कार्यपालिकामाथि हस्तक्षेप गरेका कारण महाअभियोग प्रस्ताव : काँग्रेस
काठमाडौं : नेपाली काँग्रेसले कार्यपालिका माथि न्यायपालिकाले हस्तक्षेप गरेका कारण प्रधानन्यायधिश सुशीला कार्कीविरुद्ध अविश्वास प्रस्ताव संसदमा दर्ता गराउनु परेको बताएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठकपछि आयोजित पत्रकार सम्मेलनमा काँग्रेस नेताहरुले न्यायालयका गरिमा र क्षेत्राधिकार भन्दा बाहिर गएका कारण प्रधानन्याधीशमाथि महाअभियोग प्रस्ताव संसदमा दर्ता गराउनु परेको प्रष्याउनु भएको छ ।
पत्रकार सम्मेलनमा काँगेस नेताद्वय कृष्ण सिटौला र रमेश लेखकले गृहमन्त्री बिमलेन्द्र निधिले दिएको राजीनामालाई आन्तरिक बिषयको संज्ञा दिनु भएको छ ।
यसबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पार्टी सभापति शेरबहादुर देउवाले टुंगो लगाउने उहाँहरुले जानकारी दिनुभयो । ‘यो ठूलो बहस गर्नु पर्ने बिषय होइन,’ काँग्रेस नेताहरुको भनाइ थियो ।
पत्रकार भेटघाटमा नेताहरुले प्रधानन्यायाधीशले स्वतन्त्र न्यायपालिकको सिद्धान्त विपरीत नियतबस अदालतका निर्णय गरेको र सरकारको कार्यकारिणी अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाउनुभएको छ ।
कार्यक्रममा काँग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले आफ्नो पार्टी सदैव स्वतन्त्र र निष्पक्ष न्यायपालिकाको पक्षमा रहेको बताउँदै स्वतन्त्र न्यायपालिकाको गरिमा जोगाउन प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता भएको धारणा व्यक्त गर्नुभयो ।
काँग्रेस नेतासमेत रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिको राजीनामापछि को गृहमन्त्री हुन्छ भन्ने जिज्ञासामा महामन्त्री कोइरालाले त्यसबारेमा शीर्ष नेता बसी टुङ्गो लगाउने जानकारी गराउनुभयो ।
पत्रकार सम्मेलनमा महामन्त्री शशांक कोइरालाले संविधान संशोधनको प्रस्ताव संसदमा रहेको र प्रक्रिया पुगेपछि संशोधन हुने विश्वास व्यक्त गर्नुभयो । पहिलो चरणको चुनाव प्रभावित नहुने पनि उहाँले स्पष्ट पार्नु भयो ।
पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधान संशोधन प्रस्ताव प्रक्रियाबाट टुंगोमा पुग्ने बताउदै भन्नुभयो,“संविधान संशोधन पारित गर्ने प्रक्रिया जारी रहनेछ तर पारित नभए पनि चुनाव भने रोकिने छैन ।” उहाँले बैशाख ३१ गतेका लागि निर्धारित तीनवटा प्रदेशको चुनाव नरोकिने पनि स्पष्ट पार्नुभयो । कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले पहिलो चरणको निर्वाचनका लागि नेपाली कांग्रेसले गरेको तयारीका बारेमा जानकारी दिनुभयो ।
उहाँले कांग्रेस निर्धारित मितिमा नै निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको बताउनुभयो । लेखकले भन्नुभयो,“धेरै ठाँउमा उमेदवारहरु पनि तय भैसकेका छन ।” लेखकका अनुसार बढी आकांक्षी देखिएका स्थानमा पार्टीले आजसम्म उमेदवारको चयन गर्नेछ र भोलि निर्धारित समयमा कांग्रेसका उमेदवारहरुले मनोनयनपत्र दर्ता गर्नेछन् ।