जो अध्यात्म यात्रामा ठगिए

जो अध्यात्म यात्रामा ठगिए

सम्झना आउँछ कुसुम पगलीको । कुसुम उनको नाम थियो भने पगली उनलाई आम मानवीय व्यवहारभन्दा पृथक् भएकाले हामीजस्ताले प्रदान गरेको फरक पहिचान थियो । पहिलोपटक उनलाई पाइलट बाबाको नैनीताल आ श्रममा देखेको थिएँ । पातली, अग्ली, आफ्नो सामानको पोको सधैं आफूसँग राख्ने, कोही उनको वा उनको सामानको छेवैमा पुग्यो भने झस्किँदै चिच्याउने, ‘तँ मेरो सामान चोर्न आएको होस् ? ' आ श्रमवासी वा आगन्तुक सबै पाइलटबाबाप्रति अति सम्मान आदरभाव, गुरुभाव राख्ने तर कुसुम भने बेग्लै, उनले कहिल्यै बाबाप्रति आदर दर्शाइनन् ।

हामी बाबासँगै बसेर चर्चा गरिरहेका हुन्थ्यौं । त्यो बेलासम्म नैनीताल आ श्रममा प्रशस्त खुल्ला ठाउँ थियो, जुन अहिले पाइँदैन । बाबालाई भवन निर्माणको औधी रहर छ । हामी आ श्रमको कुनै पनि खुला ठाउँमा एउटा कुर्सी राखेर भुइँमा केही ओछ्याएर पर्खेर बस्थ्यौँ । बाबा त्यै कुर्सीमा आएर हामीसँग वार्तालाप गर्नुहुन्थ्यो । त्यो बेलासम्म उहाँ अहिलेको जस्तो व्यस्त हुनुहुन्थेन, अहिलेको जस्तो कुशल व्यावहारिक, मर्यादित वक्ता र शास्त्रीय पनि हुनुहुन्थेन । एकदिन त्यसैगरी हामी बाबासँग बसेर कौतुहलको निदानमा रमेका थियौं, कुसुम आइपुगिन् र कड्किदै भनिन ‘मेरो लागि कुर्सी खै र बाबाले हाँस्दै एकजनालाई कुर्सी ल्याउन पठाउनुभयो । कुसुम बाबासँगै कुर्सीमा बसिन् ।

एकदिन बाबाले कुसुमको बारेमा हामीलाई जानकारी दिनुभयो । ‘यी महिला कोलकाताको एउटा करोडपति परिवारको सदस्य थिइन् । राम्रै पढे लेखेकी छन् युवावस्थामा नै यिनलाई आध्यात्मिक हुन मन लाग्यो । नारायणदत्त श्रीमालीका पुस्तक पढेर यिनी मन्त्रमुग्ध भइन र युवा जोसमा यिनी घरबार छाडेर गुरु कहाँ पुगिन् । गुरुले कहिले यो त कहिले त्यो साधना गराउँदै यिनको शोषण गरे । कहिले कपोलकल्पित महामानव पात्रहरूको खोजीमा हिमालय यात्रा गर्ने निर्देश त कहिले यो अनुष्ठान गर, कहिले त्यो अनुष्ठान गर भने । यिनको सारा सम्पत्ति गुरुले लुटे, अध्यात्मको नाममा शोषणबाहेक यिनले केही पाइनन् । सम्पत्ति सकिएपछि गुरु आ श्रमको द्वार पनि यिनका लागि बन्द भयो । यिनलाई बौलाहा बनाउनमा तिनै गुरुको हात छ ।'

पाइलट बाबाबाट कुसुमको कथा सुनेपछि उनीप्रति दया लाग्नु स्वाभाविकै थियो । मैले बाबासँग सोधे, ‘गुरुले पनि यस्तो गर्न सक्छ ? यस्तालाई पनि गुरु भन्ने ? ' उहाँले प्रत्युत्तरमा भन्नुभयो, ‘बेटा, यो संसार हो, यहाँ सबै कुरा छ, धर्ममात्रै सर्वत्र व्याप्त छ भने तपाईं धार्मिक भएको के नै मूल्य ? भ्रष्ट हुने सबै सम्भावना प्रचुर मात्रामा विद्यमान हुँदाहँदै पनि यदि तपाईं नैतिकवान् हुनुभयो भने न नैतिकताको मूल्य हुन्छ ।'

बाबा अध्यात्ममा पनि यस्तो धोखा हुन्छ भने साधकले सच्चा गुरु कसरी भेट्टाउने ? उहाँ भन्दै जानु भो, ‘अध्यात्ममा त संसारभन्दा पनि बढी धोखा छ र हुनु पनि पर्छ । उद्देश्य जति ठूलो, वाधा व्यवधान पनि त्यति नै मात्रामा बढी हुनु स्वाभाविक होइन र ? कुसुममात्रै होइन अध्यात्म यात्रामा ठगिएकाको नामावली लामै छ । साधक अन्धविश्वासी भएर हिँड्यौं भने, ‘गुरु सच्चा छ' भने त मुक्ति नै पाउँछ तर गुरु यदि नकाबधारी छ भने कुसुमकै नियति भोग्न नपर्ला भन्न सकिन्न ।

उपाय एउटामात्र छ जबसम्म यो निक्र्योल हुन्न गुरु सच्चा छ कि छैन साधकले खुल्ला आँखाले, खुल्ला मस्तिष्कले जाँच्नुपर्छ । गुरुलाई भगवान् मान्ने होइन, गुरु भगवान् हुँदा पनि होइन, यो आधुनिक फेसन त रजनिशजीले चलाएका हुन्, उनको देखासिकीमा अन्यअन्यले पनि आफूलाई भगवान् घोषित गरेका हुन् । गुरु शिष्य संवाद दोहोरो हुन्छ, उपनिषद्लाई हेर, गीतालाई हेर त्यहाँ शिष्यले गुरुसँग कस्ताकस्ता प्रश्न गरेका छन्, प्रश्नैप्रश्नले समाधान प्राप्त गरेका छन । आफ्नो सबै शंका समाधान नगरेसम्म कसैलाई पनि गुरु नमान ।'

यो संसार हो, यहाँ सबै कुरा छ, धर्ममात्रै सर्वत्र व्याप्त छ भने तपाईं धार्मिक भएको के नै मूल्य ? भ्रष्ट हुने सबै सम्भावना प्रचुर मात्रामा विद्यमान हुँदाहँदै पनि यदि तपार्इं नैतिकवान् हुनुभयो भने न नैतिकताको मूल्य हुन्छ ।

मैले बेमौसममा कुसुम एवम् पाइलट बाबाको प्रसंग किन स्मृतिबाट तानेर थोपरिरहेको छु ? जिज्ञासा स्वाभाविक हो । यो अकारण होइन, जब मैले हाम्रो सहर काठमाडौंमा युवा कुसुम झैं एक पात्र भेटेँ, उनको भोगाइ सुनेँ, अनि लाग्यो अध्यात्मको नाममा हुने यस प्रकारका ठगी, शोषण र सम्मोहनबारे लेख्नुपर्छ, कुसुमदेखि गंगासम्म । गंगा काठमाडौंको एउटा धनी घरानाकी युवती हुन्, बाउआमा, दाजुभाइ सबै अमेरिकामा बस्छन् । काठमाडौंको सारा सम्पत्तिको भोक्ता उनीमात्रै हुन् । अहिले पनि युवा छन्, सुन्दर र आकर्षक छन् । केही वर्ष पहिला उनको बिहे भयो, तर विस्तारै त्यो नयाँ सम्बन्धसँग उनको मानसिक तारतम्य मिलेन । उनी अशान्त रहन थालिन् । उनको कुनै साथीले काठमाडौंको एकजना गुरुकहाँ जाने परामर्श दिए । केही वर्ष पहिला काठमाडौंमा ती गुरुको बडो जगजगी थियो । गुरु प्रखर वक्ता थिए ।

हुन त ती गुरुलाई मैले २०४५ सालमै चिनेको थिएँ, जुन बेला म आशीष ध्यान केन्द्र जाने गर्थें । उनी रजनिशका ‘फ्यान'लाई निम्तो दिईदिई बोलाउथेँ चिया ख्वाउथेँ, कुरा गर्थे । त्यसपछि दुईतीन वर्ष ती कतै घुम्न गए र फर्केर आउँदा ‘स्वयम्भू मास्टर' भइसकेका थिए । गंगाले सुनाइन्, ‘म घरायसी क्लेश र मानसिक अशान्तिको निवारणार्थ ती गुरुकहाँ जान थाले । उनका कुराले मलाई राहत महसुस भयो, मसँग पैसाको कमी थिएन । मैले धेरै पटक ५० हजारको चेक काटेर गुरुलाई अर्पित गरेँ । तर बिस्तारै मलाई लाग्न थाल्यो म ठगिँदै छु । अनि मैले ती गुरुबाट आफूलाई पृथक् राख्ने निर्णय गरेँ ।

त्यसपछि मैंले श्रीमानसँग पारपाचुके गरेँ। तर अरू कुराको ‘एडिक्सन' जस्तै मुक्त, स्वछन्द जीवन, ध्यान, निष्फिक्रिता, समाधि, ‘एनलाइटेन्डको' नशा मभित्र बसिसकेको थियो । म युवा युवतीहरूमा ‘पपुलर' अर्को आ श्रमतिर लागेँ । त्यो आ श्रमको वातावरण र क्रियाकलाप मेरो प्रकृतिको अनुकूल थियो । नृत्य गर्दै ध्यान गराइन्थ्यो, गुरुका प्रवचन सुनाइन्थ्यो र त्यहाँ आउने जाने सबैको व्यवहार बडो खुलस्त हुन्थ्यो । कामलाई पनि त्यहाँ अन्यत्र जस्तै बन्देज थिएन र पूर्वअनुभवअनुसार मैले थाहा पाएँ, त्यहाँका गुरुलाई मेरो आर्थिक हैसियतसँग सरोकार थिएन । आ श्रमको निश्चित शुल्क तिरेपछि अन्य कुनै रूपमा पैसाको कुरा हुँदैनथियो ।'

उनले आफ्नो कथाको सुनाउँदै गइन्, ‘म त्यो आ श्रममा रम्दै गएँ, एक दिन गुरुले मलाई आफ्नो कक्षमा डाक्नुभयो । अध्यात्मिक वार्तालाप भयो, ध्यानका बाधाबारे बताउनुभयो र ममा ध्यानमा जाने विपुल सम्भावना रहेको उजागर गर्नुभयो । आ श्रमको ध्यान कक्ष र आ श्रम भरी युवायुवतीले आलिंगन गर्नु सहज र स्वाभाविक मानिन्थ्यो । यसलाई गुरुले ‘एनर्जी को ट्रान्सफार्मेसन' प्रक्रिया भन्नुहुन्थ्यो र त्यहाँ ‘अनकन्डिसनल लभ' को लम्बेतान चर्चा गरिन्थ्यो । गुरुले वार्तालापपश्चात मलाई आलिगन गर्ने प्रस्ताव राख्नुभयो, मैले अहो भाग्य ठानेँ, गुरुले मलाई आलिंगन गर्ने । म प्रमुदताका साथ आलिंगनबद्ध भए, बिस्तारै गुरुको हात अन्य अंगमा पुग्न थाल्यो, म आफुलाई छोडाएर भागेँ । अहिले पनि त्यै आ श्रम, तिनै गुरुकोमा जान्छु, तर मलाई थाहा छ त्यहाँबाट मैले केही पाउँदिन, न समाधि, न ‘एनलाइटमेन्ट' । जीवनमा दुईटा गुरुको संगत गरियो, एउटा द्रव्य पिशाच निक्लियो अर्को काम पिशाच । कहिलेकाहीँ मलाई आफैंसँग वैराग्य लाग्छ ।'

उनको मसँग प्रश्न थियो, ‘म कसरी अध्यात्म पथमा आफूसँग केही नभए पनि, केही चाहना नराखेर हिँडिरहेको छु ? ' उनको शब्द र आसयमा खुसी र सन्तुष्ट पनि छु । मैले उनलाई जवाफ दिनु सट्टा सोधें तिमीसँग यस्तो हँदाहँदै पनि तिमी तिनै गुरुको सम्पर्कमा छौं यो कसरी सम्भव भयो ? या त तिमीले केही लुकाइरहेकी छौं, अस्मिता जोगाएर बोलिरहेकी छौ । ध्यान, समाधि, उच्चतम चेतनाबारे त तिमीले दुईदुईजना गुरुको लीला हेरिसक्यौ । के अब तिमी आफू पनि यही ‘गुरुडम क्यारिएर' बनाउन प्रयत्नशील छौं ?

मलाई कुनै ‘क्यारियर' बनाउन आवश्यक छैन । मसँग आफ्नो जीवन सुविधाले बिताउने यथेष्ट सम्पत्ति छ । भर्खरै मैले अर्को बिहे पनि गरेकी छु । म ‘एनलाइटमेन्ट' चाहन्छु त्यसका लागि लागिपरेकी छु । ‘एनलाइटमेन्ट' कुनै यस्तो बस्तु त होइन जुन गुरुले तिमीलाई देओस् र बदलामा तिमीले आफ्नो पैसा वा शरीरले गुरुलाई मूल्य चुकाइदेऊ' मैले भन्न करै लाग्यो- ‘हेर जबसम्म तिमीमा यस्तो चाहना रहन्छ तिमी जुनसुकै गुरुकहाँ गए पनि ठगिने क्रम जारी रहन्छ । मेरो खुसी र सन्तुष्टिको ‘किमिया' सोध्छौ धने म अध्यात्म मार्गमा केही पाउने वा हुने न चाहना राख्छु, न आशा नै गर्छु ।

मैले कुसुम र गंगाको परिस्थित केलाएँ । कुसुमका गुरु तन्त्रमन्त्र मर्मज्ञ, ज्योतिषविद् श्रीसाधनादेखि श्मशान साधनाका व्याख्याता, सम्मोहन, अन्धविश्वासका पुरोधा थिए । कुसुम उनको वाग्जाल, मायाजालबाट समय रहँदै उम्किन सकिनन् । गंगाको हकमा उनका दुवै गुरु आधुनिक थिए उनीहरूलाई वास्तवमै कुनै कुराको ज्ञान थिएन । फगत आधुनिक गुरुहरू अरविन्दो, रमण महर्षि, जे. वृष्णमूर्ति रजनिशलगायत अन्य चिन्तक विचारक र केही मार्डन साइन्स एवम् मनोविज्ञानसम्बन्धी पुस्तक पढेर स्थापित भएका हुन् । कुरा यिनीहरू मनको गर्छन् । यिनीहरूको आफ्नै मन भने दाममा, काममा निमग्न हुन्छ । पहिलो गुरुबाट बेलैमा सजग नभएको भए आज गंगा पनि कुसुम झैं हुन पुग्थिन कि ?

अर्को एउटा घटनाको स्मरण, बौद्धमा व्यवसाय गर्ने एकजना मेरा साथी काठमाडौंकै एकजना बुद्ध पुरुषको कुचक्रमा परेर मारिए । सानो उमेरमै उनले धेरै उन्नति गरेका थिए । निकै पैसा कमाएका थिए, कुनै साथीले गुरुकहाँ पुर्‍याएछन् । कुरा त कुन गुरुले पो नराम्रो गर्छ ! उनी गुरुको मायाजालमा फस्दै गए । अविवाहित उनी आफ्ना अन्य दुई भाइसँग व्यवसायमा एकपछि अर्को खुड्किलो चढ्दै थिए । सामान्य पसलबाट ‘डिपार्टमेन्टल स्टोर' बनाउन सफल थिए । उनै गुरुले आफ्नै एउटी शिष्यासँग उनको बिहे गराइदिए । पछि पतिको हत्या भयो सम्पत्तिमा कब्जा भयो । अन्य दुई भाइ पुनः सानो पसलमा झरे । उनका भाइले मलाई सारा वृत्तान्त भने अहिले ती बौद्धमै व्यवसाय गरेर बसेका छन् ।

अध्यात्म यात्रामा हिँड्न इच्छुक कसैलाई हतोत्साहित गर्ने आसय होइन पंक्तिकारको, मात्र यस पवित्र संसारमा हुन सक्ने सम्भावित दुर्घटनाबाट सचेत गराउने उद्देश्य हो । पथिकले त्यसै हौसिएर बुद्धत्वको खोजीमा, अथवा कुण्डिलनी जागरणमा, वा शक्तिपातका पछाडि दौडिने कार्यमा नलागे सम्भावित दुर्घटनाबाट जोगिन सकिन्छ । इन्टरनेट र प्रिन्ट मिडियाको यस उन्नत युगमा अध्यात्मका सबैमार्ग, उपमार्ग, शाखा, प्रशाखाबारे घरमै बसीबसी नै जानकारी पाउन सकिन्छ । आफूलाई कस्ले आकर्षण गर्छ त्यससम्बन्धी अझ गहिरो अध्ययन गर्न सकिन्छ । त्यो विधाबारे आपूmले यावत् जानकारी आर्जन गरेपछि ‘यदि लाग्छ गुरु चाहिन्छ' भने त्यो बेला गुरु खोज्दै जानुस् । सेयरबजारको केही जानकारी नलिई त कोही पस्दैन त्यहाँ, विज्ञसँग जानकारी लिने गरिन्छ । अनिमात्र सेयर कारोबारमा ओर्लिइन्छ । गुरु खोजीमा पनि यो पद्धति अनुकरण गरे हुन्न र ?

कुनै पनि सद्गुरुले मात्र होइन सबै खाले गुरुले मञ्चबाट कहिल्यै भन्दैन, ‘म बुद्धत्व दिन सक्छु' । मञ्चबाट स्पष्ट भनिन्छ, म मार्ग देखाउन सक्छु, म पथ प्रदर्शक हो, यात्रा तिमीले आफैं गर्नुपर्छ, गुरु कृपाले होइन, तिम्रो साधनाले, लगन-निष्ठाले, तिमी आफ्नो अभीष्ट पाउन सक्छांै । यो त शिष्यको गुरुप्रतिको माया, प्रेम, सद्भाव, सम्मान र परम्परा हो कि शिष्यले भन्छ- ‘गुरुकृपाले मैले पाएँ ।' तर सद्गुरु बाहेकका गुरुले तपाईंलाई आफ्नो कक्षमा बोलाई शक्तिपात गर्ने, साक्षात्कार गराइदिने, ४० दिनमै कुण्डलिनी जगाइदिने प्रलोभन दिन्छ र तपाईं सदाको लोभी, यहाँ पनि आफ्नो यही चरित्रले फस्नुहुन्छ । न्यायको आँखाले हेर्ने हो भने दोषी तपाई पनि उत्तिकै हो ।

अध्यात्म पथिक एकजना अन्य मित्रको उद्गारबाट यो लेखको पूर्णतातिर लागौं । कुनै जमानामा गोरखापत्र संस्थानका कर्मचारी, पछि ‘बैंकर' भएका एकजना मित्र काठमाडौंकै एकजना स्थापित गुरुको शिष्य हुनुभयो । अहिले उहाँ पनि गुरु बन्नुभएको छ र २० वर्षपछि भेट हुँदा भन्नुभयो- ‘अध्यात्मको खोजीमा मेरो काठमाडौंमा रहेका दुईटा घर बिके, गुरुका आ श्रम बने । अब यही व्यवसायले नै मैले घर र आ श्रम बनाउनु छ । मैले दुई चारजनाको घर बिकाउँछु, जसरी मेरा गुरुले मेरो घर बिकाए र आफ्नो बनाए । म पनि उनकै चेलो हुँ, उनकै पथ अनुसरण गर्छु ।' होस गर्नुहोला कतै तपाईं यिनै गुरुको फेला पर्न पुगिराख्नु भएको त छैन ?


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.