कास्कीमा वामपन्थीले जित्नेबित्तिकै सडकमा ‘अधिनायकवाद’!

कास्कीमा वामपन्थीले जित्नेबित्तिकै सडकमा ‘अधिनायकवाद’!

सभा समारोह र ध्वनि प्रदूषण निषेधित चिप्लेढुंगास्थित मानवअधिकार चोकमा आइतबार वाम गठबन्धनको विजय सभा। तस्बिर : कृष्णमणि बराल

पोखरा : समारोहमा कुनै ब्यानर थिएन। ब्यानर टाँग्ने ठाउँमा एउटा साइनबोर्ड थियो। जसमा लेखिएको थियो-ध्वनि प्रदूषण कम गरौं। तर त्यही साइनबोर्डको ठिक मुन्तिर वाम गठबन्धनबाट कास्कीमा विजयी बनेका नेताहरुले चर्का—चर्का स्वरमा भाषण गरे।

ध्वनि प्रदूषण कम गर्ने सूचना यसै पनि पहिल्यैदेखि पोखराको चिप्लेढुंगाको मानवअधिकार चोकमा टाँगिएको थियो। त्यसमाथि ध्वनि प्रदूषण घटाउन भनेरै हालै आएर पोखरालाई महानगरपालिकाले हर्न निषेधित सहर घोषणा गरेको छ।
सिद्धार्थ र चिप्लेढुंगाचोक बीचको मानवअधिकार चोकलाई सभा समारोह र भाषण निषेध पनि गरिएको छ। ३ सय भन्दा ठूला साना व्यवसायीको व्यवसायमा असर गर्नेमात्रै नभई गाडी आउजाउ रोकिएर सहरैभरिकै ट्राफिक व्यवस्थापन प्यारालाइज्ड हुने हुँदा पनि त्यहाँ सभा गर्न स्थानीयले रोकावट गर्दै आएका हुन्।

देशमा समृद्धि हाँसिल गर्ने नारा लिएर चुनाव जितेका वाम गठबन्धनका कास्कीका ८ उम्मेदवारले भने त्यसको कुनै ख्याल नगरी आइतबार मानवअधिकार चोकमा विजय सभा गरे। त्यही सभाका कारण न्युरोड र महेन्द्रपुल क्षेत्रमा चक्काजाम भइदियो। ‘३ मिनेटमा चिप्लेढुंगामा आइपुग्ने ठाउँमा आज सभागृहचोकबाट आउँदा १ घन्टा लाग्यो’, न्युरोडका सुरज पुरीले भने।

अरु बेला सभा समारोह नगर्न महानगर र प्रशासनमा धर्ना दिँदै आएका सिद्धार्थ चोक चिप्लेढुंगा व्यवसायी समितिका अध्यक्ष देवबहादुर भुजेल आइतबार आकस्मिक रुपमा ठूलो र्‍याली र सभा हुँदा फेरि व्यवसायमा असर परेको सुनाए। ‘सधैं भनेका छौं, सडकमा आमसभा नगरौं भनेर तर नेपालमा केही लाग्दो रहेनछ’, उनले अन्नपूर्णसँग भने, ‘कति भन्नु हैरान परियो।’ नाम उल्लेख गर्न नचाहने अर्का एक व्यवसायीले वाम गठबन्धनले जिते अधिनायकवाद आउँछ भन्ने कुरालाई आइतबार सडकमा बलमिच्याइँपूर्वक गरिएको सभा अधिनायकवादको एक रुप भएको बताए। ‘जनतालाई दुख दिने अनि जनतालाई सुख दिन्छौं भन्दै भाषण पनि गर्ने’, उनले भने, ‘हरे कस्तो नसुहाएको !’

आइतबार एमाले र माओवादीका विजयी उम्मेदवारहरुको र्‍यालीका कारण पोखराको सहिदचोकदेखि चिप्लेढुंगासम्म २ घन्टाभन्दा बढी सडक यातायात अस्तव्यस्त भएको थियो। कास्कीबाट प्रतिनिधि सभा सदस्य निर्वाचित रवीन्द्र अधिकारी, जगत विश्वकर्मा र खगराज अधिकारीले आइतबारको विजयी सभालाई सम्बोधन गरेका थिए।

प्रदेश सभासमेत गरी ९ सिट रहेको कास्कीमा कास्की २ (२) मा मात्रै कांग्रेसका बिन्दु थापाले जितेका छन्। बाँकी सबै एमाले माओवादीले जितेका छन्।

यसअघि मंसिर ७ गते राप्रपाले त्यही चोकमा सभा गर्दा सबै व्यवसायीले सटर बन्द गरेर विरोध जनाएका थिए। त्यसअघि विवेकशील साझा पार्टीले उक्त चोकमा सभा गर्न नपाइने थाहा पाएपछि होटलमा सारेको थियो। स्थानीय चुनावका बेला एमाले र कांग्रेसले विरोधका बाबजुद पनि बलमिच्याइँ गर्दै त्यही सभा आयोजना गरेका थिए। ‘आज त आकस्मिक भयो, माफी माग्लान् भनेको त्यो पनि गरेनन्’, व्यवसायी भुजेलले भने, ‘कम्तीमा क्षमा माग्नोस् भनेर एमालेका नेतालाई भन्दा सुनेको नसुन्यै गरे।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.