केपी ओलीले पाए चाणक्यको संज्ञा : भन्छन्, आध्यात्मबाट जीवन परिवर्तन गर्नुपर्छ
हेटौँडा : एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली एक भएर विकास र परिवर्तनको बाटोमा लाग्नुपर्ने बताएका छन् । नेपाल मानव धर्म सेवा समितिको ५० औं वर्ष प्रवेशको अवसरमा हेटौँडामा शनिबार सम्पन्न दुई दिने स्वर्ण जयन्ती सत्संग समारोहमा बोल्दै उनले भने, ‘आध्यात्मिक ज्ञानको माध्यमबाट मानव जीवन परिवर्तन गर्दै देश विकासमा लाग्नुपर्छ ।’
मानव धर्मको अभियानमा एक्येबद्धता जनाउँदै ओलीले खुशी मनले मानव र समाज सेवामा लाग्नुपर्ने बताए । आफ्नो देशको अस्थित्व खोज्दा ठूला देशले आफ्नो देशमा खतरा महशसु गर्ने गरेको भन्दै उनले थपे, ‘हामीले आफ्नो देशको अस्तित्व खोज्न पाउँछौं । हामीले आफ्नो अस्तित्व खोज्दा अरु आत्तिनु पर्दैन।’
समारोहलाई सम्बोधन गर्दै मानव धर्मका प्रणेता सतपाल जी महाराजले एमाले अध्यक्ष ओलीलाई नेपाली राजनीतिको चाणक्यको संज्ञा दिए । शान्तिको सन्देश दिने नेपालले बुद्धको ज्ञानलाई विश्वमा फैल्याउनुपर्ने उनको भनाइ छ ।
‘हाम्रो मुख्य काम देश निर्माण हो’, महाराजले भने, ‘देश निर्माणमा आध्यात्मिक र शान्तिको दिँदैअघि बढ्नुपर्छ ।’ सनातन धर्मलाई बिर्सिए सद्भाव र मानवता मरेर जाने उनको चिन्ता छ ।
सत्संग समारोहमा करिब ५० हजार भक्तजनले सत्संगमार्फत् आध्यात्मिक ज्ञान प्राप्त गरेको आयोजकले जनाएको छ । हेटौँडाका टिसिएन चौरमा सम्पन्न सत्संगमा नेपालसहित भारत, भुटान, युरोप र अमेरिकाबाट आएका भक्तजन सहभागी थिए।