दर्जन उद्योगपति फोरम प्रवेश

दर्जन उद्योगपति फोरम प्रवेश

वीरगन्जः वीरगन्ज-पथलैया औद्योगिक कोरिडोरका चर्चित औद्योगिक घरानाका करिब एक दर्जन उद्योगपति र व्यवसायी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । पर्साको पोखरियामा आइतबार फोरम नेपाल पर्साले आयोजना गरेको बृहत् पार्टी प्रवेश तथा आमसभामा जगदम्बा, सरावगी, अग्रवाललगायत औद्योगिक घरानाका सञ्चालक फोरम नेपालमा प्रवेश गरेका हुन् ।

सरावगी ग्रुपका सञ्चालक एवं नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य विजय सरावगी, जगदम्बा इन्टरप्राइजेज प्रालिका सञ्चालक रमेश अग्रवाल, जगदम्बा ट्रेडिङ कम्पनी प्रालिका सञ्चालक प्रतीक अग्रवाल, वीरगन्ज उद्योग वाणिज्य संघका कोषाध्यक्ष रवि वर्णवाल, माँ दुर्गा फुड्स प्रालिका सञ्चालक अंकित अग्रवाल, राजेश हार्डवेयर प्रालिका सञ्चालक पुरन अग्रवाल, कलश सिमेन्ट प्रालिका सञ्चालक अंशुमन अग्रवाल, नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार हरिनारायण रौनियारसहित उद्योगी-व्यवसायी फोरम नेपाल प्रवेश गरेका हुन् ।

कार्यक्रममा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले उद्योगी-व्यवसायीलाई टीका र माला लगाएर पार्टीमा स्वागत गरे । फोरम नेपाल प्रवेश गरेपछि कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य सरावगीले सत्तामा रहेका तीन ठूला दलले वीरगन्जका उद्योगी-व्यपारीलाई पटकपटक आर्थिक रूपमा शोषण गर्दै आएको बताए । त्यसैले यहाँका उद्योगी-व्यवसायी फोरममा प्रवेश गर्न बाध्य भएको उनको भनाइ छ । ‘जब चुनाव आउँछ चन्दाका लागि ठूला तीन दलबाट मधेसका उद्योगी-व्यापारी प्रताडित हुँदै आएका छन्', उनले भने, ‘तर जब मधेसको अधिकारको कुरा उठ्छ, तब ती ठूला दलले विभेदको व्यवहार गर्छन् ।'

मधेस र मधेसीको हकअधिकार सुनिश्चित गर्न आफूहरू फोरम नेपालमा प्रवेश गरेको उनले बताए । नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार रौनियारले कांग्रेस, एमाले र माओवादीले मधेसका विकासको सवालमा विभेद गर्दै आएका कारण यो क्षेत्र पछाडि परेको भन्दै मधेसको सवालमा फोरम नेपाल नै इमान्दार रहेको दाबी गरे ।

‘मधेसी जनताले हतियार उठाउँछन्'

आमसभा सम्बोधनका क्रममा फोरम नेपालका अध्यक्ष यादवले तीन ठूला दलले मधेसीमाथि विभेद गर्न नछाडे त्यसविरुद्ध मधेसी जनताले हतियार उठाउने चेतावनी दिएका छन् । ‘कांग्रेस र कम्युनिस्ट एउटै नस्लका पार्टी हुन्', उनले भने, ‘मधेसी जनतामाथि अझै पनि विभेद भइरहेको छ । यो विभेदको लक्ष्मणरेखा पार भयो भने मधेसी जनताले कांग्रेस र कम्युनिस्टका विरुद्ध हतियार पनि उठाउने मनस्थिति बनाइसकेका छन् ।'

संविधान संशोधन गरी मधेसीको हकअधिकार संविधानमा सुनिश्चित नभएसम्म मधेसमा कुनै पनि निर्वाचन हुन नदिने उनको चेतावनी छ । अहिले निर्धारण गरिएको स्थानीय तहको पुनर्संरचना विभेदपूर्ण एवं अन्यायपूर्ण भएको भन्दै यादवले देशको आधा जनसंख्या रहेको मधेसमा आधा गाउँपालिका र नगरपालिका नभएसम्म मधेसी जनताले नमान्ने बताए ।


मधेसमा यिनीहरूले न स्थानीय तहको संख्या थप्छन्, न संविधान संशोधन गर्छन्', उनले भने, ‘प्रधानमन्त्रीको कुर्सी टिकाउन मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल र शेरबहादुर देउवाले संशोधनको नौटंकी गरिरहेका छन् ।
उपेन्द्र यादव, अध्यक्ष, फोरम नेपाल

सत्तामा रहेका कांग्रेस र माओवादी केन्द्रले संविधान संशोधनका नाममा झूटा भ्रम मात्र फैलाइरहेको उनको भनाइ छ । ‘मधेसमा यिनीहरूले न स्थानीय तहको संख्या थप्छन्, न संविधान संशोधन गर्छन्', उनले भने, ‘प्रधानमन्त्रीको कुर्सी टिकाउन मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल र शेरबहादुर देउवाले संशोधनको नौटंकी गरिरहेका छन् ।' सप्तरीमा एमाले नेताकै निर्देशनमा सशस्त्रले घरघरमा पसेर मधेसी जनताको हत्या गरेकोसमेत उनले आरोप लगाए ।

कार्यक्रममा मधेस आन्दोलन र नाकाबन्दीताका दसगजा क्षेत्रमा धर्नामा बसेका आन्दोलनकारी नेता-कार्यकर्तालाई खाना खुवाएका भारत रक्सौलका व्यापारी एवं भारतीय जनता पार्टीका नेता महेश अग्रवाललाई फोरम नेपालले सम्मान गरेको थियो । फोरम नेपालकाअध्यक्ष यादव, जिल्ला अध्यक्ष प्रदीप यादवलगायत नेताले अग्रवाललाई दोसल्ला ओढाएर सम्मान गरे ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.