संशोधन प्रस्ताव मधेसी जनताको हितमा छैनः आचार्य
काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव भीम आचार्यले सरकारले निर्वाचनको मिति घोषणा गरे आफ्नो पार्टीले स्वागत गर्ने स्पष्ट पारेका छन्। आचार्यले भने,‘सरकारले चुनावको मिति घोषणा गर्छ भने एमालेले त्यसको समर्थन गर्छ।’ उनले अहिले संसदमा टेबुल भएको संविधान संशोधन प्रस्ताव मधेशी जनताको हितमा नभएको जिकिर गरे।
संशोधन प्रस्तावले मधेशी जनताको कहिल्यैपनि हित नगर्ने जिकिर गर्दै आचार्यले भने,‘एमाले मधेसविरोधी पार्टी होइन, संसदमा पेश भएको संशोधन प्रस्तावले मधेसी जनताको हित गर्छ भन्नु सरासर झुठ हो, यस्तो बेतुकका कुरा कसैले नगरे हुन्छ।’
सरकारले निर्वाचनको मिति घोषणा गरे मधेसी मोर्चाले भिषण आन्दोलन गर्छु भनेर चेतावनी दिइसकेको छ नि भनेर गरिएको एक प्रश्नमा आचार्यले भने,‘मधेसका गरिव र निर्दोष जनतालाई उक्साएर ५० लाख दिन्छु भनेर पहिला पनि आन्दोलन गरेको इतिहास छ, अब मधेसी जनताले बुझिसकेका छन्, जनता अब आन्दोलनमा आउँदैनन्, आन्दोलन कुनै पनि हालतमा सफल हुँदैन।’
उनले संविधान संशोधनमा उल्लेख गरिएको सबै विषयवस्तु नै गलत भएकाले गलत एजेण्डा कुनै हालतमा पनि पारित नहुने र आफ्नो पार्टीले हुन नदिने चेतावनी दिए।