खुसीसाथ घर गए म्यादी

 खुसीसाथ घर गए म्यादी

प्यूठान : सदरमुकाम खलंगास्थित टुडिखेल शुक्रवार म्यादी प्रहरीले भरियो। सबैजना पोसाकमा सजिएका म्यादीका कारण टुडिखेल निकै आकर्षक देखिन्थ्यो। प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा म्यादी प्रहरी बन्न आवेदन दिएका उनीहरु सुरुका दिनपनि सोही स्थानमा भेला भएका थिए। निर्वाचनका क्रममा उनीहरु ५५ दिनसम्म खटिए।

छुटिने बेला जिल्ला प्रहरी कार्यालय प्यूठानले म्यादी प्रहरीका लागि ‘विदाइ कार्यक्रम' गर्‍यो। जिल्लाका नौवटै स्थानीय तहमा खटिएका म्यादीहरु भेला भए। छुटिँदाको दिन सबैजना आ-आफ्नै धुनमा थिए। धेरैजसोले सम्झनाका लागि भन्दै मोबाइलमा सेल्फी खिचेरहेका थिए। कतिपय म्यादी प्रहरी खुसीले प्रफुल्ल थिए भने केहीले दुःख मानेका थिए। इमान्दारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गर्न पाएकोमा धेरैजसोले खुसीको अनुभव साटासाट गरेका छन्।

जिल्ला प्रहरी कार्यालयले उनीहरुलाई प्रशंसापत्र, माला र अविर लगाएर सम्मान गर्‍यो। प्रहरीले गरेको सम्मानले आफूहरुलाई अझ जिम्मेवारीबोध बनाएको कतिपयको भनाई थियो। एसइइ उत्र्तिण गरेर बसेकी प्यूठान नगरपालिका-४ विजुवार टारीकी दिपा घर्तीमगर खुसी क्षणमा देखिन्थिन्। पढ्दापढ्दै म्यादी प्रहरीको जिम्मेवारी पूरा गर्ने अनुभव मिलेकाले आफूलाई थप हौसला थपिएको उनले बताइन्।

‘अब पढाइलाई निरन्तरता दिने सोँचमा छु',१८ वर्षीय घर्तिमगरले भनिन्,‘सानै उमेरमा राज्यले दिएको जिम्मेवारी पूरा गर्न पाएकोमा खुसी लागेको छ।' बिदाइ कार्यक्रममा झण्डै दुई महिनासम्म सँगै बसेका साथीहरुसँग छुटिँदा कतिपय म्यादीप्रहरी दुखी भएका थिए।

‘विदेश जाने तयारीमा थिए',झिमरुक गाउँपालिका-६ तोरवाङका २० वर्षीय रुद्र केसीले भने,‘म्यादी प्रहरीमा भर्ती भएर केही पैसा कमाइयो। अब विदेशको लागि भिसा लगाउने योजना छ।' पढ्दापढ्दै छाडेका उनी घरखर्च धान्नका लागि विदेश जाने सोँचमा रहेको सुनाए। ‘चुनावमा इमान्दारीपूर्वक जिम्मेवारी पूरा गरियो',उनी भन्छन्,‘चुनाव सकियो अब विदेश जाने त होला।' जितेका नेताहरुबाट केही आशा नभएकाले घर छाड्नुको विकल्प नभएको उनी दुखेसो गर्छन्।

जिल्ला प्रहरी कार्यालय प्यूठानले सबै म्यादी प्रहरीलाई राज्यले नखटाएको बेलापनि गाउँघरमा रहँदा शान्ति सुरक्षा बलियो बनाउन सहयोग गर्न आग्रह गरेको छ। प्रहरी नायव उपरीक्षक राजेन्द्र पोख्रेलका अनुसार जिल्लाभर एक हजार दुई सय ७६ जना म्यादीप्रहरी भर्ना भएका थिए। जसमध्ये नौ सय २७ पुरुष र तीन सय ४९ जना महिला छन्।

‘सबजनाले धेरै राम्रो काम गर्नुभयो',पोख्रेलले भने,‘करिव डेढसय जनालाई उत्कृष्ट काम गर्नेको सूचीमा राखेका छौँ।' निर्वाचनको बेला जिल्लाको सुरक्षा व्यवस्था मजवुत बनाउन म्यादी प्रहरीको भूमिका प्रशंसनीय पाइएको उनी बताउछन्। प्रहरी जवान सरह उनीहरुले सेवासुविधा पाएका छन्। लत्तकपडा, राशन र यातायात गरी प्रतिव्यक्ति बरावर ५२ हजार पाँच सय ५३ रुपैयाँका दरले बुझेको पोख्रेलले जानकारी गराए।

पढ्दै गरेका, परीक्षा दिएर बसेका विद्यार्थी, पूर्व प्रहरी, नेपाली सेना, किसान, व्यापारी लगायत व्यक्तिहरु म्यादीमा भर्ना भएका छन्। आर्थिक अवस्था कमजोर भएका कतिपयलाई सहज भएको प्रतिक्रिया दिएका थिए। नेपाल प्रहरीमा भर्ना हुने सोँच बनाएर बसेकाहरुलाई म्यादी प्रहरीको अनुभवले थप मद्दत पुर्‍याएको छ।

‘१२ कक्षाको पुरक परीक्षा दिएर म्यादीमा भर्ना भए',झिमरुक गाउँपालिका-४ बांगेमरोठका विष्णु आरसीले भने,‘रिजल्ट पनि आयो। पास भइएछ। अब व्याचलर पढ्ने हो।' पढ्नका लागि आर्थिक रुपमा आफूलाई थोरै भएपनि सहज भएको उनले जानकारी गराए। देशभरमै म्यादी प्रहरीको जिम्मेवारी सकिएपछि सम्मानका साथ बिदाई गरिएको जिल्ला प्रहरी कार्यालयले गरेको जनाएको छ। निर्वाचनका बेला फाट्टफुटट् बाहेक अप्रिय घटना नभएको प्रहरीले बताएको छ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.