मधेशमा एमाले : पकड जोगाउने चुनौती
मेची–महाकाली राष्ट्रिय अभियान थाल्नु अघिल्लो दिन अर्थात् २० फागुन अपराह्न झापाको बिर्तामोडमा बसेको एमाले स्थायी समिति बैठकको उद्देश्य थियो, मधेशका २० जिल्लाबाट पार्टीको नेतृत्वमा सहभागिता बढाउने । सोहीअनुसार १२ केन्द्रीय सदस्य र आठ वैकल्पिक केन्द्रीय सदस्य थपिए । एक जनालाई केन्द्रीय सल्लाहकार र एक महिला नेतृलाई सात नम्बर प्रदेश कमिटीमा मनोनित गरियो । पार्टी विधानले नै नचिन्ने त्यस मनोनयनको अन्तर्यमा भने कोशी ब्यारेज कटेर प्रदेश २ मा प्रवेश गर्दैगर्दा भव्य स्वागत पाइने मनोकांक्षा लुकेको थियो ।
तर, भइदियो उल्टो । सुनसरी सदरमुकाम इनरुवा पुग्दा कालोझण्डा देख्न थाले, एमाले नेता/कार्यकर्ताले । अध्यक्ष केपी ओलीविरुद्ध नारा मात्र लगाइएन, फोरम नेपालकी पूर्वसभासद् सविताकुमारी यादवले अभियानको ‘पोट्रेट’ सजाइएको गाडीमा चप्पल प्रहार गर्दै गरेको दृश्यसमेत देखियो । सामान्य विरोध छल्दै सप्तरी सदरमुकाम राजविराजस्थित औद्योगिक क्षेत्रमा सभा सम्पन्न हुँदासम्म पनि स्थिति असामान्य बनिसकेको थिएन । नेता/कार्यकर्ताले सभास्थल छाड्दै गर्दा मधेशी मोर्चाआवद्ध दलका कार्यकर्ता सुरक्षा घेरा तोडेर अगाडि बढ्न खोजे, रोक्ने प्रयास असफल हुँदै गएपछि गोली चल्यो । जसका कारण चार जनाको ज्यान गयो ।
स्थिति त्यतिमै सीमित रहेन । प्रदेश २ का आठ जिल्लामा स्थायी बसोबास भएका एमाले नेता मात्र होइन, प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको घरमा समेत तोडफोड र आगजनी गरेका छन्, मधेशी दलका कार्यकर्ताले । एमाले केन्द्रीय सदस्य सुमनराज प्याकुरेलको राजविराज ४ स्थित घर, अर्का नेता रामानन्द देव सञ्चालक रहेको लिटिलफ्लावर स्कुल र घर, पार्टीको सप्तरी जिल्ला कार्यालयलगायतमा तोडफोड र आगजनी गरेका छन् । त्यसको प्रभाव सिरहा, धनुषा, पर्सा, बारालगायत जिल्लामा पनि देखिएको छ ।
एमालेलाई सामाजिक वहिष्कारसम्मको घोषणा भएको छ, जसका कारण प्रदेश २ का उक्त पार्टीका कार्यकर्ता त्रसित बनेका छन् । तोडफोड र आगजनीको नेतृत्व मधेशी दलकै स्थानीय नेताहरूले गरिरहेको देखिँदा तनाब सजिलै साम्य हुने संकेत कमजोर छ । गल्ती र कमजोरीको सूचीमा जस–जसको नाम चढे पनि यस घटनाले राष्ट्रिय राजनीतिलाई नै भिडन्तउन्मुख गराएको छ ।
यहाँनेर स्मरण गर्नैपर्ने विषय के हो भने एमालेको अभियान झापाबाट अगाडि बढ्दै गर्दा सप्तरीका प्रमुख जिल्ला अधिकारीले सम्भावित भिडन्तबारे सजग गराउँदै स्थिति नियन्त्रणबाहिर गए बल प्रयोग गर्ने बताएका थिए । र, काठमाडौंमा मधेशी मोर्चाले सप्तरी आफ्नो नियन्त्रणमा नरहेको बताएको थियो । त्यसो भए किन सम्भावित भिडन्ततर्फ ध्यान पुर्यााउन सकेन एमालेले ?
मधेशमा सधैं दोस्रो स्थान पक्का गर्दै आएको एमाले आगामी निर्वाचनमा आफ्नो स्थान जोगाउने कठिन अभ्यासमा देखिएको छ ।
‘यो मोर्चाको सामाजिक फाँसीवादी चरित्र हो, १७ सय किलोमिटर पार गर्ने हाम्रो अभियान कुनै पार्टीको विरुद्ध होइन,’ एमाले प्रदेश २ इन्चार्ज सत्यनारायण मण्डल भन्छन्, ‘एउटा राष्ट्रिय पार्टीले कार्यक्रम गर्न किन नपाउने ?’ खासमा, मधेशमा चल्दै आएको निषेधको राजनीतिले पछिल्लो अवस्था सिर्जना गरेको कुरामा भने सबैको सहमति झल्किन्छ । मण्डल प्रश्न गर्छन्, ‘यसलाई लोकतान्त्रिक विधि कसरी मान्ने ? मोर्चाले मात्र लोकतन्त्रका लागि लडेको थियो र ?’ उनका अनुसार कार्यक्रम हुनु चार दिन अघिदेखि नै मोर्चा कार्यकर्ताले एमाले कार्यकर्तामाथि आक्रमण गर्न थालिसकेका थिए ।
एमालेको मधेश साइनो
एमालेको मधेश साइनो खोतल्न पञ्चायतकालीन भूमिगत राजनीतिदेखि नै केलाउनुपर्छ । प्रदेश २ नै स्थायी थलो भएका पत्रकार महासंघका पूर्वसभापति धर्मेन्द्र झाका अनुसार तत्कालीन नेकपा माले र नेकपा संयुक्तले पहाडसहित मधेशलाई पनि आफ्नो गतिविधिको केन्द्र बनाएका थिए । सप्तरीमा जयकृष्ण गोइतलगायत कम्युनिस्ट नेताले त्यतिबेलै बलियो उपस्थिति देखाएका थिए ।
धनुषा छेरा कचहरीमा झलनाथ खनाल र ईश्वर पोखरेलले भूमिगत जीवन बिताएका थिए । रौतहटमा माधवकुमार नेपालको सशक्त उपस्थिति थियो । धनुषामै रामचन्द्र झा, रघुवीर महासेठ, सत्यनारायण मण्डललगायत नेता सक्रिय थिए । धनुषा र सिरहाको सीमा क्षेत्रलाई नेकपा चौमका निर्मल लामाले पनि आफ्नो भूमिगत गतिविधिको केन्द्र बनाएका थिए । सिरहाको कमला क्षेत्रमा ‘मडान’ उपनाम कम्युनिस्ट नेताको जगजगी थियो । रौतहटमा तुलसीलाल अमात्य तथा धनुषा र महोत्तरीमा विष्णुबहादुर मानन्धरका समूह पनि सक्रिय थिए ।
यद्यपि, प्रदेश २ का आठ जिल्ला कांग्रेसको गढका रूपमा देखिए, ०४६ सालको परिवर्तनपछि । मधेशका बासिन्दा परम्परागत हिसाबले कांग्रेसका मतदाता देखिए । तर, सबैजसो जिल्लामा एमालेले पनि हरेक आम निर्वाचनमा १÷२ सिट जितेकै थियो । ०४८ सालको आम निर्वाचनमा कमजोर नै सही एमाले कांग्रेसपछि दोस्रो दल थियो मधेशमा । ०५१ को आम निर्वाचनमा भने एमालेले राम्रो शक्ति आर्जन गर्योे । ०४९ सालको स्थानीय निर्वाचनमा एमाले दोस्रो स्थानमै रह्यो । ०५४ सालको स्थानीय चुनावमा भने कांग्रेसलाई उछिनेर पहिलो दल बन्यो । ०५६ सालको आम निर्वाचनमा एमाले विभाजित भइसकेको थियो । र, फेरि दोस्रो स्थानमा झर्योश ।
२०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा ६३/६४ को मधेश आन्दोलनको प्रभाव पर्योर । माओवादी पहिलो शक्ति बन्यो भने मधेशी दलहरू दोस्रो स्थानमा रहे । कांग्रेस तेस्रो र एमाले चौथो शक्ति बने । कांग्रेसको मत मधेशी दलले ताने, एमालेको मत माओवादीतिर पनि गएको देखियो । ०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा माओवादी र मधेशी दल खुम्चिए, कांग्रेस र एमालेले पहिलो र दोस्रो दलका रूपमा आफ्नो पुरानो शक्ति फर्काए । समानुपातिकतर्फको मत भने राजतन्त्र र हिन्दु धर्मका नाममा राप्रपा नेपालले पर्याप्त बटुल्यो ।
यस हिसाबले कांग्रेस, मधेशी दल र राप्रपा नेपाल गरी लोकतान्त्रिक मत तीन ठाउँमा विभाजित देखियो समानुपातिकमा । ‘प्रदेश २ का आठ जिल्लाको कुरा गर्दा लोकतान्त्रिक मत नै बलियो देखिन्छ र वामपन्थी मत कमजोर,’ पत्रकार झा भन्छन्, ‘मधेशका बासिन्दा लोकतन्त्रवादी नै देखिन्छन् ।’ यद्यपि, पछिल्लो समय भने त्यस क्षेत्रमा देखिएका अलोकतान्त्रिक गतिविधिले झाको बुझाइ खण्डन गर्छन् ।
२०५० सालमा एमालेले पाँचौँ महाधिवेशनलगत्तै नेता रामचन्द्र झा नेतृत्वमा तराई मधेश समस्या समाधान कार्यदल बनाएको थियो । कार्यदलले मधेशमा जमिनदारी, सामन्ती प्रथा र ठूलो विभेद कायम रहेको औंल्याएको थियो । खासगरी, दलित र गैरदलितबीचको विभेद पहाडमा भन्दा ज्यादा तिख्खर रहेको ठहर कार्यदलको थियो । गरिब र धनीबीचको खाडल पनि गहिरो रहेको बताएको थियो ।
तराईमा रहेको आर्थिक विभेद कम गर्दै लैजानुपर्ने, राज्यले गरिबको जीवनस्तर उकास्ने कार्यक्रम दिनुपर्ने र जातीय विभेद अन्त्यका लागि ठूलो सामाजिक जागरण अभियान थाल्नुपर्ने कार्यदलको निष्कर्ष थियो । एमालेको अहिलेको मधेशनीति पनि त्यही प्रतिवेदनबाट निर्देशित देखिन्छ । पार्टी केन्द्रीय समितिमा तराई मधेशबाट प्रतिनिधित्वको व्यवस्था फराकिलो बनाउँदै लगेको छ ।
अहिले मोर्चा या एमाले जसले जिते पनि देश हार्दैछ भन्ने कुराको महशुस नभएसम्म समस्याको समाधान पहिल्याउन सकिँदैन।-देवेश झा,राजनीतिक विश्लेषक
दुई नम्बर प्रदेशका ३२ पदाधिकारीमध्ये २५ जना मधेशी समुदायकै छन् । संविधान सभाका दुवै निर्वाचनमा ४८ वटा निर्वाचन क्षेत्रमध्ये ३/४ जना मात्र पहाडी मुलका उम्मेदवार दिएको थियो । गत मधेश आन्दोलनमा कांग्रेस र माओवादीका अधिकांश नेता/कार्यकर्ता सहभागी भए, एमालेका गएनन् । मधेशकेन्द्रित दलहरूसँग एमालेको द्वन्द्वको एक कारण हो यो । आफ्ना नेता÷कार्यकर्तालाई त्यो आन्दोलन गलत भएको बतायो र सहभागी हुन दिएन । संविधान जारी गर्ने पक्षको नेतृत्व एमालेले लियो । र, नबनाउने पक्षमा रहेका मधेशकेन्द्रित दल एमालेसँग थप चिढिए ।
पछिल्लो मधेश आन्दोलनका क्रममा सप्तरीदेखि कपिलवस्तुसम्मका एमाले कार्यालय र नेताहरूका घर तोडफोड भए/जलाइए । त्यतिबेला खुलामञ्चमा अनसन बसेका मधेशी नेतालाई भेट्नसम्म गएनन् एमाले नेता । तत्कालीन एमाले अध्यक्ष खनाल एक मधेश प्रदेशविरुद्ध उभिए । अध्यक्ष ओली प्रधानमन्त्री उम्मेदवार बन्दा मधेशकेन्द्रित दलका नेता उनलाई रोक्न तत्कालीन कांग्रेस सभापति सुशील कोइरालालाई मत हाल्न आए । ओलीले जितेपछि एमालेसँग झनै चिढिए ।
करिब डेढ वर्षयता नेपाली राजनीतिमा कसैको शीतयुद्ध चलेको छ भने त्यो एमाले र मधेशी मोर्चा नै हुन् । मोर्चाले आफूलाई मधेशविरोधी दलका रूपमा अफवाह फैलाइरहेको एमाले नेताहरूले बताउने गरेका छन् । मोर्चा नेताले एमालेलाई खस ब्राह्मण र पहाडी समुदायको पार्टीका रूपमा आरोपित गर्दै आएका छन् ।
बाहिरिए प्रभावशाली
जयकृष्ण गोइत ०५४ सालको स्थानीय निर्वाचनसम्म सप्तरीका प्रभावशाली एमाले नेता थिए । ०४८ र ०५१ का आमनिर्वाचनमा गोइतले सप्तरी ३ बाट चुनाव लडेका थिए । ०५४ को स्थानीय निर्वाचनमा उनलाई जिविसको सभापति उम्मेदवार प्रस्ताव गरिएको थियो । उनको ठाउँमा दिवाकर देवकोटालाई अगाडि सारिएपछि चित्त दुखाउँदै एमालेबाट सधैंका लागि विदा लिए । त्यसपछि उनी माओवादी सशस्त्र द्वन्द्वमा सहभागी भए । र, शान्तिप्रक्रिया शुरु भएपछि भूमिगत समूहका नाइके बन्न पुगे । अहिले प्रहरीको सर्वाधिक खोजीको सूचीमा छन् । शान्तिप्रक्रियापछि तराईमा च्याउसरी जन्मिएका सशस्त्र समूहका ‘पिता’ मानिन्छन् उनी ।
जितेन्द्रनारायण देव पनि एक समयमा एमाले सप्तरीका प्रभावशाली नेता थिए । ०५१ को आमनिर्वाचनमा उनी सप्तरी २ बाट उम्मेदवार बनाइएका थिए, पराजित भए । ०६३ को पहिलो मधेश आन्दोलन अघिसम्म उनी पनि एमालेमै थिए । विभिन्न पार्टीका प्रभावशाली नेतालाई मधेशकेन्द्रित दलमा आवद्ध गराउने रणनीतिमा उनी पनि परे । र, एमाले छाडेर फोरम नेपाल प्रवेश गरे । अहिले विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका उपाध्यक्ष छन् । दानालाल चौधरी, हीरालाल चौधरी र मानपुर चौधरीले पनि एमाले छाडे ।
एमालेबाट बाहिरिएका मधेशी नेताहरू सूची लामै छ । जस्तो : ०४८ सालको आम निर्वाचनमा एमालेबाट सुनसरी ५ मा उम्मेदवार बनेका उपेन्द्र यादवले गिरिजाप्रसाद कोइरालासँग पराजित भएपछि एमालेसँग सम्बन्धविच्छेद गरे । त्यसपछि माओवादी हुँदै मधेश आन्दोलनको नेतृत्व गर्दै फोरम नेपालमार्फत् राष्ट्रिय राजनीतिमा प्रभावशाली उपस्थिति जनाएका छन् । एमालेमा छँदै उनले विचार मञ्चका रूपमा मधेशी जनअधिकार फोरम खोल्न प्रमुख भूमिका निर्वाह गरेका थिए ।
यी त भए एमालेमा अवसर पाउन नसकेका नेताहरूको कथा । प्रशस्त अवसर पाएर पनि मातृ पार्टीमा टिक्न सकेनन्, धनुषाका रामचन्द्र झा । जातीय आन्दोलनको लहर चल्दै गर्दा उनलाई तत्कालीन एमाले उपाध्यक्ष अशोक राईलगायत नेताको आग्रहले तान्यो । र, संघीय समाजवादी पार्टीमा आवद्ध भए । जबकि, उनले एमालेबाटै पोलिटब्युरो सदस्य, सांसद र स्थानीय विकास मन्त्री बन्ने अवसर पाएका थिए । जातीय राजनीतिको ज्वरोले झालाई पनि अँठ्यायो ।
सर्लाहीका प्रभावशाली एमाले नेता महेन्द्र राय यादव नेकपा संयुक्तबाट उक्त पार्टीमा समाहित भएका थिए । सर्लाहीबाट पटक–पटक सांसद र मन्त्री बने । तर, दोस्रो मधेश आन्दोलनअघि गठित तराई मधेश लोकतान्त्रिक पार्टीमा उनलाई पनि भित्र्याइयो । अहिले तराई मधेश सद्भावना पार्टी (तमसपा) का अध्यक्ष छन् । उनी तमलोपा प्रवेश गर्दैगर्दा एमालेका सांसद थिए ।
भन्छन्, ‘लामो समयदेखि जनताको बहुदलीय जनवादको स्पिरिटलाई कार्यान्वयनमा ल्याउन माग गरिरहेका थियौँ । मदन भण्डारीले अगाडि सारेका विषयलाई व्यवहारमा उतारिएन । मधेशबाट उचित प्रतिनिधित्व, समानता र समानुपातिकको मुद्दालाई बेवास्ता गरियो र पार्टी छाड्नुको विकल्प भएन ।’
उनका अनुसार मदन भण्डारी जीवित छँदै सीतानन्दन रायको संयोजकत्वमा मधेशको समस्या समाधान गर्ने उद्देश्यले तीन सदस्यीय कार्यदल बनेको थियो । भण्डारीको निधनपछि ‘एमालेमा सद्भावना पार्टी जन्मियो’ भन्दै कार्यदल नै खारेज गरिएको यादव बताउँछन् ।
मधेशमा आगो सल्किने लक्षण देखेपछि नेपाली मधेशी संगठन खडा गरियो । कम्युनिस्ट पार्टी जातीय नभई वर्गीय आधारमा चल्ने भएकाले त्यस्तो संगठन उचित नभएको कुरा उठाए यादवलगायतले । ‘यदि जातीय संगठन बनाउँछौ भने अधिकार देऊ भन्यौँ तर सुनुवाइ भएन,’ यादव भन्छन्, ‘हामीले यो त माक्र्सवाद, लेनिनवाद र जबजको व्याख्याविपरीत भयो भन्यौँ ।
न त हक, अधिकारको मुद्दा सुनुवाइ भयो, न जनसंख्याका आधारमा प्रतिनिधित्व गराउने विषयमा सहमति गरियो । अहिले एमाले एकल जातीय र एकात्मक पार्टी बनेको छ ।’ जनकपुरमा सम्पन्न सातौँ महाधिवेशनमा यादवले केन्द्रीय सदस्य हारे । रामचन्द्र झा प्रभावशाली रूपले उदाउँदै गर्दा यादव र सीतानन्दन रायलगायत नेताले एमाले छाडे ।
‘पोजिसन’ जोगाउने चिन्ता
धनुषाका एमाले सांसद शत्रुघन महतो जतिसुकै अवरोध खडा गरे पनि आगामी निर्वाचनमा मधेशमा एमालेको ‘पोजिसन’ कमजोर नहुने बताउँछन् । ‘चुनाव हुन दिनुस्, एमालेलाई अवरोध गर्नेहरूले हाम्रो पोजिसन देख्छन्,’ उनी भन्छन्, ‘हाम्रा मतदाता अन्यत्र गएका छैनन्, पहिलो या दोस्रो स्थानबाट तल झर्ने कल्पना कसैले नगरे हुन्छ । हामीलाई जनताले भोट नदिए स्वीकार गर्छौँ भन्दै आएका छौँ ।’ उनको भनाइमा मधेशका २० वटै जिल्लामा समग्रमा एमाले सधैं कांग्रेसपछि दोस्रो स्थानमा रहँदै आएको छ ।
यद्यपि, विश्लेषक देवेश झा उनको भनाइसँग सहमत छैनन् । ‘केही नेताको अशिष्ट अभिव्यक्तिका कारण एमालेप्रति आक्रोश बढ्ने क्रम थामिएको छैन । यसबाट प्रदेश २ का आठ जिल्लामा एमालेको जनाधार नराम्ररी प्रभावित हुनेछ,’ झा भन्छन्, ‘भ्रम सिर्जना गर्ने शब्द प्रयोग गर्दै चर्को भाषणबाजी नरोकिए त्यसले थप नोक्सानी दिलाउने छ ।’ उनको भनाइमा मधेशका जिल्लामा मधेशकेन्द्रित दलकै धरातल बलियो छैन ।
तमसपा अध्यक्ष यादव पनि उनको कुरामा सहमत छन् । भन्छन्, ‘हाम्रो माग सुनुवाइ नहुँदा मधेशको जनमत गलत तत्वको हातमा पर्ने खतरा बढेको छ । अहिले मधेशमा देखिएको एमालेविरोधी लहर सोही पार्टीका नेताहरूको उत्तेजक अभिव्यक्तिको उपज हो ।’ एमाले प्रदेश २ इन्चार्ज मण्डल भने आमजनता एमालेप्रति नकारात्मक नरहेको जिकिर गर्छन् । भन्छन्, ‘हामी गरिब जनताका पक्षपाति हौँ, विरोधी होइनौँ ।’ यद्यपि, विश्लेषक झा भन्छन्, ‘अहिले मोर्चा या एमाले जसले जिते पनि देश हार्दैछ भन्ने कुराको महशुस नभएसम्म समस्याको समाधान पहिल्याउन सकिँदैन ।’