भाँडा माझ्न पास भए विप्लव

भाँडा माझ्न पास भए विप्लव

थबाङ (रोल्पा): पार्टीको आठौं महाधिवेशन बन्दसत्रका लागि थबाङ पुगेका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफूले खाएको जुठो थाल सफा गरे । महासचिवले साबुन लगाएर मस्को लगाएको थालीलाई मेसमा खटिएका युवाले ओल्टाई–पल्टाई हेर्थे, कतै जुठो छ कि भनेर । थालमा जुठो भए फर्काउन बेर लाउँदैनथे पनि ।

‘धन्न फर्किनुपरेन । पुनः सफा गर्नुपरेन, पास हुनुभो’, मेसमा खटिएकी थबाङकी मगरभाषी एक युवतीले खस भाषामा बोलिन् । महासचिव विप्लव पनि मुस्काए । थालीमा जुठो देखिएपछि पुनः सफा गर्न परे ‘फेल’ भएको भन्दै मेसमा हाँसोको फोहोरा नै छुट्ने गथ्र्याे । फागुन ५–१० सम्म थबाङमा सम्पन्न बन्दसत्र अवधिभर महासचिवले जुठो थाल सफा गर्दा फेल हुनुपरेन । जुठो थाली मस्काउँदै गरेको दृश्य थबाङ पुगेका पत्रकारले क्यामेरामा कैद पनि गरे ।

महासचिव चन्द र नेता खड्कबहादुर विश्वकर्माले थबाङको ठूलो गाउँको मेसमा फागुन ५ मा बिहान खाना खाएर जुठो थाली सँगसँगै सफा गर्दै थिए । दुवैजनाले थाल माझेर मेसमा बुझाए । मेसमा केहीबेरपछि हाँसोको फोहोरा छुट्यो । कारण थियो, महिला नेत्री सम्झना घर्तीमगरले सफा गरेको थाली जुठो राम्ररी नपखालिएको भन्दै मेसका युवाले फिर्ता गरिदिएछन् । ‘म त एकपटक फेल भएँ’, घर्तीमगरले भनिन्, ‘एकपटक फेल भएँ, पुनः थाली माझेपछि पास भएँ ।’


प्रत्येक घरमा हसिया–हथौडा अंकित झन्डा फराएर पार्टीले थबाङमा फेरि एकपटक ‘जनयुद्ध’को झल्को दियो ।

थबाङ पुगेका आधा दर्जन पत्रकार थाली माझेर सफल भए पनि पत्रकार दीपेश पराई विष्ट असफल हुनुपर्‍यो । विष्टको थाली जुठो भन्दै फिर्ता गरिएपछि हाँसो चल्यो फेरि । यस्तो दृश्य थबाङमा बन्दसत्र अवधिभर चलिरह्यो । महासचिव चन्दले मात्र होइन, थबाङ पुगेका एक हजार प्रतिनिधि पर्यवेक्षक सबैले आफूले खाएको थाली माझेर फर्किए । सयौंका थाली जुठो भनेर फर्काइए । जुठो थाली पुनः सफा गर्न फर्किने डरले सबैजसोले साबुन थालीमा डलेर बस्सरी मस्को लगाएको देखिन्थ्यो ।

बन्दसत्रका प्रतिनिधि पर्यवेक्षक र पाहुनाका लागि पाँचवटा मेस सञ्चालनमा थियो । कार्यकर्ता र थबाङी मेसमा खटिएका थिए । मेसमा भात, दाल, तरकारी थियो । कहिलेकाहीँ खसी र राँगाको मासुसमेत व्यवस्था गरिएको थियो । प्रतिनिधि पर्यवेक्षकले आफूले खाने थालसमेत घरबाट नै बोकेर ल्याएका थिए । प्रत्येकले थाली ल्याएकाले र जुठो थाली स्वयम्ले मस्काएकाले थोरै जनशक्तिले पनि मेस व्यवस्थापन सहज बनेको जिल्ला पार्टी सचिव दलबहादुर खत्रीले जनाए ।

कम्युनिस्ट पार्टीमा आस्थावान्ले ‘आफ्नो काम आफैले गर्नुपर्छ’ भन्ने मान्यताबाट थाली माझ्ने गरिएको हो । ‘जनयुद्ध’का बेला पनि तत्कालीन नेकपा माओवादीका नेता कार्यकर्ताले पनि यसरी नै जुठा भाँडा मस्काउने गर्थे । प्रधानमन्त्री पुष्पकमल दाहाल र नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले पनि विगतको युद्धताका थाली माझेको गाउँलेको सम्झना छ ।

चन्द नेतृत्वको विगतको नेकपा (माओवादी) बन्दसत्रबाट अब नेपाल कम्युनिस्ट पार्टी बनेको छ । तर जुठो थाली माझ्ने लिगेसी कायमै छ । ‘ श्रमको सम्मान’ कम्युनिस्टको थेगो नै हो । आफूले खाएको थाली सफा गर्नु जायज भए पनि ‘आफ्नो सबै काम आफैले गर्ने’ भए राम्रो हुने टिप्पणी हुने गरेको छ । एकीकृत जनक्रान्तिको कार्यदिशा पारित गरेको नेपाल कम्युनिस्ट पार्टीका आगामी गतिविधि कस्ता हुन्छन् भन्ने सर्वत्र चासो छ । उक्त पार्टीले थबाङमा फेरि एकपटक ‘जनयुद्ध’को झल्को दियो, थाली माझेर र थबाङमा प्रत्येक घरका छानामा हसिया–हथौडा अंकित झन्डा फराएर ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.