प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्र संघकी उपमहासचिवबीच भेट
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्र संघका उपमहासचिव सम्साद अख्तरले शिष्टाचार भेट गरेकी छिन्। संयुक्त राष्ट्र संघको इकोनोमिक एण्ड सोसल कमिसन फर एसिया एण्ड प्यासिफिकका कार्यकारी प्रमुखसमेत रहेकी अख्तरले आफ्नो पाँच बर्षे कार्यकाल पूरा गरेको अवसरमा प्रधानमन्त्रीसँग विदाइ भेट गरेकी हुन्।
शुक्रबार बिहान सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्रीले उनको कार्यकालमा नेपालको विभिन्न क्षेत्रमा संयुक्त राष्ट्र संघबाट प्राप्त सहयोगप्रति आभार प्रकट गरे।
साथै नेपालको शान्ति प्रक्रियालाई मौलिकढंगले टुंगो लगाउन संयुक्त राष्ट्र संघले पुर्याएको योगदानप्रति आभार प्रकट गरेका छन्। प्रधानमन्त्रीले शान्ति प्रक्रियाका केही बाँकी कार्यभार पूरा गर्न सरकार लागि परेको जानकारी गराएका छन्।
उक्त अवसरमा अख्तरले प्रधानमन्त्रीलाई आगामी अप्रिल २१ र २२ गते बैंककमा हुने संयुक्त राष्ट्र संघको सेस्टेनेभल डेभलपमेन्ट सम्बन्धी क्षेत्रीय सम्मेलनमा सहभागिताका लागि निम्तोपत्र हस्तान्तरण गरिन्।
उनले नेपालको विकास, शान्ति र आर्थिक सम्वृद्धिका लागि संयुक्त राष्ट्र संघको सहयोग जारी रहने जानकारी दिएकी छिन्। साथै विश्वमा शान्ति स्थापनाका लासिग नेपालको योगदानको उच्च प्रशंसा समेत गरेकी छिन्।