सकारात्मक पाइला

सकारात्मक पाइला

दोस्रो संविधान दिवस मनाइँदै गर्दा तेस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न भएको छ । दुई वर्षदेखि संविधानप्रति असन्तुष्टि राख्दै आएका मधेसकेन्द्रित राजनीतिक दल ऐतिहासिक दिवस मनाइँदै गर्दा चुनावी प्रक्रियामा सहभागी हुनु सुखद संयोग हो । संविधानसभाबाट संविधान बनाउने ६ दशक लामो राजनीतिक मुद्दाले मूर्तरूप लिँदै गर्दा दुई वर्षअघि एउटा समूह असन्तुष्ट थियो ।

अहिले सम्पन्न स्थानीय चुनावपछि त्यो असन्तुष्टि धेरै हदसम्म मत्थर भइसकेको छ र संविधानले पूर्ण कार्यान्वयनको बाटो समातेको छ । स्थानीय तहको चुनाव सफलतासँगै अब मुलुक केन्द्र र प्रदेशको चुनावतिर उन्मुख हुँदै छ । यी निर्वाचनको सम्पन्नतासँगै संविधान संस्थागत विकासको बाटोमा बढ्नेछ । लामो संक्रमणकाल झेलेको नेपालका लागि संविधान पूर्ण कार्यान्वयन र संस्थागत विकासले नेपाली राजनीतिलाई स्थायित्व र स्थिरतातर्फ बढाउने अपेक्षा गर्न सकिन्छ । जुन सुखद पक्ष हो । राजनीतिक दृष्टि ऐतिहासिक उपलब्धिका रूपमा लिइएको संविधान जारी भएसँगै असन्तुष्टि प्रकट भए।

घरेलु राजनीतिक शक्ति मात्रै होइन, नजिकको छिमेकी भारतले पनि यसप्रति सतहमै असन्तुष्टि प्रकट गर्‍यो । नाकाबन्दी भयो, भारतसँगको सम्बन्ध चिसियो । दुई वर्षसम्म संविधानकै वरिपरि विवाद र द्वन्द्व घुमिरह्यो । मधेसका राजनीतिक शक्तिको मागअनुसार संविधान संशोधन प्रक्रिया पनि अघि बढ्यो । संशोधनका लागि आवश्यक मत संसद्मा जुट्न नसकेपछि संशोधन हुन सकेन ।

यद्यपि, मधेसका राजनीतिक दलका माग प्रक्रियागत रूपमा अघि बढे । त्यसले तेस्रो चरणको स्थानीय निर्वाचन सुनिश्चित गर्‍यो । भारतले संविधानको खुलेर स्वागत नगरे पनि स्थानीय चुनावको सफलताको कामना गरेको छ । मधेसकेन्द्रित दल पनि आफ्ना असन्तुष्टि र एजेन्डासहित चुनावमा छन् । त्यसकारण यो चुनाव र यसपछि हुने प्रदेश र केन्द्रका संविधानको स्वीकार्यता थप बलियो बनाउने दृष्टिले महत्वपूर्ण छन् । खासगरी तेस्रो चरणको चुनावमा जनताले मधेसकेन्द्रित राजनीतिक दलका असन्तुष्टिलाई अनुमोदन गर्छन् कि नयाँ संविधानको ऐतिहासिकतालाई ? केही दिनमै आउने नतिजाले यसको जवाफ दिनेछ ।

संविधान जुन दिन जारी भयो, त्यसै मितिबाट यसको कार्यान्वयन प्रारम्भ भएको हो । तर, यो संविधानअनुसार संघीय व्यवस्था सञ्चालन हुनुपर्छ । जुन नेपालका लागि नौलो हो । संघीय संरचनामा मुलुक जाँदै गर्दा थुप्रै कानुनी व्यवस्थामा त्यसै अनुरूप सुधार, परिस्कृत गर्नुपर्छ । प्रशासन, शिक्षा, स्वास्थ्य सबै राज्यका अंगको संघीय स्वरूपमा संरचनागत विकास हुनुपर्छ । त्यसको अभ्यासको प्रारम्भ भए पनि अझै संघीय मोडलको सही अभ्यास सुरु हुने चरणमा हामी पुगिसकेका छैनौं । त्यो नपुग्दासम्मको यो अर्को संक्रमणमा मुलुक यतिखेर छ । तीन तहका चुनाव सम्पन्न गर्ने अभियानमा लाग्दै गर्दा सरकारले संघीय मोडलको अभ्यासका लागि आवश्यक कानुन र संरचना निर्माणतर्फ केन्द्रित हुनुपर्छ ।

संविधान पुनर्लेखनको माग राख्ने मधेसकेन्द्रित दल चुनावमा आइसकेका छन् । मुलुकको ठूलो हिस्साको समर्थन र स्वागतमा संविधान जारी भएको थियो । अहिले चुनावी प्रक्रियामा सबै आइसकेपछि संविधानप्रति सबैले अपनत्व महसुस गरेका छन् । त्यसकारण यसको बलियो कार्यान्वयन आजको आवश्यकता हो । निश्चय पनि संविधानका हरेक अक्षर कालजयी हुँदैनन् ।

आवश्यकताअनुसार विधिसम्मत ढंगले तिनको परिमार्जन, संशोधन हुन सक्छ । तर, अहिले जारी भएको दुई वर्ष बितेको छ र नयाँ राजनीतिक व्यवस्थाले संस्थागत विकास गर्नु छ । राजनीतिक स्थायित्व मुलुकका लागि आवश्यक छ । यो बेला संविधानको प्रभावकारी कार्यान्वयन गर्नेतर्फ सबै सरोकारवालाको ध्यान केन्द्रित हुनुपर्छ । ठूला सामरिक स्वार्थ बोकेका मुलुकको रणनीतिक स्वार्थ र हाम्रो घरेलु राजनीतिमा चासो बढिरहेको सन्दर्भमा पनि हामीले चनाखो हुँदै संविधानको बलियो कार्यान्वयनतर्फ जोड दिनुपर्छ । आफ्नो निर्णय आफैं गर्ने साहस देखाएर संविधान प्रभावकारी कार्यान्वयनको बाटो अवलम्बन गर्न सक्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.