पौडेललाई आफ्नै जिल्लामा कालो झण्डा
पर्वत : स्थानीय तह पुर्नसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेललाई स्थानीयले गृहजिल्ला पर्वतमै कालो झण्डा देखाएका छन् । कार्यक्रमको शिलशिलामा पर्वत पुगेका पौडेललाई अपाइक ठाउँमा केन्द्र बनाइदिएको भन्दै जलजला गाउँपालिकाका बासिन्दाले सदरमुकाम कुश्माबजारमा कालो झण्डा देखाएका हुन ।
पौडेलले पर्वत सदरमुकाम कुश्माबजारमा शनिवार आयोजित आत्रेय गोत्रीय पौडेल बन्धु समाजको प्रथम जिल्ला अधिवेशन उद्घाटन गर्न पुगेका थिए । पौडेल कार्यक्रममा रहीरहँदा स्थानीयले कार्यक्रम स्थल बाहिर कालो झण्डा सहित पौडेल बिरुद्ध नारावाजी गरिरहेका थिए ।
उत्तरी पर्वतको जलजला गाउँ पालिकाको केन्द्र मिलनचोकमा राखिनुपर्नेमा साविकको माझफाँट गाविसको कार्यालयलाई केन्द्र तोकिएको भन्दै उनीहरुले केहिदिनदेखि आन्दोलन गर्दै आएका थिए ।
उत्तरी क्षेत्रका वाँसखर्क, माझफाँट, लेखफाँट, शालिजा, धाईरिङ्ग, नाङलीवाङ र बनौ गाविस गाभेर जलजला गाउँपालिका बनेको हो । उक्त गाउँपालिकामा ९ वटा वडा कायम भएका छन् । आयोगले तोकेको केन्द्रमा वाँसखर्क, लेखफाँट र माझफाँटलाई बाहेक अन्य गाविसलाई पायक नपर्ने भन्दै वडा नं ५, ६, ७, ८ र ९ का बासिन्दाहरु आन्दोलनमा उत्रिएका हुन् ।