सर्वदलीय बैठकमा गच्छदारले भने–संशोधन प्रस्ताव पारित नभए चुनाव हुन गाह्रो छ
काठमाडौंः मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले परिमार्जनसहित संविधान संशोधन नभए चुनाव हुन नसक्ने चेतावनी दिएका छन्।
संसद भवन नयाँ बानेश्वरमा बसेको सर्वदलीय बैठकमा आफ्ना भनाई राखेर बाहिरिएका गच्छदारले आफूले परिमार्जनसहित संविधान संशोधन नभए सरकारले घोषणा गरेको स्थानीय निर्वाचन हुन नसक्ने कुरा बैठकमा राखेको बताए। उनले भने,‘सरकारले घोषणा गरेको स्थानीय निर्वाचनको म स्वागत गर्छु। तर, परिमार्जनसहित संविधान संशोधन भएमात्रै निर्वाचन हुन सक्छ। यो कुरा मैले दलका नेताहरुलाई भनेको छु।’
उनले मधेसमा देखिएको समस्या समाधानका लागि परिमार्जनसहित संविधान संशोधन गर्ने विषयमा सोच्न आफूले ठूला पार्टी र तिनका नेताहरुलाई आग्रह गरेको बताए। उनले प्रतिपक्षी दल एमालेसहित संसदमा रहेका सवै दलको अधिकत सहमतिमा संशोधन प्रस्ताव पारित हुने वातावरण तयार गर्न पनि आफूले प्रधानमन्त्रीलाई आग्रह गरेको बताए।
झापा, मोरङ, सुनसरी तथा कैलाली र कञ्चनपुर टुक्राउन प्रस्ताव
सर्वदलीय बैठकमा गच्छदारले प्रदेशको सीमांकन मिलाउन पूर्वका तीन जिल्ला झापा, मोरङ, सुनसरी तथा सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्ला टुक्र्याउन प्रस्ताव गरेका छन्। बैठकबाट बाहिरिने क्रममा गच्छदारले आफूले प्रदेशको सीमांकन मिलाउन यस्तो प्रस्ताव राखेको जानकारी दिए।