सभापतिका उम्मेदवारले मतपत्र च्यातेपछि यज्ञोदय क्याम्पसमा लफडा
बुटवलः मतगणना भइरहेका बेला मतपत्र च्यातेपछि रुपन्देहीको फर्साटिकरमा रहेको यज्ञोदय बहुमुखी क्याम्पसमा तनाव उत्पन्न भएको छ। स्ववियु सभापतिका उम्मेदवार अनेरास्ववियु क्रान्तिकारीका मन्जित यादवले बिहीबार विहान ४ बजेतिर मतपत्र च्यातेपछि मतगणना स्थगित भएको हो।
निर्वाचनमा खसेको ४ सय १ मतमध्ये १८ वटा मत गन्न बाँकी रहँदा यादवले मतपत्र च्यातेको निर्वाचन अधिकृत हेमलाल पौडेलले जानकारी दिए। यादवले आफू पराजय हुने निश्चित भएपछि मतपत्र च्यातेको मतगणनामा खटिएका प्रतिनिधिहरुले बताएका छन्। गणना भएको मतअनुसार अनेरास्ववियु पहिलो, क्रान्तिकारी दोस्रो र नेविसंघ तेस्रो स्थानमा छन्।
अनेरास्ववियुले मत च्यात्नेलाई कारबाहीको माग गर्दै नजिता सार्वजनिक गर्न दवाव दिएको छ। अनेरास्ववियुले क्याम्पस घेराउ गर्दै निर्वाचन समितिको विरोध गरेको हो। अनेरास्ववियुका जिल्ला अध्यक्ष बालकृष्ण पाण्डेले च्यातिएको मत गन्दा समेत आफूहरुको जित भएको बताउँदै जे जस्तो अवस्था भए पनि तत्काल मतपरिणाम सार्वजनिक गर्नुपर्ने बताए।
निर्वाचन समितिले व्यवस्थापन गर्न नसकेपछि क्याम्पस व्यवस्थापन समितिको बैठक बसेको छ। बैठकले निर्णय लिने क्याम्पस प्रमुख खगुपति न्यौपानेले बताए। क्याम्पसमा तनाव भएपछि ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ। मत च्यात्ने व्यक्तिलाई फौजदारी अभियोगमा कारवाही गर्न सकिने निर्वाचन आचार संहितामा रहेको छ। मत च्यातेका यादवले आफूबाट गल्ती भएको भन्दै मतपरिणाम सार्वजनिक गर्न तयार भएका छन्।
तर, निर्वाचन समितिले अपुरो मत सार्वजनिक नगर्ने भन्दै अडान लिएको छ। अनेरास्ववियुले मतदान अधिकृतले राजनीति गरेको भन्दै चर्काे नारावाजी गरेका छन्।रुपन्देहीका अन्य तीन क्याम्पसमध्ये दुईमा नेविसंघ र एकमा अनेरास्ववियुले जित हासिल गरेका छन्। १२ वटा क्याम्पस मध्ये ४ वटामा मात्रै हिजो निर्वाचन भएको थियो ।