सार्कको गति सुस्त भएको उपराष्ट्रपतिको गुनासो
काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुन‘पासाङ’ले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को गति सुस्त भएको गुनासो गरेका छन । आफूसँग आफनै कार्यालयमा बुधवार शिष्टाचार भेट गर्न आएका सार्कका नवनियुक्त महासचिव अजमद हुसेन बी सियाल समक्ष उपराष्ट्रपति पुनले त्यस्तो गुनासो गरेका हुन ।
उपराष्ट्रपति पुनले सार्कको विकल्प नभएकोमा जोड दिदै सार्कको काम गराइको गतिलाई बढाउनु पर्ने बताए । उपराष्ट्रपति पुनले विभिन्न चरणमा सार्कमा भएका सहमति सम्झौता तथा निर्णयहरु कार्यान्वयनमा जोड दिदै पाकिस्तानमा गत नोभेम्बरमा तय भएको १९ औं सार्क शिखर सम्मेलन स्थगित हुनु दुःखद भएको बताए । उनले १९ औं शिखर सम्मेलन छिटो हुनुपर्नेमा पनि जोड दिए । नवनियुक्त महासचिव सियालको कार्यकालमा सार्कले गति लिने बिश्वास पनि उपराष्ट्रपति पुनले व्यक्त गरे ।
उपराष्ट्रपति पुनसँगको भेटमा सियालले १९ औं सार्क शिखर सम्मेलन छिट्टै हुने र सार्कले गति लिने बताए । विगतमा सार्कको गतिविधि सुस्त भए पनि अब सार्कलाई कसरी पुनर्जागरण गर्न सकिन्छ भनेर आफूले पहल थालेको सियालले बताए । सियालले गत नोभेम्बरमा पाकिस्तानको इस्लामावादमा १९ औं शिखर सम्मेलन नहुनु दुःखद भएको उल्लेख गर्दै दक्षिण एशियाको सामाजिक आर्थिक विकासमा सार्कको महत्व बढेको बताए ।
उपराष्ट्रपति पुनसँग नेपालका लागि बंगलादेशका राजदूत 'माश्फी बिन्टे शाम्स' र पाकिस्तानका कार्यबहाक राजदूत 'जावेद अह्मद उमरानी'ले पनि बुधवार छुट्टा छुट्टै शिष्टाचार भेट गरेका छन ।