पार्टी विभाजनका कारण पराजितः अध्यक्ष दाहाल
सिन्धुलीः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी विभाजनका कारण स्थानीय तहको निर्वाचनमा मत परिणाम कम आएको बताएका छन्।
सिन्धुलीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, “जनयुद्धमा जनताको विचमा हामी थियौं, उत्पीडित वर्गको साथी बनेर अघि बढ्यौ, शान्ति प्रक्रियामा आइसकेपछि संगठनले जसरी जनताकाबीचमा जानुपर्ने हो, त्यो अनुरुप जान सकिएन्, फलस्वरुप स्थानीय तहको चुनावमा सन्तोषजनक परिणम आएन तर पनि हाम्रो ऐजेण्डा जितेको छ ।”
अध्यक्ष दाहालले “अब काँग्रेस, एमालेले जिते पनि संघीयता खारेज गर्छु भन्न सक्ने अवस्था छैन,” भन्दै एकपछि अर्को विभाजनको प्रक्रियाबाट पार्टी गुज्रिएकाले पनि जनतामा निराश हुन सक्ने भएकाले अब सबै माओवादी शक्ति मिल्नुपर्नेमा जोड दिए।
आगामी माघ ८ गते भित्र तीनै तहकाे निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता रहेको उल्लेख गर्दै उनले समय कम भएकाले केन्द्र र प्रदेशको निर्वाचन एकैचोटि गरौं भन्ने प्रस्ताव राखेको जानकारी दिए।