‘सम्पत्तिको स्वामित्व सुरक्षित राख्छाैं' (भिडियाेसहित)
काठमाडौंः नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले वैज्ञानिक समाजवादमा उच्च तहको नेतृत्वबाहेक अरूलाई निजी सम्पत्तिमाथिको स्वामित्व सुरक्षित गराउने भएको छ ।काठमाडौंको खुलामञ्चमा उद्घाटन गरी रोल्पाको थबाङमा बन्दसत्र गरेर सम्पन्न उक्त पार्टीको आठौं महाधिवेशनले वैज्ञानिक समाजवादमा जनताको सम्पत्तिमाथिको स्वामित्व सुरक्षित गराउने रणनीति पारित गरेको हो । उक्त पार्टीले राष्ट्रहितमा आउने विदेशी लगानीलाई पनि स्वीकार गरेको छ ।
चन्दसमेत सहभागी भएर सञ्चालन भएको माओवादीको सशस्त्र संघर्षका बेला निजी सम्पत्तिमाथि धावा बोलिएको थियो । उनले नेतृत्व गरेको पार्टीले पनि ‘सामन्त र जमिनदार' को आरोप लगाएर व्यक्तिका जमिनमा पार्टीको झन्डा गाडेको थियो । माओवादीले भारतीय लगानीका जलविद्युत् आयोजनालाई पनि अवरोध गर्दै आएको थियो ।
‘सांस्कृतिक, सामाजिक र आर्थिक विषयमा सोच्न थालेका छौं । राजनीतिक मात्रै होइन, दार्शनिक विषय पनि केलाएका छौं । जनवाद र अधिनायकत्वलाई मिलाउने मामिलामा कम्युनिस्टहरू चुकेका छन् । हामीले भनेको वैज्ञानिक समाजवादमा कामअनुसारको दाम हुन्छ । समाजवादमा सम्पत्तिमा निजी स्वतन्त्रतासहित जानुपर्छ भन्ने निष्कर्षमा पुगेका छौं', बिहीबार काठमाडौंको राष्ट्रिय नाचघरमा आयोजित पत्रकारसम्मेलनमा चन्दले भने ।
नयाँ पुस्तालाई पुरस्कृत गर्ने र पुरानो पुस्तालाई सम्मान गर्ने नीति अवलम्बन गरेको पार्टीले निजी सम्पत्तिको स्वामित्व अधिकार प्रदान गर्ने वैज्ञानिक समाजवादको रणनीति अवलम्बन गरेर मध्यमवर्गलाई आफूप्रति आकर्षित गर्ने योजना बनाएको छ । नियमित सांगठनिक कामबाट अवकाश लिएका नेताहरूको भरणपोषणको व्यवस्था गर्न कोष खडा गर्ने नीति पनि उक्त पार्टीले पारित गरेको छ ।
चन्दले कम्युनिस्ट पार्टीको प्रमुख नेतृत्वका हकमा भने निजी सम्पत्तिमा स्वामित्व रहने अधिकार दिन नहुने बताए । केन्द्रीय समिति, स्थायी समिति र पार्टीको महासचिवले भने निजी सम्पत्तिमा स्वामित्वको अधिकार राख्न नपाउने व्यवस्था गरिनुपर्ने नीति पारित गरिएको जानकारी उनले दिए । ‘केन्द्रीय समिति, स्थायी समिति र महासचिवले आफ्नो सम्पूर्ण समय समाज र राज्यलाई दिनुपर्छ । उनीहरूका लागि आवश्यक खर्च त्यही समाज र राज्यले बेहोर्नुपर्छ ।
नेताहरूको जीवनशैली सरल, पारदर्शी र आदर्श हुनुपर्छ', उनले भने । चन्दसहित माओवादी आन्दोलनमा होमिएका नेताहरूले पनि सशस्त्र संघर्षको अवधिमा निजी सम्पत्ति पार्टीलाई बुझाएका थिए । तर माओवादी आन्दोलनका नेताहरूले अहिले अकूत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेका छन् भने नेताहरूको जीवनशैली भड्किलो देखिँदै आएको छ ।
केन्द्रीय समिति, स्थायी समिति र पार्टीको महासचिवले भने निजी सम्पत्तिमा स्वामित्वको अधिकार राख्न नपाउने ।
राष्ट्रिय पुँजीपतिवर्गको रक्षा गर्ने र राष्ट्रहितविपरीतको लगानीलाई रोक्ने रणनीति पनि उक्त पार्टीले अवलम्बन गरेको छ । ‘राष्ट्रहितमा लगानी गर्नेहरूलाई प्रेरित र प्रोत्साहित गर्ने नीति लिएका छौं । राष्ट्रिय पुँजीपति र उद्योगपतिलाई प्रोत्साहन गर्र्नेछौं । बाह्य पुँजी पनि राष्ट्रहितमा ल्याउनुपर्छ', चन्दले भने । चन्दले शान्ति, स्थिरता, विकास र समृद्धिका लागि संसदीय व्यवस्थाको ठाउँमा नयाँ जनवादी र वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न संघर्ष गर्नुपर्नेमा जोड दिए ।
स्थानीय तहको निर्वाचनको औचित्य नरहेको भन्दै चन्दले त्यो निर्वाचन खारेज गराउन आफूहरूलाई हालका प्रधानमन्त्री पुष्पकमल दाहालले सिकाएको बताए । ‘०५४, ०५६ र ०६१ को निर्वाचनलाई प्रचण्डले सिकाएअनुसार हामीले ध्वस्त पार्यौं । अब अहिले प्रचण्डले घोषणा गरेको चुनावको हालत पनि त्यस्तै हुन्छ । चुनाव गराएर संसदीय व्यवस्था टिकाउन खोज्नु आर्यघाटमा पुगेको मुर्दालाई फिर्ता ल्याएजस्तै हो', उनले भने ।
भारतलाई विस्तारवादीको आरोप लगाउँदै आएको उक्त पार्टीले महाधिवेशनपछि साम्राज्यवादीको संज्ञा दिन थालेको छ । ‘भारतले गोवा, कस्मिर र सिक्किम खाएपछि साम्राज्यवादी नै हो । भारत दक्षिणएसियामा क्षेत्रीय साम्राज्यवादी बन्दै आएको छ', चन्दले भने ।
भिडियाे हेर्नुहाेस्