मोर्चा फकाउने सरकारको रणनीति

मोर्चा फकाउने सरकारको रणनीति

काठमाडौं : सरकारले तराईमा गाउँपालिकाको संख्या बढाउने म्यान्डेटसहित स्थानीय निकाय पुनःसंरचना आयोगलाई प्रतिवेदन परिमार्जन गरी झन्डै ५० वटा गाउँ र नगरपािलका थप हुने भएको छ । आयोगले यसअघि देशभर ७ सय १९ गाउँपालिका हुने गरी संख्या र सिमाना तोकेको थियो ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रदेश नम्बर २ मा गाउँपालिकाको संख्यामा तीव्र असन्तुष्टि व्यक्त गरेपछि सरकारले त्यो क्षेत्रमा संख्या बढाउने निष्कर्ष निकालेको हो ।
उच्च स्रोतका अनुसार विशेष गरी प्रदेश नम्बर २ मा ५० वटा जति गाउँपालिका थप गर्नेगरी सरकारले गठन गरेको तीन जना मन्त्री सहभागी कार्यदलले प्रतिवेदन परिमार्जन गर्न लागेको हो ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले स्थानीय विकासमन्त्री हितराज पाण्डेको संयोजकत्वमा गठित प्रतिवेदन अध्ययन कार्यदललाई नै प्रतिवेदनमा देखिएका असन्तुष्टिलाई समेटेर परिमार्जन गर्न अधिकार दिएको छ ।

‘मधेसमा जनसंख्याको आधारमा गाउँपालिका निर्माणको म्यान्डेट सरकारले आयोगलाई दिएको छ’, एक मन्त्रीले अन्नपूर्णसँग भने, ‘प्रदेश नम्बर २ मात्रै करिब ५० गाउँपालिका थप हुने गरी आयोगले काम गर्नेछ ।’

सरकारलाई हस्तान्तरण गरिएको प्रतिवेदनमा तराईका २० जिल्लामा गाउँपालिका र नगरपालिकाको संख्या २ सय ४६ छ । जुन संख्याको ३५ प्रतिशत हो ।

सरकारले ३१ वैशाखमा घोषणा गरेको स्थानीय तहको निर्वाचनमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई समेत सहभागिताको वातावरण बनाउन सरकारले मोर्चाकै मागबमोजिम तराईका जिल्लामा स्थानीय तहको संख्या बढाउन लागेको हो । यद्यपि, मोर्चाले औपचारिक रूपमा संख्या बढाएर सहमति हुन नसक्ने बताउँदै आएको छ । उसले तराईमा ५१ प्रतिशत जनसंख्या भएकाले गाउँपालिकाको संख्या पनि सोहीअनुरूप हुनुपर्ने माग गर्दै आएको छ ।

स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनलाई टुंगोमा पु‍¥याउन संघीय मामिला तथा स्थानीय विकासमन्त्री पाण्डे नेतृत्वको कार्यदललाई एक साता समय दिइएको छ ।

२० माघमा प्रतिवेदन कार्यान्वयन सम्बन्धमा सुझाव दिन गठित कार्यदलले फागुन ५ गते साँझ अध्ययन प्रतिवेदन सर्वस्वीकार्य बनाउन तराईका जिल्लामा स्थानीय तहको संख्या बढाउन सुझाव दिएको थियो । मन्त्रिपरिषद्ले उक्त कार्यदललाई नै सरोकारवाला र विज्ञसँगको परामर्शमा संख्या थप्न कार्यादेश दिएको हो । ‘कार्यदलले मधेसमा स्थानीय तहको संख्या बढाउन दिएको सुझावलाई बैठकले स्वीकार गरेको छ’, सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले भने ।

अध्ययन कार्यदलले कति संख्या बढाउने भन्ने यकिन सुझाव नदिए पनि ५० गाउँ र नगरपालिका थप्ने गरी छलफल भएको स्रोतको दाबी छ ।

कार्यदलका सदस्यसमेत रहेका उद्योगमन्त्री नवीन्द्रराज जोशीले कांग्रेसका शीर्ष नेताको बैठकमा ब्रिफिङ गरी तराईमा ५० को हाराहारीमा गाउँपालिका र नगरपालिकाको संख्या बढाउनुपर्ने बताएका थिए ।

मधेसका साथै केही हिमाली जिल्लामा पनि संख्या थपेर अहिले देखिएको विवाद मिलाउन कार्यदललाई कार्यादेश दिइएको छ । मनाङ, मुस्ताङ, डोल्पालगाय जिल्लामा पनि गाउँपालिका विषयमा विवाद छ ।

आयोगको प्रतिवेदनमा तराईका २० जिल्लामा गाउँपालिका र नगरपालिकाको संख्या २ सय ४६ छ । जुन कुल गाउँपालिका र नगरपालिकाको संख्याको करिब ३५ प्रतिशत हो । मधेसी मोर्चाले भने उक्त संख्या वैज्ञानिक नभएको भन्दै जनसंख्याको अनुपातमा तराईका जिल्लामा स्थानीय तहको संख्या निर्धारण हुनुपर्ने माग राख्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.