एनसेलले पूँजीगत लाभकर तिर्नुपर्छः ज्वाला
काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता प्रकाश ज्वालाले एनसेल कम्पनी पूँजीगत लाभ कर तिर्नुपर्ने बताएका छन्।
रिपोर्टर्स क्लब नेपालले बिहीबार अायोजना गरेको साक्षात्कारमा ज्वालाले पूँजीगत लाभ लिन पाउने र कर तिर्न नपर्ने भनेर सरकारले गरेको मौखिक निर्णय गलत भएको भन्दै एनसेल कम्पनीले राज्यलाई कर तिर्नुपर्ने बताएका हुन्।
केही दिन अघिमात्रै सरकारले एनसेलले कर तिर्न नपर्ने भनेर गरेको मौखिक निर्णयको सन्दर्भमा संसदको अर्थ समितिले किटानी जाहेरी गरिसकेको भन्दै ज्वालाले कर नतिरेसम्म कम्पनीले कुनैपनि काम–कार्य अघि बढाउन नमिल्ने बताए।
अर्थसमितिका सभापति समेत रहेका नेता ज्वालाले सरकारले कर निर्धारण गर्ने काममा कमजोरी गरेको भन्दै स्थानीय तहको निर्वाचनको तयारीको लागि आफ्नो पार्टी मेची–महाकाली अभियानमा व्यस्त भएको कारण यसबारेमा सार्थक आवाज उठाउन नसकेको स्पष्ट पारे।
ज्वालाले भने,‘निर्वाचन गराउने विषयमा हाम्रो पार्टीले सरकारलाई जस्तोसुकै सहयोग गर्छ, हामी अब संविधान संशोधनमा सहमति हुनै सक्दैनौं, कानुन बनिसकेका छन्, मिति घोषणा भइसकेको छ, यस्तो स्थितिमा किन सरकार डराउने? सकेसम्म सबैलाई मिलाएर अघि जाने हो, यदि लोकतन्त्रमा निर्वाचनदेखि भाग्नेहरू छन् भने, भाग्न दिनुको विकल्प के हुन्छ र?’