सरकारले आफ्नो सिफारिसबमोजिम स्थानीय निकायअन्तर्गत वडा र सदरमुकाम मात्र परिवर्तन गर्न सक्ने उल्लेख गरे। सो आयोगले गत पुस २२ गते कुल सात सय १९ स्थानीय निकायसहितको प्रतिवेदन दिएको थियो। हेरफेर गर्नुपरेमा सरकारले संविधानतः आयोगलाई प्रतिवेदन फिर्ता गरी पुनः सिफारिस भने गराउन सक्ने उनले बताए।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले सरकारले आयोगलाई दिएको कार्यादेश र प्राप्त गुनासालाई ध्यान दिई १५ दिनभित्र प्रतिवेदन दिन स्थानीय विकासमन्त्री हितराज पाण्डेको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। अध्यक्ष पौडेलले आफूहरुले करिब ८० प्रतिशत काम पूरा गरिसकेकाले आउँदो फागुनभित्र अन्तिम प्रतिवेदन बुझाइएको जानकारी दिए।
कार्यक्रममा जिविस महासङ्घका पूर्वाध्यक्ष कृष्णप्रसाद सापकोटाले विशेष संरक्षित र स्वायत्त क्षेत्रमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारबारे सँगसँगै छलफल गर्नुपर्ने बताए। समाजका कार्यकारी निर्देशक डा पियूष मिश्रले स्थानीय निकायको पुनः संरचनाबारे सञ्चारमाध्यमले बहस सञ्चालन गर्नुपर्नेमा जोड दिए। रासस