मधेसी दलले गरे संसद् बैठक बहिष्कार
काठमाडौं : मधेसी दलले मंगलबारको व्यवस्थापिका संसदको बैठक बहिष्कार गरेका छन्। फागुन २३ गते सप्तरीको राजविराजमा भएको गोलीकाण्ड र स्थानीय तह पुर्नसंरचना आयोगको प्रतिवेदनको विरोध गर्दै मधेसवादी दलले संसद् बैठक बहिष्कार गरेका हुन्।
बैठकको सुरुमै बोल्दै संद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले भने, ‘राजविराजमा मधेसी जनतालाई ताकिताकी गोली हानियो, यसको छानबिन हुनुपर्छ।’
कर्णले मधेसी जनताको अधिकार खोज्ने नियतले सरकारले स्थानीय तह पुर्नसंरचना आयोगको प्रतिवेदन ल्याएको भन्दै त्यसप्रति समेत आपत्ति जनाए। ‘स्थानी तह जनसंख्याका आधारमा निर्धारण नगरी मधेसी जनताको अधिकार खोज्ने काम भएको छ, यसको समर्थन गर्न सकिदैन,’ कर्णले भने।
कर्णले बोले लगत्तै मधेसवादी दलले केही बेर रोष्टममा नाराबाजी गरेका थिए। नाराबाजीपछि मधेसी दलका सबै सांसद बैठकबाट बाहिरिएपछि पुनः बैठक सुरु भएको हो। मधेसी दलका सांसदले ‘पुर्नसंरचना आयोग प्रतिवेदन मुर्दावाद’, ‘राजविराज घटनाको छानबिन गर’ लगायत नारा लगाएका थिए।