एमाले नेता अधिकारीलाई थाइल्याण्ड लगियो
काठमाडौं : पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई उपचारका लागि बुधबार थाइल्याण्ड लगिएको छ । दिशा र पिसाब सम्बन्धी गम्भीर समस्या देखिएपछि चिकित्सकको सल्लाह अनुसार अधिकारीलाई थप उपचारका लागि थाइल्याण्ड लगिएको हो ।
अधिकारीका स्वकीय सचिव महेश विष्टका अनुसार गत पुस ७ गते दिसा र पिसाब दुबैको समस्या आएपछि उनलाई तीनकुनेस्थित कान्तिपुर अस्पताल भर्ना गरिएको थियो ।
आन्द्रामा र युरिनरी प्रणालीमा गम्भीर समस्या देखिएपछि कान्तिपुर अस्पतालले ८० बर्षीय अधिकारीलाई बल्खुस्थित बयोधा अस्पतालमा सिफारिस गरेको थियो ।
बयोधा अस्पतालमा अधिकारीको आठ दिनसम्म आईसीयूमा राखेर उपचार भएको थियो । त्यसयता घरैमा रहेर स्वास्थ्य लाभ गरिरहे पनि समस्या झनझन बढिरहेको बिष्टले जानकारी गराए ।
विष्टका अनुसार अधिकारीको स्वास्थ्य परिक्षण गर्ने वरिष्ठ चिकित्सक युवराज शर्माले मुलुकबाहिर गएर औषधि उपचार गर्न सल्लाह दिएकाले उनलाई थाइल्याण्ड लगिएको हो ।
थाइल्याण्डको भेजथानी अस्पतालमा अधिकारीको उपचार हुनेछ । अधिकारी लामो समयदेखि मुटु तथा दम रोगबाट पीडित थिए । विक्रम सम्वत् १९९३ वैशाख २२ गते जन्मनु भएका अधिकारी ८० बर्षको हुनुहुन्छ ।