नेपाल-चीन संयुक्त सैन्य तालिम सकियो
काठमाडौं : नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाको विशेष फौजको संयुक्त तालिम मंगलबार सकिएको छ । नेपाली र चिनियाँ सेनाबीच वैशाख ३ मा महाराजगन्जस्थित विशेष बाहिनीमा संयुक्त सैन्य तालिम सुरु भएको थियो ।संयुक्त सैन्य तालिम अवलोकन गर्न चिनियाँ जनमुक्ति सेनाका मेजर जनरल झेङ जियाङ काठमाडौं आउनुभएको थियो ।
तालिम समापनमा जियाङले नेपाली-चिनियाँ सेनाको संयुक्त सैन्य तालिमले दुई देशको सैन्य सम्बन्धमा नयाँ आयाम थपिएको बताउनुभयो । उक्त अवसरमा नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महतले प्रतिआतंकवादमा केन्द्रित दुई देशका सेनाको तालिमले आतंकवादका चुनौती सामना गर्न थप ऊर्जा प्रदान गरेको बताउनुभयो । महतले सैन्य तालिमका क्रममा दुवै मुलुकका सैनिकले उच्चस्तरीय पेसागत दक्षता प्रदर्शन गरेको उल्लेख गर्नुभयो ।
समापनमा प्रधानसेनापति राजेन्द्र क्षत्री र नेपालका लागि चीनका राजदूत यू होङ सहभागी हुनुहुन्थ्यो । प्रधानसेनापति क्षत्री र राजदूत होङले संयुक्त सैन्य तालिममा सहभागी दुवै देशका फौजले होस्टेज रेस्क्युमा आधारित प्रतिआतंकवादसम्बन्धी कारबाहीका विषयमा गरेको प्रदर्शनी अवलोकन गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।