राप्रपाका मन्त्रीको चेतावनी : हिन्दु राष्ट्रको एजेण्डा बचाउन नसके सरकार छाड्छौँ
इटहरी : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य एवम् पर्यटन मन्त्री दीननाथ गिरीले हिन्दु राष्ट्र पार्टीको आत्मा भएको भन्दै पार्टीको एजेण्डामा आफूहरु अडिग रहेको बताएका छन्।
पार्टीको एजेण्डा तलमाथि पर्न गए सरकार छाड्नु नौलो कुरा नभएको भन्दै उनले सरकार छोड्ने चेतावनी समेत दिएका छन्। ‘जनताको माग सम्बोध गर्न सरकारमा गएका हौँ,’ मन्त्री गिरीले भने, ‘हाम्रो एजेन्डा बचाउन नसके सरकार छोड्न तयार छौँ।’
सुनसरीको धरानमा मन्त्रालयको कार्यक्रममा आएका गिरीले इटहरीमा पत्रकारसँग कुरा गर्दै स्थानीय तहको निर्वाचन सुनिश्चित गराउन राप्रपा सरकारमा सामेल भएको प्रष्ट पारे। उनले निर्वाचनकै निम्ति राप्रपा सरकारमा सहभागी भए लगत्तै निर्वाचन आयोगले चालेको कदम शंकास्पद रहेको बताए।
मन्त्री गिरीले निर्वाचन नगराउन देशी विदेशी शक्ति सक्रिय भएको बताउर्दै तिनै शक्तिको निर्देशनमा आयोगले पार्टीको विधानमाथि हस्तक्षेप गरेको समेत आरोप लगाए। शुक्रबार निर्वाचन आयोगले राप्रपाको विधानबाट ‘हिन्दु राष्ट्र’ संवैधानिक राजतन्त्र हटाएको थियो।