निर्वाचन घोषणा सकारात्मक : एमाले
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय निर्वाचन घोषणाको स्वागत गरेको छ। राजधानीको धुम्बाराहीस्थित पार्टी मुख्यालयमा मंगलबार बसेको स्थायी समिति बैठकले निर्वाचन घोषणाको स्वागत गरेको हो।
बैठकले चुनावमा उत्साहपूर्वक सहभागी हुन सर्वसाधारणसँग आह्वान गरेको छ। बैठकले निर्वाचनको वातावरण बनाउन पनि सरकारसँग आग्रह गरेको छ। ‘बैठकले निर्वाचनको घोषणा सकारात्मक भएको निष्कर्ष निकालेको छ। तर, निर्धारित मितिमा निर्वाचन हुने ग्यारेन्टी हुनुपर्छ, यसका लागि आवश्यक वातावरण निर्माण गर्नुपर्छ’, पार्टीका प्रचार विभाग प्रमुख एवं सचिव योगेश भट्टराईले भने, ‘कानुनी र राजनीतिक वातावरण निर्माण गरी निर्वाचन सुनिश्चित गर्न बैठकले सरकारको ध्यानाकर्षण गराएको छ।’
बैठकले आयोगको प्रतिवेदन पुनरावलोकन गरे संवैधानिक जटिलता आउन सक्ने भन्दै आयोगको प्रतिवेदनकै आधारमा निर्वाचन गराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ।
यसैबीच, यसअघि पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन घोषणा सकारात्मक भएको प्रतिक्रिया दिएका थिए। फागुन तेस्रो सातादेखि सञ्चालन हुने मेची–महाकाली राष्ट्रिय अभियानको केन्द्रीय व्यवस्थापन कार्यालय उद्घाटन गर्दै ओलीले यस्तो प्रतिक्रिया दिएका हुन्। ‘निर्वाचन घोषणा सकारात्मक हो, अब सबै निर्वाचनमा लाग्नुपर्छ’, ओलीले भने।
ओलीले विविधताबीच एकता र बलियो सामाजिक सद्भावका लागि अभियानले सघाउने बताए। पार्टीको मेची–महाकाली अभियान अभूतपूर्व र असाधारण हुने उनले बताए। ‘यो महाअभियान हो, महापरिचालन हो। यो अभूतपूर्व र असाधारण हुन्छ’, ओलीले भने, ‘विविधताबीच एकता, बलियो सामाजिक सद्भाव र विकासमा अभियानले सघाउनेछ।’ उनले एमालेको अभियान कुनै पनि शक्तिविरुद्ध नभएको पनि स्पष्ट पारे। संविधानसभाबाट जारी संविधान र आफ्नो पार्टीबाट छरिएका भ्रम अभियानले चिर्ने ओलीले बताए।
अभियानमा अवरोध नगर्न अध्यक्ष ओलीले सबै राजनीतिक शक्तिसँग आग्रह गरे। ‘यो पूर्वनिर्धारित कार्यक्रम हो, कुनै पनि नाम र बहानामा यसमा व्यवधान नगर्न म सबैसँग आग्रह गर्छु’, उनले भने, ‘कसैले व्यवधान गरे दृढतापूर्वक प्रतिरोध गर्न एमाले बाध्य हुन्छ।’
एमालेले फागुन २१ देखि चैत ५ सम्म मेची–महाकाली अभियान चलाउने निर्णय यसअघि नै गरेको थियो। अभियानभर पार्टीका शीर्षस्थ नेता तराई मधेसमा रहनेछन्।
‘साताभित्रै आचारसंहिता लागू’
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित बनाउन एक साताभित्रै निर्वाचन आचारसंहिता लागू हुने बताएका छन्। शून्य सहनशीलताका आधारमा आचारसंहिता लागू हुने र लागू हुनासाथ कर्मचारी सरुवा, बढुवा र नियुक्ति सबै रोकिने प्रमुख आयुक्त यादवले जानकारी दिए।
रिपोर्टर्स क्लबद्वारा मंगलबार आयोजित कार्यक्रममा यादवले निष्पक्ष, स्वतन्त्र र स्वच्छ निर्वाचन गराउन आयोगले सम्पूर्ण शक्ति लगाउने बताउँदै भने, ‘हामी फ्री एन्ड फेयर निर्वाचन गर्छौं।’ उनले तोकिएकै मितिमा निर्वाचन गर्न आयोग सफल हुने विश्वास व्यक्त गर्दै निर्वाचन सफल पार्न तीन घन्टा नै पर्याप्त रहेको र आयोगसँग ८२ दिन समय रहेको बताए। उनले निर्वाचन हुनेमा अब शंका नगर्न आग्रह गरे।
यादवले निर्वाचनलाई चुनौतीभन्दा बढी अवसरका रूपमा लिएको उल्लेख गर्दै भने, ‘निर्वाचनको मिति घोषणा भइसक्यो। कानुन र ऐन आइसके, त्यसैले निर्वाचन हुन्छ।’ अक्सिजन बोकेर आरोहीले सगरमाथा आरोहण गरेको उदाहरण दिँदै उनले आयोगसँग लगनशील दक्ष जनशक्ति रहेको दाबी गरे।
सरकारले पनि आयोगलाई विश्वास दिलाएको उल्लेख गर्दै यादवले भने, ‘कुनै पनि साधन–स्रोत कमी हुन नदिने र आवश्यक जनशक्तिका लागि पूर्ण भरोसा दिलाएको छ।’ निर्वाचन सफल बनाउन राजनीतिक दल प्रमुख आधार भएको टिप्पणी गर्दै यादवले भने, ‘दलबीच विश्वासको वातावरण बढ्दै गएको छ। छलफल भइरहेको छ। यो सकारात्मक छ।’
यादवले स्थानीय निर्वाचन देश र जनताका लागि अत्यन्त आवश्यक रहेको बताए। उनले भने, ‘यो निर्वाचन नेपालीको जीवनसँग जोडिएको छ। खोसिएको अधिकार अहिले जनताले पाएका छन्।’
उनले मतपत्र जनक शिक्षा सामग्री केन्द्रको क्षमताले मात्रै छाप्न नभ्याउने भएकाले के गर्ने छलफल भइरहेको जानकारी दिए। उनले भने, ‘मतपेटिका पनि अन्यत्रबाट ल्याउनुपर्छ। ८० लिटर क्षमताका २५ हजार पारदर्शी मतपेटिका चाहिन्छ।’ उनले विद्युतीय भोटिङ मेसिनको सम्भावना नभएको समेत स्पष्ट पारे। उनले भने, ‘अब निर्वाचनमा मतपत्र नै प्रयोग हुन्छ।’